लघुकथा: जीवन यात्रा

प्रकाशचन्द्र खतिवडा
९ साउन २०८३ ८:०२

“आरोही, जिन्दगी कसरी चल्दै छ?” माण्डवीले जिज्ञासा राखी।

“असामान्य! सोचेजस्तो कहाँ हुँदो रहेछ र जिन्दगी? जे भोग्दै छु, अरूले भोग्न नपरोस्। मलाई त जिन्दगीले लखेटिरहेको छ माण्डवी!” आरोहीले निराशा व्यक्त गरी।

आरोही र माण्डवी मन मिल्ने साथी हुन्। पढाइका सिलसिलामा उनीहरूको भेट भोजपुर क्याम्पसमा भएको थियो। स्नातक तह अध्ययनरत आरोही र माण्डवी विद्यार्थी राजनीतिमा चासो राख्थे। उनीहरू प्रगतिशील विचारधारामा आस्था राख्थे। नारीहरू मुक्त नभएसम्म समाज रूपान्तरण हुन सक्दैन भन्ने उनीहरूको मत थियो।

घरायसी आर्थिक अवस्था कमजोर भएका कारण उनीहरू समय मिलाएर ट्युसन पढाउँथे र कलेजको शुल्क तिर्थे। पोखरे लाइनमा डेरा गरी बस्ने उनीहरू चारभञ्ज्याङ ट्युसन पढाउन जान्थे।

आरोही नेपालेडाँडा र माण्डवी चरम्बीबाट अध्ययनका लागि सदरमुकाम आएका थिए। वक्तृत्वकलाका प्रखर वक्ता भएका कारण उनीहरू क्याम्पस र भोजपुर बजारमा चिरपरिचित थिए।

स्ववियु निर्वाचनमा उम्मेदवार बन्न अनेरास्ववियुले उनीहरूलाई प्रस्ताव गर्‍यो। आरोही उपाध्यक्ष र माण्डवी सहसचिव पदको उम्मेदवार बने। निर्वाचन सम्पन्न भयो र उनीहरू विजयी पनि भए।

पढाइसँगसँगै राजनीति पनि गर्नु उनीहरूको दैनिकी बन्यो। थप जिम्मेवारी उत्साहका साथ बहन गर्दै उनीहरूले स्नातक तह उत्तीर्ण गरे। स्नातकोत्तर (मास्टर्स) गर्न घरायसी आर्थिक अवस्था बाधक बनेकाले उनीहरूले लोकसेवा आयोगको परीक्षा दिने निर्णय गरी आ-आफ्नो घर फर्किए।

लोकसेवाको तयारीकै क्रममा आरोहीको विवाहको कुरा चल्यो। आरोहीले विवाह गर्न इन्कार गरी। तर पारिवारिक दबाब झेल्न नसकेपछि उनी घर छोडेर धनकुटा जाने निर्णयमा पुगी। धनकुटा उसको नयाँ संघर्षको केन्द्र बन्यो।

संघर्षले उसलाई सफलताको किनारसम्म पुर्‍याउला वा नपुर्‍याउला, त्यो त समयले नै बताउला, तर आरोहीको अगाडिको जीवन यात्रा त्रासदीपूर्ण नहोला भन्न सकिने कुनै आधार थिएन।

 सुन्दरहरैँचा-०६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *