आर्यघाट पुग्दासम्म पद नछाड्ने नेताहरूको कार्यशैलीले जनतामा निराशा : प्रकाशमान सिंह
बुधबार काठमाडौंको कोटेश्वरमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तनमा जोड दिए ।
अरू क्षेत्रमा जस्तै निश्चित समयपछि अवकास राजनीतिमा पनि हुनुपर्नेमा त्यसो नभएको भन्दै आर्यघाट पुग्दासम्म पद नछाड्ने नेताहरूको कार्यशैलीले जनतामा निराशा छाएको बताए ।
बहुदल आएपछि सबै पार्टीभित्र निश्चित नेताहरूले कब्जा जमाएकाले परिवर्तनको आभास हुन नसकेको भन्दै उनले कांग्रेसमा अब पार्टी सभापति, वरिष्ठ नेतालगायतलाई अवकास दिएर अर्को पुस्तालाई नेतृत्व दिनुपर्ने धारणा राखे ।
‘नेपाली कांग्रेस सधैँ जनताका लागि काम गर्दै आइरहेको छ । तर, वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधिहरू गरिरहेका छन् । यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ’, नेता सिंहले भने, ‘पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाई राख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
अघिल्लो निर्वाचनले पनि पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ । उनले आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपर्नसमेत कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व आवश्यक रहेकामा उनले जोड दिए ।
पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तवरले गर्ने प्रयास गरेको भन्दै उनले आफूहरूले त्यसो हुन नदिने बताए । पदमा जानको लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले पार्टीलाई अप्ठ्यारो पारेको उनको गुनासो छ । लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै नेता सिंहले पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी भएको बताए ।







डिसी नेपाल








Facebook Comment