कथा: देशको वर्तमान अनुहार
समस्याहरू जहाँका त्यहीँ छन्, समाधान हुन सकेको छैन-खोइ किन हो? एकजना बिचरा बबुरो बिरामी परेर अस्पताल गएछ। बिचरो! लाइन कुर्दाकुर्दै उल्टै निको भएर फर्किएछ।
यात्राकै क्रममा प्रहरीले सडक चेकजाँच गरेछ। दुईजना भागेछन्; प्रहरीले यसो नजर दौडाउँदै गर्दा अर्को व्यक्ति फेला परेछ। सोधखोज गरेछन्, ऊ निरीह हुँदै प्रश्न गर्न पुगेछ। बिचरालाई के थाहा, कस्तो विडम्बना आइपरेछ-उल्टै प्रश्न गरेको आरोप लागेर दुई दिन कठघरामा बस्नु परेछ।
यौन दुर्व्यवहारका घटनाहरू जताततै सल्बलाइरहेका छन्, घटिरहेका छन्। सुन्दा पनि कान थुन्न मन लाग्छ-वीभत्स अनि उस्तै डरलाग्दा। मेरो देश कतातर्फ जाँदै छ? प्रश्न गर्न मन लाग्छ, तर उत्तर भने अनुत्तरित नै रहन्छ।
बाहिर हेर्दा साधारण देखिए पनि कसैको जीवन भोगाइ निकै कहालीलाग्दो हुन्छ। उसका अनुभव अनि सङ्घर्षका पदचापहरू भयावह लाग्छन्; प्रत्येक पाना पल्टाउँदै जाँदा दुःखीहरूको ताँती नै देखिन्छ। बाँच्नु पनि कम्ती सहज रहेनछ; एकपछि अर्को दुःखका चुलीहरू थपिएको सुन्दा कथा नै लेख्न मन लाग्छ।
सुत्केरी श्रीमतीका लागि खाना पकाउने ग्यास नहुँदा एक युवा लाचार बनेर नदीमा हाम फालेछ। उसले आफ्ना विरहहरू पोख्यो होला, समस्याहरू राख्यो होला; तर कसैले सुनेनन्। सरकारी संयन्त्र बहिरो भएछ। बिचरो! निराश भएर नै त होला नदीमा हाम फालेको।
तर यहाँ उसले किन र कुन कारणले त्यस्तो गर्यो भन्ने विवशताको खोजी हुँदैन। उसको कुनै पहिचान छैन, त्यो त केवल लाइक, कमेन्ट अनि भ्युज बढाउने ‘कन्टेन्ट’ मात्र बनेछ।
भिडमा एकजनाले भन्दै थियो- “लाइक, कमेन्ट र भ्युज बढाउन त कन्टेन्ट फरक हुनुपर्छ, यस्तै हुनुपर्छ, अहिलेको जस्तै।” कस्तो दुर्भाग्य! आत्मीयता अनि मानवता बिस्तारै हराउँदै छ, मानिसहरू बनावटी बन्दै गएका छन्।
न्याय माग्न पुगेकाहरूको घाँटी सुकेको छ, तर तिनलाई सडकमा पठाउनेहरूको भने दिन खुलेको छ। मर्नेमा सधैँ दीनहीन अनि निमुखाहरू नै परेका छन्।
आमा छाती पिटीपिटी रुँदै होलिन्-जीवनभरिका लागि पुग्यो भन्दै! सुनेको थिएँ, उनी डिप्रेसनको सिकार भइन् रे! तर अफसोच, पहुँचवालाहरू नै सफलताका खुड्किला चढिरहेका छन्। रगतको पनि सौदा हुने जमातमा कसैमाथि भरोसा नै नरहँदो रहेछ।
यहाँ त मानिसका दुईवटा मुखौटाहरू हुँदा रहेछन्। बाहिरी आवरणमा गरिबको समर्थन र दीनदुःखीको साथमा रहेको नारा घन्किन्छ।
“सर्वहाराका समस्या हाम्रा हुन्, सामाजिक विभेदको अन्त्य गरौं” भनेर बहस चल्छ, कचहरी बस्छ। यो परिवेशमा जसले भ्रमको खेती गर्न जान्यो, जसले अरूको आँखामा पर्दा हाल्न जान्यो, बुझ्नुहोस्- “उही नै नेता बन्छ, सम्मानको लायक ठहर्छ।”
सर्वहाराले गरिबीसँग नाता जोडेछ, पसिना साटेर जीवन चलाउँछ। उसले सधैं अभावसँग साइनो गाँसेछ। यस्तो गहन मितेरी गाँस्न पुगेछ कि जीवनपर्यन्त आफूलाई त निर्धनको ट्याग लगायो-लगायो, आफ्ना सन्ततिलाई पनि संस्कार, इमानदारिता अनि सत्यनिष्ठाको गतिलो पाठ पढाएछ र त्यसलाई पुस्तौँसम्म जीवन्त राखेछ!
पितामहका पालादेखिकै परम्परा धानेको छ, विरासतमा निर्धनको ट्याग पाएको छ! ऊ त अब मानसिक, भावनात्मक, आर्थिक अनि सामाजिक रूपमा पनि कमजोर बनेको छ। शरीरमा सामर्थ्य रहेसम्म त काम गर्ला, पाखुरा बजाउला, पसिना बेच्ला; तर खोइ भविष्यको सुनिश्चितता?
यसरी नै अझै कति पुस्ता धकेलिन्छ, थाहा छैन। उसको बोली बिक्दैन, आवाज दबाइन्छ, कुण्ठित हुन्छ र तमाम अवसरहरूबाट बञ्चित गराइन्छ। उसलाई यही समाजले बाध्य बनाउँछ। बाहिरबाट हेर्दा त सबैका अनुहार उस्तै देखिन्छन्, तर भित्रभित्रै भने सञ्जाल निकै गहिरो हुँदो रहेछ। हातेमालोको खेल पनि अदृश्य र दबाबपूर्ण रहेछ। बल्ल बुझेँ- “तब पो विपन्नको आवाज हराउँदो रहेछ।”
हो, त्यसैले म भन्छु- “जहाँ दमन हुन्छ, अन्याय हुन्छ; तब विरोधले जन्म लिन्छ अनि प्रतिशोध जन्मन्छ। त कतै मौनता पनि जन्मन्छ, अनि विचार बोल्न थाल्छ, मत बोल्छ, चेतना बोल्छ।”
देख्नेलाई लाग्दो हो, दमनपछि आवाज हराउँछ, कथाले पूर्णविराम रोज्छ र सब साम्य हुन्छ। हो, केही समयका लागि थिचिएको होला, दबिएको होला; तर जब चेतना बोल्न थाल्छ र विचारको मत राख्ने पालो आउँछ नि- सुन्नेहरू स्तब्ध रहन्छन्, सन्नाटा छाउँछ, शून्यता हुन्छ र माहोल शान्त रहन्छ, केवल शान्त!
No ads found for this position



Facebook Comment