राजविराज अस्पताल गेटमै प्रसूति प्रकरण: ड्युटीका कर्मचारी निलम्बित
पाँच सदस्यीय उच्चस्तरीय टोलीद्वारा छानबिन सुरु
काठमाडौं। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको संवेदनशील घटनालाई गम्भीरतापूर्वक लिँदै सरकारले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
घटनाका बखत ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ भने सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन टोली राजविराज पुगेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनाबारे संसद्लाई जानकारी गराएकी हुन्।
मन्त्री मेहताका अनुसार नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ, एथिकल कमिटीका डा. अजय शाह तथा स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीसहितको ५ सदस्यीय छानबिन टोली स्थलगत अध्ययनका लागि राजविराज पुगिसकेको छ। यसका साथै जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेपछि अस्पतालले बुझाएको प्रारम्भिक विवरण संसद्मा प्रस्तुत गर्दै मन्त्री मेहताले भनिन्, “भदौ २४ गते बिहान करिब २ बजे ३० वर्षीया बबिताकुमारी पासवान प्रसव व्यथा लागेपछि अस्पताल पुग्नुभएको थियो। प्रारम्भिक जाँचपछि उहाँलाई प्रसूति वार्डको २४ नम्बर बेडमा भर्ना गरियो। तर, पुरानो रिपोर्ट नभएकाले केही अत्यावश्यक परीक्षण गर्न स्वास्थ्यकर्मीले भनेपछि बिरामी र कुरुवा शय्या छाडेर बाहिरिनुभएको र बिहान ४:४५ बजे गेटमै सुत्केरी हुनुभएको अस्पतालको दाबी छ।”
अस्पताल प्रशासनका अनुसार प्रसूतिपश्चात् आमा र नवजात शिशुलाई पुनः वार्डमा ल्याई नाल काट्ने तथा आवश्यक उपचार गरिएको थियो। तर, स्वास्थ्यकर्मीले थप उपचारका लागि बस्न आग्रह गर्दागर्दै पनि उनीहरू आफ्नै खुसीले घर फर्किएको दाबी अस्पतालले गरेको छ।
नागरिकको स्वास्थ्य अधिकार र मातृ-शिशु सुरक्षामा खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री मेहताले छानबिन प्रतिवेदन आएपछि दोषी ठहरिने जो-कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिन्।
यस्ता गम्भीर लापर्बाही आगामी दिनमा दोहोरिन नदिन मन्त्रालयले देशैभरका सरकारी अस्पतालहरूलाई कडा निर्देशन जारी गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment