प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाउँदा मेटमणि आउट!
काठमाडौं। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै तीन महिनापछि शुक्रबार (आज) मन्त्रिपरिषद विस्तार गर्दैछन्। त्यसका लागि गठबन्धन दलहरुले प्रधानमन्त्री देउवालाई मन्त्रीको सूची बुझाएका छन्।
वर्तमान सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एकीकृत समाजवादीले शुक्रबार विहान सरकारमा पठाउने मन्त्रीको नामलाई अन्तिम रुपमा लिएको छ। चारवटा मन्त्रालय पाएको नेकपा एस विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ। खतिवडासँगै रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठ मन्त्री बन्दैछन्। नेकपा एसले एक राज्यमन्त्री पनि पाएको छ।
यसअघि नेकपा एसको तर्फबाट मन्त्री बन्नेको सूचीमा नेता मेटमणि चौधरीको नाम पनि समावेश थियो। तर नेकपा एसले पाउने मन्त्रालय कटौती भएपछि मन्त्रीको लिस्टबाट चौधरीको नाम हटेको छ।
यसअघि केपी ओली सरकारमा वन मन्त्री रहेका प्रेम आले र ओली निकट मानिने किसान श्रेष्ठले पार्टी विभाजनमा माधव नेपाललाई साथ लिएपछि उनीहरुलाई मन्त्री बनाइएको छ।
उनीहरुलाई मन्त्री नबनाए फेरि विद्रोह गर्न सक्ने भएका कारण उनीहरु दुवै जनालाई मन्त्री बनाइएको एक नेताले बताए। उनीहरु दुवै जनालाई मन्त्री बनाउन अध्यक्ष नेपालमाथि दबाव परेपछि अन्तिम अवस्थामा चौधरीको नाम मन्त्रीको सूचीबाट हटाइएको हो।
‘पार्टीभित्र विभिन्न विषय मिलाउनु पर्ने भएकाले मन्त्रीको लिस्टबाट मेरो नाम हटाइएको हुन सक्छ,’ चौधरीले डिसी नेपालसँग भने, ‘मैले मन्त्री बन्नकै लागि राजनीति गरेको होइन। तर सरकारमा सहभागी हुने मन्त्रीले कत्तिको राम्रो पर्फमेन्स गर्न सक्छन्, भन्ने विषयलाई मन्त्री चयन गर्दा विचार पुर्याएको भए राम्रो हुन्थ्यो।’
उनले मन्त्री नबनाएकोप्रति आफूलाई कुनै गुनासो भएको बताए। ‘मुख्य विषय यो गठबन्धन नभत्कियोस र पार्टीभित्र विवाद पनि नहोस् भन्नेतर्फ हामी सचेत हुनुपर्छ,’ चौधरीले भने, ‘जस्तो सुकै परिस्थिति सहेर भएपनि वर्तमान सरकार गठबन्धनलाई टिकाउन हामी प्रतिवद्ध हुनुको विकल्प छैन।’







डिसी नेपाल








Facebook Comment