जसपामा उपेन्द्र र बाबुरामबीच टकराव!
काठमाडौं। सरकारमा सहभागी हुने मन्त्री चयनयको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) मा विवाद उत्पन्न भएको छ। मन्त्री चयन प्रक्रियामा आफ्नो सुझाव अध्यक्ष उपेन्द्र यादवले नमानेको भन्दै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई शुक्रबार विहानै गृह जिल्ला गोरखा प्रस्थान गरे।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिहेका बेला जसपाभित्र मन्त्री चयन गर्ने विषयले विवादको रुप लिएको छ। जसपा स्रोतका अनुसार डा.भट्टराईले समावेशी आधारमा सरकारमा सहभागी हुने मन्त्री चयन गर्नुपर्ने प्रस्ताव गरेका थिए। जसलाई अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेपछि ‘तपाईंलाई लागेको गर्नुस्’ भन्दै डा.भट्टराई विहानै गोरखा गएका हुन्।
‘अहिले हामी जसपालाई राष्ट्रिय पार्टी बनाउने अभियानमा छौं, त्यसमा लागि अशोक राईको पार्टी र बाबुराम भट्टराईको पार्टीसँग एकता गरेका हौं,’ एक नेताले भने, ‘तर अध्यक्ष उपेन्द्रजी दुई नम्बरबाट मात्रै मन्त्री बनाउनुपर्छ भन्ने लाइनमा गएपछि त्यसप्रति बाबुरामजीको असन्तुष्टि हो।’
जसपाले सरकारमा पठाउने मन्त्री चयन गर्ने जिम्मा शीर्ष नेता उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई दिएको थियो। राई केही दिनदेखि राजधानी बाहिर छन् भने आफ्नो सुझाव कार्यान्वयन नहुने देखेपछि भट्टराई पनि राजधानी बाहिर गएका छन्। अब सरकारमा सहभागी हुने चयन गर्ने एकल जिम्मा यादवले पाएका छन्।
स्रोतका अनुसार यादवले राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई मन्त्री बनाउने तयारी छ। स्रोतका अनुसार अहिले अध्यक्ष यादवले दुई नम्बर प्रदेशलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने र उनीहरुलाई ६ महिनापछि फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी गरेपछि यादव र भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको हो।
यसैबीच जसपाभित्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पनि मन्त्रीको कोटा छुट्ट्याएकोप्रति विरोध भएको छ। ‘हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई नै खतरा पर्ने गरी न्यायालयलाई कोटा छुट्ट्याउने विषयले कसैलाई पनि राम्रो गर्दैन,’ एक नेताले भने, ‘सो विषयमा पनि पार्टीभित्र गम्भीर असहमति छ।’
प्रधानन्यायाधीशलाई खुशी पार्न अहिले कोटा छुट्ट्याउँदा त्यसले भविष्यमा नराम्रो नजिर स्थापित हुने भन्दै उक्त कदमको पार्टीभित्र विरोध भएको ती नेताको भनाइ छ।







डिसी नेपाल







Facebook Comment