पोखरा बसपार्कका ५६७ परिवारको व्यवस्थापन पुनः अघि बढाइने, वैकल्पिक व्यवस्थापछि मात्र हटाइने

डिसी नेपाल
२७ भदौ २०८३ ६:५५

काठमाडाैं। पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया पुनः अघि बढाउने भएको छ।

महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार बसपार्क क्षेत्रमा कुल ५६७ परिवारको बसोबास रहेको छ। नगर कार्यपालिका बैठकबाट प्रमाणीकरण भएको उक्त विवरणमा १४४ परिवार भूमिहीन दलित, १८१ परिवार भूमिहीन सुकुम्बासी र २४२ परिवार अव्यवस्थित बसोबासी रहेका छन्।

महानगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था गरेर मात्रै साविकको स्थानबाट हटाइने प्रतिबद्धता जनाएका छन्। जग्गा व्यवस्थापनका लागि केही स्थान पहिचान भइसकेको र जिल्ला भूमि आयोगमार्फत बाँकी प्रक्रिया आउँदो आइतबारदेखि अघि बढाइने उनले जानकारी दिए।

“हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्धार र राहतमा केन्द्रित हुनुपर्दा बस्ती व्यवस्थापनको काम केही दिन रोकिएको थियो,” प्रमुख आचार्यले भने, “अब भने बाँकी निर्णय प्रक्रिया पुनः सुरु हुनेछ।” उनले मनसुन कमजोर भएसँगै फिर्के खोला सीमांकन तथा मापदण्ड कार्यान्वयनको बाँकी काम पनि सँगै अघि बढाउने बताए।

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि वि.सं. २०३२ सालमै जग्गा अधिग्रहण गरिएको थियो। तर, योजना बनेको पाँच दशक बितिसक्दा पनि सुकुम्बासी बस्ती र अतिक्रमणका कारण बसपार्क निर्माण हुन सकेको छैन। जसका कारण हाल पृथ्वीचोकको सडकमै गाडी पार्क गरेर यात्रु ओसारपसार गर्नुपर्ने बाध्यता छ।

पछिल्लो समय महानगरले बसपार्कभित्रका अनधिकृत व्यापारिक सटरहरू हटाइसकेको छ। जमिन खाली गराएपछि दक्षिण कोरियाली विकास नियोग (कोइका) को सहयोगमा प्रविधिमैत्री र वातावरणमैत्री आधुनिक बसपार्क निर्माण गर्ने महानगरको योजना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *