अप्रिय घटनामुक्त बन्यो कर्णालीको दशैं : आफन्तको मिलनसँगै शान्त वातावरण

डिसी नेपाल
९ कार्तिक २०८३ ९:४८

कर्णाली। यस पटकको दशैं कर्णालीवासीका लागि सुखद् र आनन्दमय बनेको छ। देश-विदेशबाट दशैं मनाउन घर फर्किने क्रममा यात्रा केही कष्टकर भए पनि गन्तव्यसम्म पुग्दा कुनै अप्रिय र पीडादायक घटना व्यहोर्नुपरेन। मौसम अनुकूल रहनुका साथै कुनै पनि प्राकृतिक तथा मानवीय विपत्ति सामना गर्नुपर्ने अवस्था आएन।

दशैंतथा तिहारलाई लक्षित गरी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले निर्माण गरेको ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको छ।

असोज २५ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी सुरक्षा योजना मातहतका १० वटै जिल्लामा कार्यान्वयन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए। उनका अनुसार प्रदेशभरको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाउन ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको छ।

सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद नेपाल प्रहरी अहोरात्र खटिएको उल्लेख गर्दै सापकोटाले जुवातास र सामान्य सवारी दुर्घटना जस्ता छिटपुट घटनाबाहेक ठूलो जनधनको क्षति हुने खालका दुर्घटना नभएको बताए। सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन र उचित प्रहरी परिचालनका कारण अप्रिय घटना हुन नपाएको उनको भनाइ छ।

दसैँ शान्त र सुरक्षित वातावरणमा सम्पन्न भएको भन्दै स्थानीयवासीले पनि खुसी व्यक्त गरेका छन्। जुम्लाको तिला गाउँपालिका-५ का रणबहादुर रावतले विगतका वर्षहरूको तुलनामा यसपालि निर्धक्क रूपमा दसैँ मनाउन पाएको बताए। दशकौँदेखि भेट्न नपाएका आफन्तहरूसँग पुनर्मिलन हुने अवसर जुरेकाले यस पटकको दसैँ विशेष बनेको उनले उल्लेख गरे।

यस्तै, दैलेखको भैरवी गाउँपालिका-३ निवासी दुर्गा गौतम सापकोटाले आफ्नै कला, संस्कृति र वेशभूषामा सजिएर परिवार तथा आफन्तबीच सुख-दुःख साटासाट गर्न पाउँदा खुसी लागेको बताइन्। वर्षौंपछि भेटिएका आफन्तहरूसँगको मिलनले दसैँको रौौनक बढाएको र प्रदेशभर कुनै अप्रिय घटना नसुन्नु झनै सुखद् रहेको उनले बताइन्।

दशैं र तिहारका समयमा सुरक्षा कायम राख्न कर्णाली प्रदेश प्रहरी कार्यालयले १ हजार ४६२ वटा ड्युटी तय गरी ५ हजार ३१४ जना प्रहरी खटाएको छ। यसअन्तर्गत २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती, ६० वटा द्रुत प्रतिकार्य टोली (इआरटी), १४८ वटा पैदल गस्ती तथा २०४ वटा लामो र छोटो दूरीका गस्ती परिचालन गरिएका छन्।

यसैगरी विशेष तथा नियमित चेकिङ, ट्राफिक संयुक्त चेकिङ, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा, नागरिक सहायता कक्ष, बैंक तथा वित्तीय संस्था र बजार अनुगमनसहित ४९४ स्थानमा प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *