सानीभेरी जिप दुर्घटना अपडेट: मृतक दुवै जनाको सनाखत, गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

डिसी नेपाल
२८ भदौ २०८३ १२:२७

रुकुम पश्चिम।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ स्थित देउताखोला नजिकै आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मृत्यु हुनेमा जिप चालक त्रिवेणी गाउँपालिका-१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी-६ की १६ वर्षीया प्रेमकला पुन रहेका छन्। दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार अन्य गम्भीर घाइतेलाई लैजान नेपाली सेनाको हेलिकप्टर पुनः आउँदैछ। सामान्य तथा मध्यम घाइते अन्य यात्रुहरूको सानीभेरी गाउँपालिका अस्पताल सिम्लीमा उपचार भइरहेको छ।

प्रारम्भिक सूचनामा जिपमा ११ जना सवार रहेको भनिए पनि अनुसन्धानका क्रममा चालकसहित १३ जना सवार रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। घाइते तथा सवार अन्य यात्रुहरूको पूर्ण विवरण र पहिचान खुलाउने काम भइरहेको छ।

सानीभेरी गाउँपालिका-६ को कोटगाउँबाट सिम्लीतर्फ आइरहेको लु१च ६०२९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *