नियात्रा

शेर्पासँग गफिँदै-गफिँदै 

ज्ञानेन्द्र विवश
२८ भदौ २०८३ ११:५९

खुन्देबाट फर्किँदै गर्दा मेरो आँखा फेरि एकपटक अस्पतालको भवनतिर सोझिन्छ। हिमालको यति दुर्गम बस्तीमा आधुनिक उपचारको यो आधार खडा हुनु आफैँमा एउटा अलग्गै र लोभलाग्दो कथा रहेछ।

स्थानीय शेर्पा समुदायको विशेष आग्रहमा सर एडमन्ड हिलारीले सन् १९६६ मा खुन्दे अस्पतालको निर्माण गराएका रहेछन्। सुरुआती दिनहरूमा यस अस्पतालले दुर्गम खुम्बु क्षेत्रका करिब तीन हजार मानिसलाई आधारभूत स्वास्थ्य सेवा र औषधि उपलब्ध गराउने मुख्य उद्देश्य बोकेको थियो।

त्यसअघि यस भेगमा आधुनिक स्वास्थ्य सेवा अत्यन्तै सीमित थियो। स्थानीय मानिसहरू परम्परागत जडीबुटीजन्य उपचार तथा बाहिरबाट आउने पर्वतारोही एवम् यात्रु-अभियानका टोलीले ल्याउने औषधिमा नै निर्भर रहनुपर्थ्याे।

आज त्यही अस्पतालबाट स्वास्थ्य सेवाको दायरा फराकिलो भई फोर्त्से र थामेसम्म गाउँस्तरीय स्वास्थ्य सेवा विस्तार भइसकेको रहेछ। हिमालको फेदमा शान्त उभिएको यो सानो अस्पताल खुम्बु क्षेत्रमा आएको सामाजिक परिवर्तनको एउटा मौन तर सशक्त इतिहास हो।

यी तमाम रोचक कुराहरू मैले खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं. ४ का अध्यक्ष लक्ष्मण अधिकारीबाट जानकारी पाउँछु। उनलाई खुम्जुङ पुग्दा भेट्न सकिएको थिएन, तर पछि टेलिफोन सम्पर्क गर्दा धेरै नवीन कुराहरू थाहा पाउने अवसर मिल्यो।

शतप्रतिशत शेर्पा जातिको बाहुल्य रहेको यो हिमाली ठाउँमा ‘अधिकारी’ थर कसरी आयो भन्ने कौतूहल मेरो मनमा नजागेको होइन। तर पछि बुझ्दै जाँदा थाहा हुन्छ- उनको थर मात्र अधिकारी रहेछ, तर उनी संस्कार र जातीय रूपमा पूरै शेर्पा नै रहेछन्।

खुन्देको एकसरो यात्रा र अवलोकन सकेर हामी नाम्चेतर्फ मोडिन्छौँ। बाटोका दुवैतिर फुलेका लालीगुराँस र चिमालका घना झ्याङहरूले फेरि हामीलाई न्यानो स्वागत गरिरहेका छन्।

हिमालको काखमा राता, सेता र गुलाफी रङका गुराँसहरू मुस्कुराइरहेको प्राकृतिक दृश्य साँच्चै नै नयनपेय र लोभलाग्दो देखिन्छ। मेरो साथमा पदयात्रा गाइड भाइ यार्बु शेर्पा छन्।

उनी बाटो, उकाली-ओराली र हिमाल त राम्ररी चिन्छन्, तर स्थानीय वनस्पति र तिनका गहिरा औषधीय प्रयोगबारे भने केही अन्योलमा छन्। फुर्वा दाइबाट अघि पाएको जानकारीले मलाई मात्र होइन, गाइड यार्बु भाइलाई पनि नयाँ ज्ञान र चेतना दिएको छ।

बाटोमा कुराकानी गर्ने कोही भेटिएलान् कि भन्ने आशामा यार्बु भाइ र म विविध विषयमा संवाद गर्दै ओरालो-उकालो काटिरहेका छौं। ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’ भनेको यही रहेछ भन्दै म पाखापखेरामा बेवारिसेजस्तै उम्रिएका वनस्पतिहरूबारे जिज्ञासा राख्छु। उनी पनि ‘हो नि दाजु, मलाई पनि यत्तिका कुरा थाहा रहेनछ’ भन्दै मज्जाले हाँस्छन्।

नभन्दै बाटोमै अर्का एक स्थानीय शेर्पा दाजुसँग जम्काभेट हुन्छ। ‘खोजेपछि भेटिन्छ, हिँडेपछि पुगिन्छ’ भन्ने नेपाली उखान ठ्याक्कै यहाँ मिल्न आउँछ।

उनी पनि नाम्चेसम्मै जान लागेको थाहा पाएपछि मेरो मनमा हर्षको सीमा रहँदैन। बाटो पनि कट्ने र हिँडेको पत्तै नहुने भएपछि म उनको लामो जीवन अनुभव र ज्ञानको भण्डार खोतल्ने लोभ सम्हाल्न सक्दिनँ।

उनैले कुराको सुरुआत गर्दै भन्छन्- ‘भान्जाहरूलाई मैले खुन्देमै हिँड्दै गरेको देखेको थिएँ।’

पहिलो चिनारीमै हामीलाई ‘भान्जा’ भनेर आत्मीय सम्बोधन गर्दा हामी दुवै जना एकापसमा मुख हेराहेर गर्छौँ। उनले हाम्रो कौतूहल र आश्चर्य बुझेर हाँस्दै आफ्नो विस्तृत परिचय दिन्छन्- ‘भान्जा भन्ने मेरो थेगो हो है, बाबु हो! मेरो नाउँ चाहिँ आङ सोनाम शेर्पा।

उमेर चौसट्ठी वर्ष पुग्यो। परिवारमा श्रीमती ल्हामु, छोरी डोल्मा र छोरा पेम्बा गरी चार जना छौँ। मूल घर सल्लेरी हो। कामको सिलसिलामा नाम्चे, खुन्दे, खुम्जुङ त आइरहन्छु। उमेरमा भारी पनि बोकियो, गाइडको काम पनि गरियो, अनि होटल पनि चलाइयो। जिन्दगीमा के-के मात्रै गरिएन र!’

म कुराकानीको सिलसिलालाई अगाडि बढाउँदै भन्छु- ‘ओहो, हजुर त कति अनुभवी सोनाम दाजु! आज भेट भएर नाम्चेसम्म हिँड्दा धेरै कुरा जान्न र सुन्न पाइने भयो।’

‘हो, मलाई यता धेरैले सोनाम नामले नै चिन्छन्’ भन्दै उनी गलल्ल हाँस्छन्। उनी हाँस्दा उनका भित्री थोते दाँतसम्म स्पष्ट देखिन्छन्। तर त्यो हाँसोमा कुनै कृत्रिमता वा चिसोपन थिएन, बरु एउटा अगाध र मिठो आत्मीयता मिसिएको थियो।

बाटोछेउमा रहेका गुराँसका घना झ्याङतिर हात देखाउँदै म सोध्छु- ‘दाजु, यो गुराँस हेर्नका लागि मात्र राम्रो हो कि यसको फूल, पात र जराको पनि केही विशेष औषधीय गुण हुन्छ?’

सोनाम दाजुले टाउकोको टोपी मिलाउँदै भन्न थाल्छन्- ‘गुराँसलाई त्यत्तिकै हाम्रो राष्ट्रिय फूल बनाइएको होइन नि, भान्जा! यसको फूलको जुस बनाएर खाँदा स्वास्थ्यमा निकै फाइदा गर्छ। घाँटीमा माछाको काँडा अड्किएमा गुराँसको फूल चपाउँदा निको हुन्छ भन्छन्।

यसको पात पिसेर चोटपटक लागेको ठाउँमा लगाउने पुरानो चलन छ अनि यसको जराले पहिरो जानबाट जोगाउँछ। त्यसैले गुराँस त हाम्रो पहाडको सच्चा रक्षक पनि हो।’

अलि तल्लो भेगमा पाइने जडीबुटीहरूको सम्झना गर्दै म फेरि जिज्ञासा राख्छु- ‘अनि दाजु, यो उचाइमा चिराइतो, घोडताप्रे, पाखनवेद, अलैँची र बोझोजस्ता वनस्पति चाहिँ हुँदैनन् र?’

उनी बिस्तारै र ध्यानपूर्वक उत्तर दिन्छन्- ‘भान्जा, यीमध्ये धेरैजसो वनस्पति अलि तल्लो हावापानीका सम्पत्ति हुन्। पाखनवेद अलि तल ढुङ्गाको कापमा उम्रिन्छ, जसले मिर्गौलाको पत्थरी गलाउन ठूलो सहयोग गर्छ भन्ने जनविश्वास छ।

घोडताप्रे ओसिलो ठाउँमा पलाउँछ र बोझो घाँटी दुख्दा वा पेट गडबड हुँदा रामबाण औषधि मानिन्छ। अलैँची र बोझोलाई अलि न्यानो हावापानी चाहिन्छ। तर अचम्म के छ भने, तल पाइने चिराइतोको तीतोपन र माथि पाइने तीतेपातीको तीतोपन दुवैमा हिमालको शुद्धता मिसिएको हुन्छ। नत्र हाम्रा यी पाखाहरू त जिउँदा जाग्दा अस्पताल नै हुन्।’

सोनाम दाजुका कुरा सुन्दा म बारम्बार महसुस गर्छु- हिमालका हरेक फूलका पत्र, जरा र पातभित्र छुट्टै कथा लुकेको छ; र यो कथा केवल अनुभवी तथा गुणी मानिसहरूले मात्र पढ्न सक्छन्।

सोनाम दाजुको कुरा सुन्दै गर्दा मलाई लाग्छ- खुम्बुका पुराना गाउँमा वन, खेत र चरन क्षेत्रको उपयोगका आफ्नै मौलिक सामुदायिक नियमहरू पनि रहेछन्। ‘नावा’ भनिने परम्परागत स्थानीय व्यवस्थाअन्तर्गत गाउँलेहरूले सामूहिक अनुशासनको कडा पालना गर्दा रहेछन्।

‘सिङ्गी नावा’ वनको संरक्षण र हेरचाहसँग तथा ‘लोतोक नावा’ खेतीपाती एवम् चरन व्यवस्थापनसँग जोडिएका रहेछन्। सन् १९६० को दशकको अन्त्यसम्म खुम्बुका धेरै शेर्पा गाउँमा यस्तो मौलिक व्यवस्था निरन्तर चलेको पाइन्छ।

अर्कोतिर, हिजोका दिनमा गाउँको बारी र घरधन्दामा मात्र सीमित रहने महिलाहरू आज पर्यटक आकर्षित गर्ने नयाँ बाटोहरू खोजिरहेका छन्।

खुन्देका महिलाहरूले आफ्नै स्वतःस्फूर्त पहलमा हेलिप्याड र भ्यु टावर निर्माण गर्नेसम्मका उदाहरणीय काम गरेका छन्। सकारात्मक परिवर्तन कहिलेकाहीँ गाउँका महिलाहरूकै हातबाट जन्मिँदो रहेछ।

सोनाम दाजु र यार्बु भाइलाई हेर्दै गर्दा मलाई एउटै गाउँका दुई फरक समय आमनेसामने उभिएजस्तो आभास हुन्छ। एउटाको हातमा पुर्खाको लामो अनुभव छ भने अर्काको हातमा नयाँ संसारसँग जोडिने आधुनिक अवसर छ। सायद यही नै खुम्बुको नयाँ जीवन हो- पुरानो सांस्कृतिक जरा नछोडी नयाँ आकाशतिर पखेटा फिँजाउन खोजिरहेको जीवन्त जीवन।

म फेरि उत्सुक हुँदै सोध्छु- ‘दाजु, शेर्पा जातिको विवाह, मृत्यु संस्कार र प्रमुख चाडपर्वबारे पनि केही बताइदिनुस् न।’

सोनाम दाजु आफ्नो हातमा रहेको लौरोमा अडेस लगाउँदै भन्छन्- ‘भान्जा, हाम्रो संस्कार जति सरल छ, त्यति नै गहिरो र अर्थपूर्ण पनि छ। विवाहमा सोधीखोजी गरेर केटा पक्षले कुराकानी अघि बढाउने परम्परागत चलन छ। यो केवल दुई व्यक्ति मात्र नभई दुई परिवार र सिंगो समुदायबीचको आत्मीय सम्बन्ध स्थापित गर्ने माध्यम हो।’

बाटोछेउका पुराना ढुङ्गेघरहरूतिर हेर्दै म सोचमग्न हुन्छु- यी हिमाली घरहरूको केन्द्रमा आगो बाल्ने ठाउँ (अँगेनो) परम्परागत रूपमै हुन्छ। कठोर र ठन्डा हिमाली रातहरूमा एउटै आगोको राप वरिपरि बसेर कथा, खबर र जीवनका अनुभवहरू साट्नु यहाँको सामाजिक जीवनको पुरानो अभ्यास रहेछ।

मृत्यु संस्कारबारे सोनाम दाजु भन्छन्- ‘कसैको मृत्यु भएपछि लामा गुरुलाई बोलाएर विधिपूर्वक पूजापाठ गराउँछौँ। व्यक्तिको परम्पराअनुसार दाहसंस्कार गरिन्छ। तर सबैभन्दा महत्त्वपूर्ण काम भनेको मृतकको निधन भएको उन्नन्चास दिनसम्म चल्ने ‘घेवा’ हो। यसले मृतकको आत्मालाई चीर शान्ति दिन्छ भन्ने धार्मिक विश्वास छ।’

टाढा नाम्चे बजारका बत्तीहरू झिलिमिली देखिन थालेपछि उनी सांस्कृतिक चाडपर्वतिर प्रसङ्ग मोड्छन्- ‘हाम्रो मुख्य चाड ल्होसार हो। ग्याल्पो ल्होसारका अवसरमा हामी गुम्बा जान्छौँ, विशेष व्यञ्जन ‘गुथुक’ खान्छौँ र आपसमा रमाउँछौँ। अर्को ठूलो र प्रसिद्ध उत्सव ‘मणि रिम्डु’ हो, जहाँ लामा गुरुहरूले छाम (पवित्र मुखौटा नृत्य) प्रदर्शन गर्छन्। यिनै चाडपर्वहरूले हामीलाई जीवनका दुःख-कष्ट बिर्सन र फेरि नयाँ उमङ्गका साथ हाँस्न सिकाउँछन्।’

हिँड्दै जाने क्रममा सोनाम दाजुले यार्बुतिर पुलुक्क हेर्दै सोध्छन्- ‘ए भान्जा, तिमी पनि शेर्पाकै छोरो हौ कि क्या हो? घर कता हो तिम्रो?’

यार्बुले निकै शालीन ढंगले उत्तर दिन्छन्- ‘हो दाजु, म पनि सोलुकै शेर्पा हुँ। अचेल यही पदयात्रामा आएका विदेशी तथा स्वदेशी पर्यटकलाई बाटो डोर्‍याउने गाइडको काम गर्छु।’

सोनाम दाजु एउटा लामो र गहिरो सास फेर्दै भन्छन्- ‘हाम्रो पालामा त सर एडमन्ड हिलारीले बनाइदिएको खुम्जुङको स्कुलमा यसो कखरासम्म चिन्न पाइयो। जसले गर्दा आफ्नो नाम कोर्न, चिट्ठीपत्र पढ्न र तमसुक बनाउन भने सक्छु। हेर भाइ, गाइड हुनु भनेको खाली बाटो देखाउनु मात्र होइन, भूगोलको कथा सुनाउनु पनि हो। जब तिमीले विदेशी पाहुनालाई हाम्रा हिमालहरू देखाउँछौ, तब ती सेता टाकुरा मात्र होइन, हाम्रो शेर्पा संस्कृति, गुम्बाका शान्त स्वर, मानेढुङ्गा, टाँगिएका लुङ्दर र हाम्रा जडीबुटीको गहिरो अर्थ पनि बुझाइदिनू। उनीहरूलाई थाहा होस्- यी लेकका झारपात हाम्रा पुर्खाले जोगाएर राखेका अमूल्य उपहार हुन्।’

टाउको सकारात्मक रूपमा हल्लाउँदै यार्बु भन्छन्- ‘हुन्छ दाजु, अबदेखि यी जडीबुटी र हाम्रो मौलिक शेर्पा संस्कृतिका कुराहरू पनि पाहुनाहरूलाई अवश्य सुनाउँछु।’

आङ सोनाम दाजुका यी दिव्य शब्दहरू मेरो मनको कुनामा गहिरिएर बसिरहन्छन्। यसरी यो पदयात्राले मलाई उच्च हिमाली भेगको जैविक विविधता, जडीबुटी र शेर्पा संस्कृतिलाई नजिकबाट नियाल्ने र बुझ्ने दुर्लभ अवसर दिएको छ। हिँड्दै जाँदा स्पष्ट हुन्छ- यो यात्रा केवल भौगोलिक उकालो-ओरालोको मात्र होइन रहेछ, यसभित्र त जीवन, जगत् र प्रकृतिको जीवन्त सासमाधुरी पनि लुकेको रहेछ।

(नियात्राकारको प्रकाशोन्मुख नियात्रा सङ्ग्रह ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ बाट साभार)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *