डलरको वर्चश्व ध्वस्त, ब्रिक्स देशहरूको ९० प्रतिशत व्यापार आफ्नै मुद्रामा
काठमाडौं । रूसले ब्रिक्समा भारतको अध्यक्षता र त्यस अवधिमा हासिल भएका उपलब्धिहरूको प्रशंसा गरेको छ। रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले रूस ब्रिक्स सहकार्यलाई थप अगाडि बढाउन पूर्ण रूपमा प्रयासरत रहेको बताएका छन्।
उनले ब्रिक्स सदस्य राष्ट्रहरूसँग रूसको ९० प्रतिशत भुक्तानी सम्बन्धित देशहरूकै ‘राष्ट्रिय मुद्रा’ मा भइरहेको जानकारी दिए। पेस्कोभका अनुसार यसको मुख्य उद्देश्य ‘डि-डलराइजेसन’ (डलरको प्रयोग अन्त्य गर्ने) मात्र नभई भुक्तानीका विकल्प तथा माध्यमहरूलाई बढीभन्दा बढी विस्तार गर्नु हो। यद्यपि, उनले केही देशहरूले आफ्नो राष्ट्रिय मुद्रालाई विदेश नीतिको हतियारका रूपमा प्रयोग गरिरहेको टिप्पणीसमेत गरे।
पेस्कोभले ब्रिक्सअन्तर्गत मानवीय सहयोग र आर्थिक सहकार्यसहित तीन मुख्य क्षेत्रहरूमा काम भइरहेको बताए। रूस ब्रिक्सको सदस्यता विस्तार गर्नका लागि पनि प्रतिबद्ध रहेको उनको भनाइ थियो।
यसैगरी, ब्रिक्सले सुरक्षाका क्षेत्रमा पनि सहकार्यको संयन्त्र विकास गरिरहेको छ। यसमा लागूपदार्थ नियन्त्रण तथा आतंकवादविरोधी अभियानहरूमा आपसी सहयोग समावेश छ। साथै ब्रिक्स देशहरूबीच अन्तरिक्षका क्षेत्रमा पनि सहकार्य विस्तार गरिँदै छ।
भारतका सम्बन्धमा बोल्दै पेस्कोभले भारत रूसको रणनीतिक साझेदार रहेको र दुवै देशले विभिन्न क्षेत्रमा सहकार्यलाई अघि बढाइरहेको बताए। उनले भारतसँगको अधिकांश भुक्तानी पनि राष्ट्रिय मुद्रामै भइरहेको उल्लेख गरे।
युक्रेन युद्धका सम्बन्धमा पेस्कोभले रूस यसलाई रोक्ने प्रयासमा रहेको र शान्तिपूर्ण समाधानको पक्षमा उभिएको बताए। उनले सन् २०१४ को घटनाक्रमको चर्चा गर्दै अमेरिका, बेलायत र अन्य युरोपेली देशहरूमाथि रूसलाई कमजोर पार्न तख्तापलटको षड्यन्त्र गरेको आरोप लगाए।
पेस्कोभले शान्ति स्थापनाका लागि भारतका तर्फबाट भइरहेका प्रयासहरूको रूसले स्वागत गर्ने बताए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट युद्ध अन्त्य गराउन भइरहेका प्रयासहरूको पनि स्वागत गरे। यद्यपि, केही युरोपेली देशहरूले युक्रेनलाई रूसको ‘रणनीतिक पराजय’ का लागि उक्साइरहेको आरोप लगाउँदै पेस्कोभले रूसले त्यसो हुन नदिने स्पष्ट पारे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment