कांग्रेस बैठक: बाढीपीडितको राहत र उद्धारमा केन्द्रित हुन र अधिवेशन मिति पुनरावलोकन गर्न आग्रह

डिसी नेपाल
२१ भदौ २०८३ २०:१८

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि सोमबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ।

पार्टी प्रवक्ता देवराज चालिसीका अनुसार आज बसेको बैठक मुख्य रूपमा भोटेकोशी बाढीपहिरोले पुर्‍याएको क्षति र त्यसपछिको स्थितिमा केन्द्रित रहेको थियो।

बैठकले बाढीप्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिने, पार्टीका तर्फबाट सहयोग जारी राख्ने र भातृ एवम् शुभेच्छुक संस्थाहरूलाई थप परिचालन गर्ने निर्णय गरेको छ। यसैगरी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लाग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपालका तर्फबाट उठाउनुपर्ने मुख्य विषयवस्तुबारे सुझाव दिने निर्णयसमेत बैठकले गरेको छ।

भोटेकोशी बाढीका कारण धेरै स्थानमा जनजीवन प्रभावित भएकाले आगामी भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशनको मितिमा पुनर्विचार गर्न समितिले अनुरोध गरेको छ।

साथै, पार्टी अनुशासन उल्लङ्घन गरेका, परित्याग गरेका र निधन भएका बाहेक १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरेर पनि अद्यावधिक नगरेका सबै सदस्यहरूलाई आगामी महाधिवेशनमा सहभागी हुन दिने निर्णय कांग्रेसले गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *