हुम्लामा मौसम खराब बन्ने चेतावनी: जिल्ला प्रशासन कार्यालयद्वारा उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल
हुम्ला। जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न भागमा वर्षा र हिमपात हुन सक्ने पूर्वचेतावनी जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन गम्भीर आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले एक आधिकारिक सूचना सार्वजनिक गर्दै मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै अत्यावश्यक कामबाहेक एक ठाउँबाट अर्को ठाउँमा आवतजावत तथा यात्रा नगर्न सबैमा अनुरोध गरेको छ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीद्वारा जारी प्रेस नोटमा बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूका साथै मुख्य राजमार्ग र ग्रामीण सडकहरूमा विशेष सतर्कता अपनाउन भनिएको छ।
मौसम विभागले तोकेको उक्त सतर्कता अवधिभर नदी तथा खोलाका किनारहरू र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई सचेत गराइएको छ। साथै, विपद्को पूर्वतयारी अवस्थामा रहन सम्बन्धित सम्पूर्ण निकायहरूलाई समेत आग्रह गरिएको छ।
हुम्लाका केही स्थानमा हुरीबताससहित मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहनुका साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने देखिएकाले सबैलाई सजग रहन प्रशासनको जोड छ।
यस विषम मौसमको अवधिमा पाकेको धानलगायत अन्य बालीनाली नकाट्न, काटिसकेको भए तत्काल भित्र्याउने वा सुरक्षित रूपमा भण्डारण गर्ने कार्य नगर्न किसानहरूलाई भनिएको छ।
त्यस्तै, पर्यटक, तीर्थयात्री तथा ट्रेकरहरूलाई उच्च हिमाली क्षेत्रतर्फ नजान र यदि ती क्षेत्रमा पुगिसकेका छन् भने मौसममा सुधार नआउँदासम्म सुरक्षित स्थानमै रहन आग्रह गरिएको छ। यसै गरी, उच्च चरन क्षेत्रमा रहेका पशुचौपाय, गोठाला तथा उच्च हिमाली भेगमा जडीबुटी सङ्कलनका लागि गएका व्यक्तिहरूलाई पनि तत्काल सुरक्षित स्थानतर्फ सरल्न प्रशासनले विशेष अनुरोध गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment