ईश्वर, भगवान् र भाग्यले लखेटिएका मानिसहरू
संसारमा सदियौँदेखि आजसम्म ईश्वर, भगवान् र उनैले निर्माण गरिदिएको भनिएको मानिसको भाग्यले मानिसलाई हरेक दिन, हरेक पलपलमा लखेटिरहेको छ।
मानिस भने यसैलाई पुनः ईश्वरको कृपा ठानेर उनकै पछि लागिरहेका छन्। सृष्टि भगवान्ले नै गरेका हुन् र भाग्य पनि उनैले बनाइदिएका हुन् भने भगवान्ले मानिसका लागि आखिर के बनाइदिए? यो एउटा गम्भीर र अहम् प्रश्न बनेको छ।
अध्यात्म दर्शनमा सत्य हो वा कपोलकल्पित, मानिस लगायत सम्पूर्ण सृष्टिको रचना ईश्वरले नै गरेको हो भनी दाबी गरिन्छ। प्रकृतिका सम्पूर्ण संरचनाहरू-पृथ्वी, जल, वायु, तेज र आकाश पनि ईश्वरकै सृष्टि हुन् भनी एकोहोरो दाबी गर्ने र अनेक पुराण, महाभारत तथा धर्मग्रन्थहरूका प्रमाण अगाडि तेर्स्याएर आजका मानिसहरूलाई तिनै कुरा दोहोर्याउँदै ईश्वरीय चिन्तन र मननमा तान्ने काम भइरहेको छ।
मानिसलाई ईश्वरको भक्ति, समर्पण र भजनमा लगाउन प्रकाण्ड पण्डित र विद्वान्हरू विगतदेखि आजसम्म निरन्तर लागिपरेका छन्।
तर, जतिजति मानिसहरू यसमा लागिपरेका छन्, उतिउति संसारका मानिसहरूमा आपत् र विपत् आइपरेको देख्दा अचम्म लाग्दछ। पुस्ताौँदेखिको ईश्वरप्रतिको यो असीम सद्भाव, भक्ति र समर्पणका बाबजुद कुनचाहिँ मानिसले आज दुःख, पीर, मर्का, आपत् र विपत्बाट छुटकारा र मुक्ति पाएको छ? त्यसको लेखाजोखा गर्ने सामर्थ्य यो संसारमा कसको छ र?
ईश्वर, भगवान् र भाग्य के हो र को हो?
ईश्वर भन्नाले ऐश्वर्यको परमाधिपतिलाई बुझाउँछ, जसलाई हामी मानवीय भाषामा ईश्वर भनेर पुकार्छौं। हामी साधारण मानिसहरू यस्तै प्रकारको ऐश्वर्य प्राप्तिका लागि तिनै ईश्वरको हरेक दिन बिहान-बेलुका सच्चा मनले पूजा-आरती गरी आराधना गर्दछौँ।
त्यस्तै, भगवान् भन्नाले सबै गुणैगुणले निपुण भएको त्यो भावना वा सत्ता हो, जसलाई हामी भगवान्को संज्ञा दिन्छौं। शाब्दिक अर्थमा ‘भग’ र ‘वान्’ मिलेर बनेको दुई शब्दको संयुक्त रूपलाई भगवान् भनिन्छ; जहाँ ‘भग’ भन्नाले गुण र ‘वान्’ भन्नाले परमाधिपति वा युक्त भएको मानिन्छ। अर्थात्, गुणैगुणले सम्पन्न गुणवान् मानिसलाई नै भगवान् भनिएको हो।
अर्कोतर्फ भाग्य भन्नाले जन्मँदै हरेक मानिस तथा यावत् जीवजन्तुको स्वर्गलोकमा बसी सम्पूर्ण जीव र जीवात्माहरूको कर्मअनुसार लेखाजोखा गरी सुख, दुःख, भय र डरका बारेमा लेखिएको कर्मको रेखा हो, जसलाई हामी भाग्य भन्ने गर्छौं।
जे भए पनि यी तीनै कुरा मानिससँगै गाँसिएका विषय हुन्। ईश्वरको ऐश्वर्य मानिसले नै निर्माण गर्ने हो, भगवान्को गुण पनि मानिसमै हुने हो र भाग्य पनि मानिस आफैँले बनाउने हो, अर्थात् सबै कुरा मानिस नै हो। योबाहेक ब्रह्माण्ड र संसारमा अन्य केही छैन।
किनकि सत्य, त्रेता र द्वापर युगमा पनि ब्रह्मा, विष्णु, महेश, राम, कृष्ण र अन्य ऋषिमुनिहरू नै थिए। पुराणका कथाहरूमा उनीहरूले गरेका कामहरूको महावर्णन मात्र गरिएको हो। कुनै पनि पुराण वा महाभारतजस्ता कथामा सर्वसाधारण जनताको सुख र दुःखको खासै वर्णन गरिएको पाइँदैन।
इतिहास पल्ट्याएर हेर्ने हो भने मानिसको जीवन कति कठिन, कति सङ्घर्षमय र कति मार्मिक थियो भन्ने कुराको सीमा नै छैन। के सृष्टि भएका सबै मानिस पापी, दुःखी र अभागी नै हुन् त?
