रुकुम पश्चिमको सानीभेरीमा जिप दुर्घटना: दुईको मृत्यु, चार गम्भीरसहित नौ घाइते

डिसी नेपाल
२८ भदौ २०८३ ११:५६

रुकुम पश्चिम।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप देउता खोलामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी जिप चालक र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरूको सनाखत हुन बाँकी छ।

कूल ११ जना सवार उक्त जिप दुर्घटनामा परेर चार जना गम्भीर घाइते भएका छन् भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनालगत्तै स्थानीय प्रहरी टोली उद्धारमा खटिएको छ भने प्रहरी नायब उपरीक्षक पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।

गम्भीर घाइतेहरूको शीघ्र उपचारका लागि सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले गाउँपालिकाकै खर्चमा उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर माग गरिएको जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *