एमालेको विधान महाधिवेशन आजबाट, सम्पूर्ण तयारी पूरा

डिसी नेपाल
१५ असोज २०७८ ७:२६
92
Shares

काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा दिउँसो साढे १२ बजेबाट सुरु हुने भएको छ।

महाधिवेशनका मूल आयोजक कमिटीका अनुसार ओलीले उद्घाटन गरेपछि सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। यस्तै, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप-महासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्।

मूल आयोजक कमिटीका संयोजक रामबहादुर थापा बादलका अनुसार महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूहगत छलफलको कार्यसूची रहेको छ। समूहगत छलफलपछि समूह नेताबाट सुझावहरू प्रस्तुत गर्ने असोज १७ गते दस्तावेज प्रस्तोताहरूको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गर्ने तय भएको छ।

महाधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक खिमलाल भट्टराईले अधिकांश प्रतिनिधि आइसकेको जानकारी दिए। ‘अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन्’, उनले भने, ‘शुक्रबार बिहानसम्म सबै प्रतिनिधि आइसक्नेछन्।’

यस्तै, प्रतिनिधिलाई उपलब्ध गराउने झोला हिजाेदेखि वितरण गर्न थालिएको उनले जानकारी दिए। उनका अनुसार पार्टी कार्यालयमा नाम दर्ता गराएका प्रतिनिधिलाई हिजैदेखि दस्तावेज वितरण पनि गरिएको छ।

झोलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन रहेका छन्। यस्तै, झोलामा एमालेको मुखपत्र ‘नवयुग’सहित कापी र कलम पनि रहेका छन्। प्रतिनिधिका लागि यस पटक आवासको व्यवस्था सम्बन्धित प्रदेश कमिटीले गरेको छ।

प्रदेश कमिटीले सहभागी हुन आउने प्रतिनिधिलाई सुन्धारा, बागबजार, ललितपुरलगायत विभिन्न स्थानका होटेलमा बासको व्यवस्थापन गरेको छ। विधान महाधिवेशनमा प्रतिनिधिलाई खाना, खाजा, आवासदेखि गाडीसम्म व्यवस्था गरिएको छ।

बिहीबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो। मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा ‘बादल’द्वारा जारी विज्ञप्तिमा महाधिवेशनका लागि ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ।

प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, सवारी चालकलाई महाधिवेशन हलमै खानाको व्यवस्था गरिएको छ। प्रतिनिधिलाई आवासको व्यवस्थापन गरिएको छ। निजी सवारी नहुने प्रतिनिधिलाई झण्डासहित बसहरुको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

महाधिवेशनलाई व्यवस्थित बनाउन युवा संघ, अनेरास्ववियूलगायत २ सयको संख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ। विधि र नीतिसँग सम्बन्धित रहेर महाधिवेशन केन्द्रीत रहेको संयोजक थापाले बताए । उनका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुतदेखि पार्टीको आगामी आन्दोलन कार्यभार र नेतृत्व निर्माणको विषय, विचारधाराको बहस हुने छ। महाधिवेशन शुक्रबारदेखि ३ दिनसम्म गोदावरीमा चल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.