यदि हुन् भने ईश्वरले आफ्ना सन्तानहरूलाई यस्ता आपत्-विपत्बाट मुक्त गराउनुपर्छ कि पर्दैन? यस विषयमा आजसम्म कुनै पनि अध्यात्मवादीहरूले चिन्ता गरेको पाइएको छैन।
आज ईश्वरले नै सृष्टि गरेका ईश्वरीय गुण भएका हरेक मानिसहरू आफ्नो-आफ्नो धर्म र आचरणअनुसार पूजापाठ, अर्चना, आराधना र सधैँ समर्पित भएर बस्दाबस्दै पनि मानिसहरू किन युद्धमा मर्दछन्? किन आगोमा जलेर मर्दछन्?
किन निरपराध मानिसहरूलाई बाढीले बगाएर एकैछिनमा सोत्तर बनाउँछ? किन लाखौंको घरबार खोसिन्छ? किन संसारमा फूलैफूलको सट्टा बम-बारुदको निर्माण हुन्छ? किन अनिकाल पर्दछ? किन भूकम्प र ज्वालामुखी फुटेर मानिसहरूको अकालमा ज्यान जान्छ र किन ध्वंस मात्र भइरहेको छ?
मानिसले कति बनाउने, कति निर्माण गर्ने? यो ज्यादै ताजुब लाग्दो विषय छ। किन भजन-कीर्तन र पूजापाठ गर्दा पनि ईश्वरले साथ दिँदैनन् र दुःखैदुःखमा मानिसको जीवन समाप्त पारिदिन्छन्? यस्तो सब हेर्दा, बुझ्दा र सुन्दा ईश्वर सधैं मूर्छित भइरहने प्रवृत्ति देखिन्छ।
यसरी सधैँ मूर्छित भइरहने ईश्वरलाई फेरि किन र के कारणले पूजा गरिरहने? यसको चित्तबुझ्दो जवाफ के कसैले दिन सक्ला र? सक्दैनन्। यो नै आजको समयमा मानिसलाई गुमराहमा राख्ने विषय बनेको छ।
युद्धमा हजारौँ बालबालिका, वृद्धवृद्धा, युवायुवतीहरूको अकालमा ज्यान जाँदा ईश्वर के हेरेर बसेका हुन्छन्, थाहा छैन। हजारौँ मानिसलाई भयानक बाढीले बगाएर मार्दा र शवहरू क्षतविक्षत हुँदा ईश्वर के हेरेर बसेका हुन्छन्, यो पनि थाहा छैन।
ईश्वर छन् भने के उनमा दया, माया, करुणा र विवेक छैन? छ भने त्यो प्रकट भएर किन देखिँदैन? यो रहस्य सधैँ लुकाइराख्ने, मानिसहरूलाई गुमराहमा पारिरहने र अन्ततः मृत्युशय्यामा पुर्याउने!
के यी सब रहस्य र गुमराहको जीवन अमुक रूपमा बिताएर यसै गरी संसार चलाइरहने हो भने ईश्वरको पूजापाठ, आराधना र ध्यान किन गर्ने, के कारणले गर्ने, केका लागि गर्ने? जब इहलोक (वरत्र) नै कठिन छ भने परलोक (परत्र) सुधारेर के फाइदा र के धर्म?
जपतप र ध्यानबाट आफ्नो राम्रो शरीर बिस्तारै गलाएर हाडछाला मात्र बाँकी राखी तपस्या सिद्ध हुने हो भने सबैले यस्तो कठोर कर्म गर्न सक्दैनन्। युगौंमा त्यस्ता एक-दुई मान्छे होलान्, जसले आफ्नो शरीरलाई सुकाएर अन्त्यमा मानिसले सहजै सोच्न सक्ने कुराहरूको प्रतिपादन गरी संसारलाई बुझाएका छन्।
आजभन्दा २६०० वर्ष अगाडिका गौतम बुद्धले त्यत्रो तपस्या गरेर पाएको ज्ञान साधारण छ। यही ज्ञानको वकालत आफ्नै घरमा बसेकी अर्धाङ्गिनीसँग गर्दा र “यस्तो ज्ञान चाहिएको भए म यहीँ घरमै दिने थिएँ” भन्दा बुद्ध लज्जित भएका थिए रे।
साधारण विवेकको ज्ञान खोज्न कुनै जङ्गलमा जानुपर्दैन; त्यो घरमै बसेर पनि आर्जन गर्न सकिन्छ। मानिसले आफूले आफूलाई नचिन्दा र आफू को हो भन्ने थाहा नपाएपछि मात्र समस्या हुने हो।
अतः यो ‘थाहा’ भन्ने शब्दको स्वाद गजबको छ। यसले सबै कुराहरूलाई अज्ञानताबाट ज्ञानमा परिणत गरिदिन्छ। अज्ञान नै मानिसहरूको एकमात्र डर हो; जसले डोरीलाई सर्प देख्ने, दिउँसै भूत देख्ने, ढुङ्गाको मूर्तिलाई ईश्वर देख्ने र उसले कहिले बोल्ला भनेर पर्खने बनाउँछ।
हुँदै नभएका सारा भगवान्हरूलाई हजारौं टन अनाज र करोडौं रुपियाँ चढाएर ईश्वरसँग मिलन खोज्ने, तर कहिल्यै नदेखिने र नभेटिने जस्ता कल्पनातीत भावनाहरूले मानिसलाई कतिसम्म गलाएर कहाँसम्म पुर्याउने हो, थाहा छैन।
ईश्वर अमुक, निराकार र साक्षीका रूपमा
भनिन्छ, ईश्वर अमूर्त (अमुक) छन्, ईश्वर निराकार छन्, उनको कुनै फोटो वा प्रतिबिम्ब छैन। ‘नातस्य प्रतिमा अस्ति’ अर्थात् ईश्वरको कुनै आकार र तस्बिर हुँदैन। उनको रूप, रङ्ग, ढंग र गति केही थाहा हुँदैन। ईश्वर हाम्रो कपालको एउटा रौँको टुप्पाको करोडौँ भागको एक भागजत्रो हुन्छ भनी पण्डित र धर्मशास्त्रका वेत्ताहरू विश्लेषण गर्दछन्।
यसको मतलब उनी एउटा सानो बिन्दुमा रहेका छन्, जसले यो सारा ब्रह्माण्डको सृष्टि, स्थिति र संहारको घुमिरहेको चक्रझैँ जन्म दिँदै, स्थिति कायम राख्दै अन्त्यमा मृत्युमा लगेर संहार गर्दछन्। संसारमा हुने घटना-परिघटनाहरूलाई केवल दृश्य-साक्षीका रूपमा अवलोकन गरेर मात्र उनी बसेका हुन्छन् भन्ने आध्यात्मिक कथन र विचार छ।
यस्तो कथन र विचारलाई अवलम्बन गरी मन्त्र जप र ध्यानद्वारा त्यो शक्तिको आराधना तथा ऊर्जा प्राप्त गर्न सकिन्छ भन्ने कुरामा आजका मानिसहरूले के विश्वास गर्ने र के नगर्ने? यो बुझेर वा जानेर पनि के गर्ने?
आजका सबै मानिसहरूलाई यसरी भजन-कीर्तन गराएर यो लोकको होइन, परलोकको सुख र शान्तिको मोह देखाइने गरिएको छ। यो जन्ममा दुःख गर्ने र अर्को जन्ममा सुख भोग गर्ने भन्ने कुरा अब हामीपछिका पुस्ताका आधुनिक मानिसहरूले बुझ्न गाह्रो मान्छन्।
यो कुरा नबुझाई आफ्नो निष्काम कर्मले कसैलाई दुःख नदिई, शोषण नगरी, जन्मेदेखि नमरेसम्म सबैसँग झगडा नगरी मिलेर बस्नुपर्छ भन्ने सन्देश प्रदान गरेमा बरु त्यसले मानव जीवनको कल्याण हुने थियो।
तर यो कसैका लागि श्रापसरह हुन जान्छ, किनकि यो झुटो संसारमा तीतो सत्य कसले पत्याउँछ र? वास्तविक कुरा के हो भने, मानिस सधैँ वास्तविकतामा रहेर आफ्नै धरातलमा बाँच्नुपर्दछ।
जे भएको हो, त्यसलाई स्वीकार गर्न सक्नुपर्दछ। केही आपत् र विपत् आयो भने आफूले सकेको, जानेको र थाहा पाएको कुराहरू नछुटाई गर्न सक्नुपर्दछ र आफ्नो कर्ममा अविरल लागिरहनुपर्दछ।
ईश्वर र भाग्यले दुत्कारेका मानिसहरू
ईश्वर र भाग्यको नियति राम्रो हुँदाहुँदै पनि इमानदार, सज्जन र राम्रो सोच भएका निर्दोष मानिसहरूले यो संसारमा किन दुःख, कष्ट, आपत् र विपत् भोगिरहेका छन्?
किन ईश्वर र भाग्यले कसैलाई युद्धमा मारिरहेका छन्? कसैलाई ठूलो हावाहुरी र बतास आएर उडाइलगिरहेको छ भने कसैलाई भयानक नदीको बाढीले बगाएर एकैछिनमा जीवनका सारा आशा र इच्छा नष्ट गरिरहेको छ?
किन प्रकृति र यो ब्रह्माण्ड चलाउने शक्तिले ध्वंस मात्र गरेर सृष्टिलाई तबाह पारिरहेको छ? किन भलो चिताएर कर्म गर्दागर्दै पनि ईश्वर र भाग्यको क्रूर कर्मले मानिसलाई विचलित बनाइरहेको छ र सधैँ निर्धन तथा दुःखी बनाइरहेको छ?
यदि ईश्वर र भाग्यले यस्तै गरिरहने हो भने फेरि ईश्वर र भाग्य दुवैलाई किन स्वीकार गरिरहने? के यो मानिसहरूको दुर्बलता र मजबुरी होइन र? के यो मनभित्रको डर र त्रासको प्रतिउत्पादक होइन र? हो, अवश्य हो।
मानिसहरूको सिर्जनशीलतालाई धिक्कार्दै ईश्वर र भाग्यको विनाश एवं त्रासको भागलाई स्वीकार्ने यो कपोलकल्पित कुरालाई सधैँ अगाडि ल्याएर ईश्वरको त्रास र भाग्यको रेखालाई पूजा सामग्रीले शृङ्गार गरी पूजा गरिरहने हो भने सधैं यस्तै भइरहने देखिन्छ।
मानिसहरूलाई झन् असल बनाउनतिर नलागी सधैँ दैव र भाग्यको डर-त्रास देखाई मानिसहरूलाई त्रासमा राखिरहने हो भने यो संसार चल्दैन। ईश्वर रिसाए, भाग्य रिसाए संसारमा उथलपुथल भइरहन्छ र मानिसहरूले दुःख पाइरहन्छन् भन्ने धार्मिक वेत्ताहरूको कपोलकल्पित भनाइलाई मान्न अलि गाह्रै पर्दछ।
यो ईश्वर र भाग्यको कुनै खेल होइन। यो त संसारमा रहेका प्रकृतिका पाँच तत्त्वहरू-पृथ्वी, जल, वायु, तेज र आकाशको एक-अर्काप्रतिको आपसी मिलन, घर्षण, जोड र विच्छेदबाट हुने परिणाम मात्र हो, अरू केही होइन।
ईश्वरको दर्शन गर्न जाने तमाम भक्तजनहरूको किन आकस्मिक निधन हुन्छ? के ईश्वर र भाग्यको भूमिका यसमा रहन्छ? कदापि रहँदैन।
यहाँ ईश्वरसँग बराबर कुरा गर्ने, ईश्वरसँगै रहने, एक मन्त्रमा सारा मरेका मानिसहरूलाई नदीको किनारमा ल्याइदिन सक्ने भन्दै फुइँ लगाएर हिँड्ने मन्दबुद्धि भएका मानिसहरू धेरै छन्। आजका मानिसहरूले यो कुरामा विश्वास गर्न सक्दैनन् र गर्ने कुरा पनि होइन।
सम्पूर्ण ब्रह्माण्ड, ग्रहहरू र यो संसारको संरचना तथा विनाश केवल गुरुत्वाकर्षणको शक्तिले गर्दा नै भएको मान्नुपर्दछ। मानिसले धर्म छाडे पापको घडा भरिँदै जाने र ईश्वर अनि भाग्यले धर्म छाडे विनाश हुने भन्ने हो भने ईश्वर, भाग्य र मानिसमा के फरक भयो र? यी सब चियागफका कुराबाहेक केही होइनन्।
मुख्य कुरा के हो भने, ईश्वर र भाग्यले आफ्ना सन्तानहरूलाई कहिल्यै नदुत्कारून्, दुःख नदिऊन्; यो नै ईश्वर र भाग्यको मूल कर्तव्य हो।
सधैं दुःख मात्र दिइरहने हो भने ईश्वर र भाग्यको खोजी नगरिए पनि हुन्छ। ईश्वर र भाग्यमा विश्वास गरेर बस्नेहरूलाई कहिल्यै सुख हुँदैन। यो केवल डरको पुलिन्दा मात्र हो। कमजोर मन भएकाहरूले मात्र ईश्वर र भाग्यलाई पुकार्दछन्।
धार्मिक मानिसहरूले आफूलाई चाहिने सुख र सुविधा लिइरहेकै हुन्छन्।
अरूले बनाइदिएको महलमा बस्ने, अरूले बनाएको खाना-खजाना उपभोग गर्ने, यथार्थमा नबस्ने र सधैँ ईश्वर तथा भाग्यको भजन गाउँदै पाप र पुण्यको वेत्ता बनेर मानिसहरूलाई प्रवचन दिँदै हिँड्नेहरूले आज कति मानिसलाई सुख दिए र कति मानिसको जीवन सुधारे, त्यो कसैले पनि भन्न सक्दैन।
वास्तवमा सुख त उनीहरूलाई नै होला, तर जहाँसम्म शान्तिको कुरा छ, त्यो कसैलाई पनि छैन। वास्तवमा शान्ति न ईश्वरले दिएका छन्, न प्रकृतिले दिएको छ, न त भाग्यले नै दिएको छ।
यदि शान्ति पाउने हो भने कसैको पनि भर नपरी आफैँलाई हेर, आफ्नै विचारलाई भित्रभित्रै स्वच्छ पानीले पखाल र सधैँ ताजा विचार तथा मन लिएर बस। डर र त्रासलाई भगाऊ, शान्ति आफैँ आउँछ। आफैंलाई बलियो र ऊर्जाशील बनाऊ, आफैँलाई ईश्वरजस्तै बनाऊ र आफैँले भाग्यको निर्माण गर।
हत्या र हिंसा त्याग गर अनि हरेकलाई दाजुभाइ र दिदीबहिनीको व्यवहार गर। गर्ने कुरा तुरुन्त गर र नगर्ने कुरा दिमागबाट हटाइदेऊ। भरसक सुख र आनन्दमा रहने अभ्यास गर, तर घमण्ड भने बिल्कुलै नगर। यति गर्न हामी मानिसहरूले सक्यौँ भने हामीलाई न भाग्य चाहिन्छ, न ईश्वर नै।
निष्कर्ष
ईश्वर छन् कि छैनन्, भाग्य छ कि छैन थाहा छैन। तर मानिसहरू, अन्य प्राणी र पशुपन्छीहरू भने अवश्य छन्। पृथ्वी, जल, वायु, तेज र आकाश एवं यसले सिर्जेका अनगिन्ती संरचनाहरू पहिले पनि थिए र आजसम्म पनि छन्।
जे छ त्यसमै रमाऊ, त्यसैको सदुपयोग गर। धेरै सम्पत्ति आर्जन गर्नेतिर मात्र नलागी नयाँ खोज र अनुसन्धानतिर लाग। संसारमा दुःख होइन, सुख पाउने कोसिस गर। जीवनलाई सरल बनाऊ र आफूले आफूलाई नै ईश्वर र भाग्य बनाऊ। यति गर्न हामीले सक्यौँ भने हामीलाई ईश्वर र भाग्यमाथि भर पर्नुपर्ने कुनै आवश्यकता छैन।
No ads found for this position



Facebook Comment