इजरायलमा चुनावपछि राजनीतिक तरंग: नेतान्याहुद्वारा अरब पार्टीहरूमाथि वैदेशिक हस्तक्षेपको आरोप
काठमाडाैं। इजरायली प्रतिपक्षी दलका नेता गाडी आइसेनकोट र अरब नेतृत्वका पार्टीका नेताहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भत्सर्ना गरेका छन्। गठबन्धनले बहुमत गुमाएको चुनावपछि नेतान्याहुले वैदेशिक हस्तक्षेपको आरोप लगाएपछि उनीहरूले यो कदम चालेका हुन्।
नेतान्याहुको लिकुड पार्टीले इजरायलका अरब नेतृत्वका पार्टीहरूलाई चुनाव “चोरी गरेको” आरोप लगाएको थियो। आन्तरिक सुरक्षा एजेन्सी ‘सिन बेट’ ले उनीहरूले कतार र टर्कीबाट गैरकानुनी आर्थिक सहयोग पाएका हुन् कि भन्नेबारे अनुसन्धान गरिरहेको छ।
कतारको परराष्ट्र मन्त्रालयले यी आरोपहरूलाई “हास्यास्पद र खतरनाक” भन्दै खण्डन गरेको छ र इजरायली राजनीतिज्ञहरूमाथि दोहाविरुद्ध दुष्प्रचार अभियान चलाएको आरोप लगाएको छ।
अन्तिम नतिजा अनुसार १२० सिट रहेको नेसेट (इजरायली संसद) मा नेतान्याहुको गठबन्धन वा यहुदी प्रतिपक्षी दल कसैले पनि बहुमत ल्याउन सकेका छैनन्।
दुई अरब पार्टीका सूचीहरू – द जोइन्ट लिस्ट र रा’म ले अनुमानभन्दा विपरीत प्रदर्शन गर्दै अरब मतदाताहरूको उल्लेखनीय उपस्थिति पछि रेकर्ड १९ सिट जितेका छन्।
यसले उनीहरूलाई सरकार बनाउन मुख्य भूमिका खेल्न सक्ने स्थितिमा पुर्याएको छ, जहाँ नेतान्याहुको गठबन्धनले ५३ सिट र उनका प्रतिद्वन्द्वी गाडी आइसेनकोटको गठबन्धनले ४८ सिट जितेका छन्।
बिहीबार, केन्द्रीय निर्वाचन आयोग का प्रमुखले वैदेशिक हस्तक्षेपको “गम्भीर आशङ्का” बारे अनुसन्धान गर्न सिन बेट सुरक्षा सेवालाई आग्रह गरेपछि, लिकुड पार्टीले अरब पार्टीहरूलाई भोट हाल्न मतदाताहरूलाई “घूस दिइएको” आरोप लगाएको थियो।
दुवै अरब पार्टीहरूले यो दाबीको कडा शब्दमा खण्डन गरेका छन्। अरब-बहुमत रहेको ‘जोइन्ट लिस्ट’ गठबन्धनले यो आरोप निराधार भएको बताएको छ।
नेतान्याहुका आलोचकहरूका अनुसार यो विवाद अरब पार्टीहरूलाई गैरकानुनी ठहर गर्ने प्रयास हो, जसले गर्दा आइसेनकोटका लागि उनीहरूसँग हात मिलाउन राजनीतिक रूपमा असम्भव होस्- जुन अहिले उनको गठबन्धनका लागि सत्तामा पुग्ने एकमात्र बाटो हो।
इजरायली सञ्चारमाध्यमका अनुसार, अरब समुदायहरूमा मतदाताको उपस्थिति बढाउने उद्देश्यले कतारले आर्थिक सहयोग उपलब्ध गराएको दाबी केन्द्रीय निर्वाचन आयोगसमक्ष पेस गरिएको थियो। कतारको परराष्ट्र मन्त्रालयले भने यी दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।
नेतान्याहु र उनको लिकुड पार्टीले यी आरोपहरूलाई “राजनीतिक भूकम्प” र आफ्नो दक्षिणपन्थी सरकारलाई हटाउने उद्देश्यले गरिएको “प्रजातन्त्रमाथिको आक्रमण” का रूपमा प्रस्तुत गरेका छन्।
तर सिन बेटले पछि स्पष्ट पार्यो कि उनीहरूको अनुसन्धानले कानुनी रूपमा मतदान गर्ने सम्पूर्ण समुदायलाई दोषि ठहर्याएको छैन। यस्तै, CEC का कार्यवाहक महानिर्देशक डिन लिभ्नेले “निर्वाचनको निष्पक्षतामा व्यवस्थित उल्लंघन भएको दाबीको कुनै आधार नरहेको” बताएका छन्।
यसबारे जानकारी पाएका आइसेनकोटले “के भएको हो वा केही भएको पनि हो कि होइन भनेर निष्कर्षमा पुग्न अझै हतार हुने” बताए र नेतान्याहुमाथि “निर्वाचनको नतिजालाई गैरकानुनी ठहर्याउनका लागि नियोजित र व्यवस्थित अभियान” चलाएको आरोप लगाए।
जोइन्ट लिस्टको हिस्सा रहेको ‘बलद’ पार्टीका अध्यक्ष सामी अबु शहादेहले आरोपलाई खारेज गर्दै भने: “हार्ने पक्षले रंगभेदी झूटा आरोपहरू सिर्जना गर्दै निर्वाचनको नतिजा उल्टाउन सुरक्षा निकायहरूलाई बल प्रयोग गर्न आह्वान गरिरहेको छ।”
अरब मतदाता र पार्टीहरूमाथि नेतान्याहुको प्रहार केही दिनदेखि जारी छ। उनले मतदानको दिन सामाजिक सञ्जालमा अरब मतदाताहरूको उच्च सहभागिता इजरायली दक्षिणपन्थीका लागि “आपातकाल” र “जीवन-मरणको विषय” भएको पोस्ट गर्दै बिताएका थिए। दक्षिणपन्थी मतदाताहरूलाई मतदान गर्न प्रोत्साहित गर्ने उद्देश्यले उनले मतदान केन्द्रहरूमा रहेका अरब मतदाताहरूको कृत्रिम बुद्धिमत्ताबाट बनेका तस्बिरहरू पनि सेयर गरेका थिए।
इजरायलमा अरब इजरायलीहरू, जसमध्ये धेरैले आफूलाई इजरायलका प्यालेस्टिनी नागरिक भन्छन्, देशको कुल जनसङ्ख्याको करिब पाँचौं भाग ओगट्छन्।
वर्षौंदेखि, उनीहरूमध्ये धेरैले इजरायली चुनाव बहिष्कार गर्दै आएका थिए। उनीहरूका अनुसार मतदानले उनीहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गर्ने व्यवस्थालाई वैधता दिन्छ। तर मङ्गलबारको चुनावमा उनीहरूको उपस्थिति नेतान्याहुको नेतृत्वमा रहेको इजरायलको इतिहासकै सबैभन्दा कट्टर दक्षिणपन्थी सरकारलाई सत्ताबाट हटाउने इच्छाबाट प्रेरित थियो।
अन्तिम नतिजाले सरकार गठनका लागि केवल तीनवटा सम्भावित विकल्पहरू प्रस्तुत गर्दछ: नेतान्याहु र आइसेनकोट समावेश भएको राष्ट्रिय एकता सरकार, नेतान्याहु र आइसेनकोटका तर्फबाट आउने असन्तुष्टहरू समावेश भएको दक्षिणपन्थी गठबन्धन, वा अरब पार्टीहरूको समर्थनमा आइसेनकोटको नेतृत्वमा बन्ने सरकार।
आइसेनकोट र उनको गठबन्धनका एक जना बाहेक प्रत्येक सदस्यले यसअघि अरब पार्टीहरूसँग सरकारमा जान अस्वीकार गरेका थिए, तर पछिल्ला दिनहरूमा सहमतिमा पुग्न सकिने अडकलबाजीहरू तीव्र बनेका छन्।
हिब्रो युनिभर्सिटीले गरेको एक द्रुत सर्वेक्षण (Snap Poll) ले देखाएको छ कि प्रतिपक्षी गठबन्धनका प्रत्येक पार्टीका मतदाताहरूका लागि सबैभन्दा लोकप्रिय विकल्प आइसेनकोटले रा’म सँग मिलेर अल्पमतको सरकार बनाउनु र ‘जोइन्ट लिस्ट’ ले बाहिरबाट समर्थन गर्नु रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment