धर्म दर्शन: एक विश्लेषण
धार्मिक दर्शनले मानिसलाई विभिन्न विचार र दृष्टिकोण प्रदान गरेको छ। जसका कारण कोही हिन्दू, कोही इस्लाम, कोही क्रिश्चियन त कोही बौद्ध विचार बोकेर हिँडेका छन्।
मानिसहरू आफ्ना धर्मग्रन्थ बोकेर तिनैको अनुसरण गर्दै अघि बढेका छन्। यी सबै धर्म मान्नेहरूले एकै ईश्वरलाई मान्दै आएका छन्; जसलाई सबैले ईश्वर, परमात्मा वा सत्य भने पनि अंग्रेजीमा ‘गड’ (नामले पुकार्ने गर्दछन्।
यो आदि-अनादि कालदेखि चली आएको चलन हो। मानिसहरू यसैमा भुलिरहेका छन् र ईश्वरले नै सबै कुरा मिलाउँछन् वा गर्छन् भन्ने विश्वास र परम्परा रहेको पाइन्छ।
तर ‘ईश्वर कहाँ छन्?’, ‘उनको रूप र आकृति कस्तो छ?’ भन्ने प्रश्न उठेको खण्डमा सम्पूर्ण धार्मिक पण्डित, ठूला-ठूला धार्मिक दर्शनशास्त्री, सन्त, महन्त र साधुहरू नतमस्तक बन्छन्।
उनीहरू ईश्वर आफैंभित्र छन् र अर्को ठूलो ईश्वर माथि बसेर सारा ब्रह्माण्डको अधिपति भई पाप र पुण्यको साक्षी बनी सृष्टि, स्थिति र संहारको चाँजोपाँजो मिलाएर बसेका छन् भन्ने भनाइ राख्छन्।
हिन्दू दर्शनमा शिव, राम र कृष्णलाई ईश्वर मानिएको छ; क्रिश्चियन धर्ममा येशू क्रिस्टलाई; इस्लाम धर्ममा पैगम्बर मोहम्मद र कबीरलाई; सिख धर्ममा गुरु नानकलाई; बौद्ध धर्ममा बुद्धलाई र चीनमा लाओत्से तथा कन्फ्युसियसलाई ईश्वर वा भगवान् मानी आएका छन्।
त्यसै गरी अन्य मानिसहरूले आफ्नो भूगोल अनुसार ईश्वर मान्दै आएको पाइन्छ। आखिर सबैले आफ्नै तरिकाले ईश्वर निर्माण गरी त्यसैमा विश्वास, पूजा-अर्चना र आराधना गर्दै आफ्नो धर्म-दर्शनको पालना गरिरहेका छन्।
मानिसले ईश्वरलाई यति धेरै विश्वास गरेका छन् कि सबै अन्धो बनेर पछाडि लागिरहेका छन्। यो आजको सत्य हो। तर ईश्वर वास्तवमा कुनै नाम होइन, ईश्वर त एक गुणी स्वभावको पुञ्ज हो। यो एक स्वभाव हो।
जब हामी नामबाट सर्वनाम र सर्वनामबाट विशेषणमा आउँछौँ र गुणातीत स्वभावको वर्णन तथा प्रवचन गर्दछौं, त्यसपछि मात्र ईश्वरीय स्वभावको कुरा आउँछ। ईश्वर कुनै नाम विशेष होइन, यो प्रकृति र प्राकृतिक स्वभाव हो; जहाँ पृथ्वी, जल, तेज, वायु र आकाशका स्वभाव प्रतिबिम्बित हुन्छन्। यसलाई नियन्त्रण गर्ने अरू कुनै थप शक्ति यो ब्रह्माण्डमा छैन।
यिनै पाँच तत्त्वहरूको सम्मिश्रण, आकर्षण र विकर्षणले ब्रह्माण्ड, सूर्यमण्डल, चन्द्रमण्डल, तारागणको संरचना, पहाड, पर्वत, नदीनाला, हिमशृङ्खला, तातो-चिसो तथा वसन्त, शरद, ग्रीष्म र शिशिरजस्ता ऋतुहरूको संरचना निर्माण हुन्छ। यी सबै पाँच तत्त्वहरूकै आपसी घर्षण, सम्मिश्रण र उतारचढावबाट निर्मित हुन्छन्। यसैबाट जीव, जन्तु र पशुपन्छीहरू जन्मिने, हुर्कने र अन्त्यमा मृत्यु हुने प्रक्रिया चल्छ।
यो नै प्रकृति हो र प्रकृतिकै स्वभाव, गुण र दोष हो। ईश्वर सजीव रूपमा छैनन्। ब्रह्मा, विष्णु, महेश, राम, कृष्ण, हनुमान, भीमसेन र देवी-देवताहरू सबै गुण र दोषका चरित्र हुन्। यी दैवी गुणका पर्यायवाची शब्दहरू हुन्। ईश्वर एक भाव हो; जस्तो आफूले रच्ने हो, त्यही क्यानभासमा उतार्ने हो र आफूले रचेको तथा सोचेको कुराप्रति आफैँ समर्पित हुने हो।
विश्वासको शिखरमा रहेका तमाम मानिसहरू, चाहे ती ऋषिमुनिहरू नै किन नहुन्, उनीहरूले आफ्नो चैतन्यभित्रबाट सोचेका कल्पनातीत कुराहरूलाई साकार रूपमा उतारेर तिनको गुण र दोषको महिमा लिपिबद्ध रूपमा लेखेर छोडेका हुन्।
त्यो एउटा पुलिन्दा हो, जसलाई हामी मानिसहरूले सदियौँदेखि मान्दै आएका छौँ। मानिसले यो कुरा नबुझेका हुन् कि ईश्वर हामीजस्तै मानवीय तत्त्व होइनन्, किनभने ईश्वर निराकार हुनुहुन्छ। निराकार तत्त्वको वर्णन गर्ने सामर्थ्य कसैमा छैन।
त्यसै कारणले शिव होइन ‘शिवत्व’ हो, ब्रह्म होइन ‘ब्रह्मत्व’ हो, विष्णु होइन ‘विष्णुत्व’ हो, राम होइन ‘रामत्व’ हो, कृष्ण होइन ‘कृष्णत्व’ हो, हनुमान होइन ‘हनुमानत्व’ हो, भीमसेन होइन ‘भीमसेनत्व’ हो र देवी-देवता होइन ‘देवी-देवत्व’ हो।
मानिसलाई यो पृथ्वीमा जन्मिएदेखि नमरुन्जेलसम्म यी पाँचै भौतिक तत्त्वहरूको अत्यन्त आवश्यकता पर्छ। यो शक्तिको स्रोतबिना मानिस, पशुपन्छी र यावत् जीवहरू बाँच्न सक्दैनन्।
यी पाँच तत्त्वबिना ब्रह्मा, विष्णु, महेश, नारायण, राम, कृष्ण, हनुमान, भीमसेन आदि देवताहरू पनि बाँच्न सक्दैनन्। हावा मात्र खाएर, पानी मात्र पिएर, आकाश मात्र हेरेर, अग्नि मात्र खपेर र माटो मात्र भएर कोही पनि बाँच्न सक्दैन। यही हो तत्त्वबोधको कुरा। यही तत्त्वलाई बुझेमा, मनन गरेमा र यसैको समभावमा रहेमा ईश्वर वा परमात्मा भनेकै यसैको अनुभूति हुने कुरा हो।
हामीले मानिस भएर गुणहरूलाई मात्र अङ्गीकार गर्ने हो भने हामी पनि ईश्वरजस्तै बन्न सक्छौँ। तसर्थ गुणलाई स्वीकार्ने बानी मानिसमा निरन्तर हुनुपर्छ। त्यसैले त धेरै गुण भएका मानिसहरूलाई हामी भगवान् सरह मान्छौँ भने धेरै घमण्ड, लोभ, मोह, डाह, ईर्ष्या, मद र मात्सर्यले लालायित हुनेहरूलाई राक्षस वा दानव भन्दछौँ। यही हो दैवी गुण र दानवी गुण।
धर्म-दर्शन भन्नाले गुण र दोषका बारेमा बनाइएको एक विचार हो, जसलाई हामी दर्शन भन्दछौँ। यसको मूल सार भनेको शक्तिको स्रोतको खोजी गर्नु हो। शक्तिको स्रोत भनेका तिनै पृथ्वी, जल, तेज, वायु र आकाश नै हुन्।
श्वास फेर्न हावा चाहिन्छ, ऊर्जा बढाउन सूर्य चाहिन्छ, अन्नबाली उब्जाउन जल चाहिन्छ, बस्न धर्ती चाहिन्छ र वर्षा हुन आकाश नै चाहिन्छ भने यी पाँच तत्त्व भएपछि मानिसलाई अरू के चाहिन्छ र? जुन हाम्रै सामुन्ने २४ सै घण्टा उपलब्ध छन्। अब फेरि ब्रह्मा, विष्णु, महेश, राम, कृष्ण, अन्य देवी-देवता, पैगम्बर, क्रिस्ट वा बुद्ध किन चाहियो, जब उनीहरूकै जस्तो गुण र स्वभावहरू अङ्गीकार गर्न सकिन्छ?
सरसरती हेर्दा देवता खोज्न कहिँ जानू पर्दैन। मानिसभित्रै देवत्वका गुणहरू छन्। शान्त हुने, स्थिर हुने, दयालु हुने, हंसमुख हुने, संसारलाई आफ्नो बनाउने, संसारमा धेरैले गर्न नसकेको काम गर्ने, तेजिलो बन्ने, शक्तिको प्रक्षेपण गर्ने, एकै क्षणमा एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने, लत्ताकपडा, गहना, मणिमाणिक्य आदि भौतिक शक्तिको सिर्जना गर्नु सबै मानिसको बसभित्रको कुरा हो र मानिसले गरेका पनि छन्।
मानिसले यहाँ के गरेका छैनन् र? हिजो चन्द्रमालाई देवता भन्ने महापण्डितहरूकै अगाडि रकेटमार्फत मानिसलाई चन्द्रमामा पुर्याइएको छ। हिजो महासागर भन्नेहरूका अगाडि आज डुङ्गा, जहाज र ठूला-ठूला क्रुजहरू चलेका छन्, जसबाट जलमार्ग हुँदै केही समयमै एक देशबाट अर्को देशमा पुग्न सकिन्छ। हिजो आकाशमा विमान चल्थ्यो भनिन्थ्यो; आज दैनिक हजारौँ ठूला-ठूला विमानहरू आकाशमा उडिरहेका छन्।
पहिला अनेक रोग लागेर मानिसहरू मर्दथे भने अहिले अत्याधुनिक औषधिको आविष्कार र निर्माण गरी अरबौँ मानिसलाई पुनर्जीवन दिइरहेका छन्। यस्तो अवस्थामा अब यहाँ फेरि निराकार देवताको के खाँचो छ र? आज सबै कुरा हातले छुनै नपर्ने गरी निर्माण हुन्छन्, सबै मेसिन र रोबोटले गर्छन्। के यस्तो कुरा सत्ययुगमा थियो त? पक्कै थिएन।
त्यतिबेला त सबै ‘फू-फा’ र हात हल्लाउनासाथ प्रकट हुन्छ भन्ने सुनिन्थ्यो। तर यो शक्ति सबैमा किमार्थ हुँदैनथ्यो भने हिजो र आजको गतिमा के फरक छ र? फरक यति छ- हिजोका कुराहरूलाई ‘जय शम्भो’, ‘जय राम’ र ‘जय कृष्ण’ भन्दै जयजयकार गर्ने चलन छ भने आज मानिसले बनाएका गगनचुम्बी महल, ठूला-ठूला पुल, हाइड्रोपावर स्टेसन बनाएर सारा जनतालाई उज्यालो दिने तथा ठूला-ठूला विमान उढाएर गन्तव्यमा पुर्याउने जस्ता कामहरूलाई नाक खुम्च्याउँदै प्रभुिकै स्तुति गाउने र पूजा-अर्चना गर्नेहरूलाई मेरो सलाम मात्र छ, अरू केही छैन।
वास्तवमा यो धर्म, ईश्वर र परमात्मा भन्दै बस्नेहरूले एक-अर्कासँग लिने-दिने काम मात्र गरिरहेका छन्। ईश्वर वा गडका नाममा अनेकौँ खर्च गरी मठ-मन्दिर बनाइन्छ, त्यसभित्र भगवान्को सानो मूर्ति राखेर सयौँ-हजारौँ रुपैयाँ चढाइन्छ र बोराका बोरा अकुत मुद्रा कोचिन्छ।
पछि त्यसको के गरिन्छ, थाहा छैन। तर देशमा खान नपाएका लाखौँ निर्धनहरूलाई भोजन गराउने, घर नभएकाहरूलाई बास बनाइदिने, शिक्षाबाट विमुख भएकाहरूलाई शिक्षातर्फ उन्मुख गराउने काममा भने उत्तिकै चासो नराख्ने प्रवृत्ति मानिसहरूमा व्याप्त छ। के मन हो, के सोच हो, के स्वभाव हो थाहा छैन। के त्यस्ताले भगवत् तत्त्वको अनुभव गर्न सक्लान् त? अवश्य सक्दैनन्।
मानिस धर्म-दर्शन मानेर ईश्वरको पूजा-अर्चना गर्दछन्। हरेक जात र जातिको आफ्नै धर्म-दर्शन र देवताहरू छन् र बनाइएका छन्। एकातिर पूजा गर्ने, अर्कोतिर हत्या-हिंसा गर्ने; एकले अर्कालाई मार्ने, युद्ध गर्ने, अरूको नाश गर्ने- यो कस्तो प्रकारको धर्म-दर्शन हो? अझै मेरो मन र मस्तिष्कले ठम्याउन सकेको छैन।
संसारमा भूक्षय हुनु, बाढी आउनु, सुनामी आउनु, हिमपहिरो जानु, हिउँ पग्लेर नदी-खोला बनी बग्नु, पहाड मैदान हुनु, मैदान पहाड बन्नु, त्यसै गरी मानिस जन्मिनु, रोगी हुनु र वृद्ध भएर मर्नु- यो सब तिनै पाँच तत्त्वहरूको मेल, बेमेल, घर्षण र विकर्षणकै परिणाम हो।
यहाँ ईश्वरको कुनै भूमिका छैन। ‘मरे भगवान्ले लगे’, ‘जन्मिए भगवान्कै कृपाले जन्मिए’ भन्नेहरूको यहाँ कमी छैन। मानिसको जन्म मानिसबाटै हुने हो, बीउ अनुसारकै जन्म हुने हो। सुन्तलाको बोटमा भोगटे फल्ने कुरा न सत्ययुगमा थियो, न त्रेतायुगमा, न द्वापरयुगमा थियो भने यो कलि युगमा कसरी हुन्छ? यो असम्भव कुरा हो।
धर्म-दर्शनको संसार बोकेका सत्ययुग, त्रेतायुग र द्वापरयुगमा पनि भयानक युद्ध भएका थिए भने आज कलियुगमा पनि त्यत्तिकै युद्ध लडेर राज्य कब्जा गरिएका छन्। त्यसैले सत्ययुग र कलियुगमा के फरक पर्यो र? केवल समयको मात्र फरक हो।
पहिलेका मानिसहरू शक्तिशाली थिए होला, तर अहिलेका मानिसहरू पनि कम शक्तिशाली छैनन्। अहिंसाका लागि महात्मा गान्धीलाई सम्झनु, देश निर्माणका लागि ली कुआन युलाई सम्झनु, त्याग र तपस्याका लागि नेल्सन मन्डेलालाई सम्झिनु राम्रो होला।
किनकि उनीहरूले गरेका काम र योगदान देवताको भन्दा कम महत्त्वको छैन। आज विश्व कसले बनायो, ठूला-ठूला वैज्ञानिक आविष्कार गरेर संसारलाई कसरी सहयोग गर्यो र आजको संसार कति विकसित अवस्थामा छ, त्यो सबैले मनन गर्नैपर्छ। यस्ता मानिसलाई नचिन्नु, उनीहरूको चर्चा नगर्नु र कुन लोकमा रहेका अमुक देवताहरूलाई रातदिन सम्झेर भजन गाउँदैमा के पाइन्छ, थाहा छैन।
धार्मिक दर्शन पढ्नेहरूले पनि अलौकिक ज्ञानबाहेक अरू केही भेट्टाएका छैनन्। ठूलो सजियसजाउ भएको मानव निर्मित डस्ना र गद्दामा बसेर, स्वचालित तातो-चिसो हावा खाँदै ईश्वरको नाम जपिरहेका पण्डितहरूले, आफूलाई यति सजिलो पारिदिने मानिसहरूको नाम लिन किन हिचकिचाउँछन्? त्यो बुझ्न नसकेकोमा म क्षमाप्रार्थी छु र आफैँ लज्जित छु।
राम नाम जपेर, हरि कीर्तन गाएर, रामनामी ओढेर अनि पैसाको लोभ गर्ने, स्मार्ट घडी र चिल्ला कार-मोटरमा हिँड्ने धर्म-दर्शनका वेत्ताहरूले सधैँ निराकार तत्त्वलाई आफैँले साकार रूप दिएर ‘ईश्वर यस्तो हुन्छ, उस्तो हुन्छ’ भन्दै मानिसहरूलाई प्रलोभनमा पारी झुमाएर प्रवचन दिन्छन्।
तर आखिर रोगव्याधिले सताएपछि तिनै डाक्टरको सहयोग लिन्छन्, खानाका लागि किसानको भर पर्छन्, कपडाका लागि कपडा उत्पादकको साहारा लिन्छन् र बस्नका लागि महल बनाउने कालीगडहरूकै सहायता लिन्छन्। तर पूजा-अर्चना र समर्पण भने फेरि तिनै ईश्वरमाथि गर्छन्! मानिसको यो स्वभाव र चरित्र हेर्दा अचम्मको देखिन्छ।
धर्म-दर्शनले मानिसमा चेतना जगाओस्, भ्रममा नपारोस्, एकाग्र चित्तको विकास गरोस्, कसैबाट ठगी नहोस् र सबै सदाचारमा रहून् भन्ने नै यसको उद्देश्य हो। तर जति धर्म-दर्शनको विकास हुँदै गएको छ, उति मानिस-मानिसमा राग, द्वेष, रिस, ईर्ष्या, घमण्ड, कलह र ठूला युद्धहरूको तीव्र विकास भएको छ।
किन पण्डितहरू आलिशान महलमा बसेर अकुत पैसाको थुप्रोमा बसिरहेका छन्? किन सादा जीवन बिताएका छैनन्? मन्दिरका पुजारीहरू किन महलमा बस्छन्? भागवत भन्ने धार्मिक दार्शनिकहरूले करोडौँ आर्जन गरेर त्यसको थोरै हिस्सा मात्र किन सामाजिक सेवामा लगाउँछन्? आज संसारका सम्पूर्ण मठ-मन्दिरका मठाधीशहरूको रहनसहन हेर्ने हो भने कल्पना सम्म गर्न सकिन्न।
यो धर्म-दर्शनभित्र लुकेको अर्को तीतो वास्तविकता हो भन्दा फरक नपर्ला। अतः ईश्वरको नाममा ठगी खानेहरू यहाँ प्रशस्त छन्। दर्शन आफ्नो ठाउँमा छ, तर धर्मका नाममा सर्वसाधारणलाई सयौँ वर्षदेखि ठगेर आफ्नो जीविकोपार्जन गर्नेहरू सक्रिय छन्। मन्दिरमा जाँदा थोरै पैसा दिने र धेरै पैसा दिनेलाई बेग्लाबेग्लै व्यवहार गरिन्छ। के ईश्वरले धर्म-दर्शनमा यस्तै गर्नु भनेका छन् त? पक्कै छैनन्।
अतः ईश्वर होइन, ईश्वरका नाममा अनेक तन्त्र-मन्त्र र पूजा-अर्चना गरेर दक्षिण-भेटी हात पार्ने र बाँडफाँड गर्ने कर्म भइरहेको यो संसारमा केको ईश्वर र केको ईश्वरको नाम लिनु?
धर्म-दर्शन धेरै पहिलादेखि व्यापारिक सोचबाट विकसित हुँदै गएको देखिन्छ। हिन्दू धर्म-दर्शनमा एकै ईश्वरको मूर्ति लाखौँ ठाउँमा स्थापित गरी, हरेक मन्दिर र मठमा साना-साना मूर्ति राखेर, ठूला-ठूला कलात्मक महल बनाएर सर्वसाधारणले कडा परिश्रम गरी आर्जन गरेको दान-दक्षिणा कहाँ जान्छ, त्यो कसैलाई थाहा छैन।
मन्दिरवरिपरि ईश्वरको भजन गाएर बस्ने तमाम भक्तजनहरूको अवस्था पचासौँ वर्षदेखि जस्ताको तस्तै छ, उनीहरूको जीवनमा कुनै सुधार भएको छैन। जब मठ-मन्दिरमा पैसा कमाउने धन्दा हुन्छ भने त्यसलाई व्यापार नभनेर के भन्ने? नेपालको पशुपतिनाथ र भारतका अनगिन्ती मन्दिरहरूमा संकलन हुने दक्षिणा-भेटी कहाँ जान्छ र कसको हातमा पर्छ, त्यसको अत्तोपत्तो हुँदैन।
पैसा नै सबैथोक हो, जसले मानिसलाई मोहबाट अझ बढी लोभतर्फ ढकेल्छ र यसैबाट धर्म-दर्शनको व्यापार तथा प्रचार हुन्छ। ईश्वर सत्य, अविनाशी र निराकार हुनुहुन्छ भन्ने थाहा पाउँदापाउँदै पनि धर्म-दर्शनका वेत्ताहरूले प्रचार प्रसार गरेर मानिसलाई वास्तविक कर्मबाट किन रोक्छन्? तिनै कुरा पटक-पटक दोहोर्याउँदै मानौँ ईश्वर यतै कतै घुमिरहेका छन् जस्तै गरी प्रवचन दिन्छन्। के यो ईश्वरको नाममा गरिएको निरन्तरको व्यापार होइन र?
क्रिश्चियन धर्म-दर्शनको व्यापार गर्न त्यसैगरी मार्को पाेलाे भारत आएर बाइबलको प्रचार गरे, येशूका बारेमा जनतालाई भुलाएर ठाउँ-ठाउँमा चर्च खोले। आजसम्म संसारभर क्रिश्चियन धर्मको कति प्रचार भएको छ, त्यो सबैलाई थाहा नै छ।
त्यसैगरी इस्लाम धर्म-दर्शनको पनि ठूलो व्यापार चलेको छ। सन्त कबीर नै सबैभन्दा ठूला भगवान् हुन् भन्दै इस्लाम अनुयायीहरू अरू धर्मसँग प्रतिस्पर्धा गर्छन्। त्यस्तै बौद्ध धर्मका अनुयायीहरू पनि यो धर्म फैलाउन संसारभर छरिएका थिए, जसका कारण आज एसियाका दर्जनौँ शहरहरूमा बौद्ध धर्म मानिँदै आएको छ। मुख्य कुरा, यदि ईश्वर निराकार छन् भने मानिसहरू किन जीवनभर उनको रूप दर्शन गर्न लागिपरेका छन्, त्यो मैले बुझ्न सकेको छैन।
‘ध्यान गरेमा भगवान्को दर्शन पाइने’, ‘मन्त्र जपेमा जीवनमा हरेक कुराको सिद्धि हुने’, ‘दिनहुँ पशुपति वा अन्य मन्दिर गए जीवन सफल हुने’ भन्ने भाष्यले धर्म-दर्शनका अनुयायीहरूको मन-मस्तिष्कमा गहिरो छाप पारेको छ। सानातिना कुराले त्यो सोच बदलिनेवाला छैन, किनकि यो दशौँ पुस्तादेखिको क्रियाकलाप र समर्पणको कुरा हो। एकछिन मानौँ, यदि सबै जातजातिका मानिसहरूले धर्मको प्रचारप्रसार नगरी केवल आफ्नो मनबाट मानिआएको ईश्वरलाई सम्झिएर आफू ईश्वरजस्तै बनेर बस्ने हो भने यहाँ अन्य कुनै ईश्वरको जरुरत पर्दैन।
किनकि मानिस नै ईश्वरको रूप हो। मानिसमा यति धेरै शक्ति छ कि उसले आफ्नो दिमागको मात्र ५ प्रतिशत प्रयोग गर्न सक्यो भने पनि आइन्स्टाइन र स्टेफन हकिङजस्ता वैज्ञानिकहरूको जन्म हुन्छ भन्ने प्रमाण जगजाहेर छ। अरू विभिन्न क्षेत्रका वैज्ञानिक, दार्शनिक, साहित्यकार, मूर्तिकार, शिल्पकार, संगीतकार, गीतकार, गायक, कवि र हास्यकलाकारहरू कति जन्मे-जन्मे, त्यसको सीमा छैन।
यदि धर्ममा लाग्ने करोडौँ मानिसहरू यस्ता रचनात्मक कार्यमा लागेर एक-एक ज्ञान हासिल गरी कोही डाक्टर, कोही ठूला इन्जिनियर बने भने संसारले कति सुख पाउला, त्यो भनिसाध्य छैन। तर इतिहासका पाना पल्टाएर पुराना समयका ऋषिमुनिहरूले लेखेका ईश्वरका प्रवचन मात्र गरिरहने हो भने यसले भोलिको संसारलाई के देला, भन्न सकिन्न।
भनिन्छ, “धर्म एक अफिम हो र यो निर्धा-निमुखाहरूको राजा हो”, जसले मानिसलाई ओछ्यानमा सुताएर वृद्धावस्थामा पुर्याउँछ र वास्तविक कर्मबाट टाढा गराउँछ। आखिर मानिसको जन्म भएपछि उसलाई जीवनमा चाहिने अनगिन्ती कुराहरू कसले पुरा गरिदिने? धर्म गर्ने मानिसहरू ‘हरे राम हरे कृष्ण’ भन्दै सधैँ आनन्दले बस्ने अनि तिनका आवश्यकता भने अरूले पूर्ति गरिदिनुपर्ने चरित्र मानिसमाथि मानिसको शोषण भएन र?
धर्म-दर्शनले कसैलाई शोषण नगर्नु भनेको छ। हरेक धर्म-दर्शनले पवित्र प्रेम, दया, करुणा र विवेक जगाउनु भनेको छ। वास्तवमा हरेक धर्म-दर्शनको मुटु नै यही हो, अरू केही बुझ्नु पर्दैन। थोरै कुराबाट पनि मानिसले ठूला-ठूला काम गर्न सक्छन्। हरेक पटक महाभारतका ठेली पल्टाएर करोडौँ रुपैयाँ जम्मा गरी आफू पालिने काम कसैले गर्नुपर्ने आवश्यकता नै छैन।
यसैमा आज ठूलो व्यापार भइरहेको छ। राम नाम जपेर, रामनामी खास्टो ओढेर वा धोती लगाएर कोही धर्मात्मा बन्न सक्दैन। भित्र उसको नियत के छ, त्यो बुझ्नु जरुरी छ। उसले कति सोझा-साझा निमुखाहरूलाई भगवान्का नाममा शोषण गरेको छ भन्ने कुराको ज्ञान हुनु अति आवश्यक छ। भारतमा धर्म-दर्शनका नाममा बदनियत काम गर्ने अनेकौँ प्रसिद्ध बाबाहरू नदेखिएका होइनन्।
यस्ता पाखण्डहरूले फेरि धर्मका ठेली पल्टाएर ईश्वरको नाम स्मरण गराउँदै बस्नु भनेको पाखण्डपनाको सीमा नाघ्नु नै हो। नेपालमा पनि धर्मका नाममा दिवङ्गत पितृहरूको एकैचोटि श्राद्ध गर्ने बहानामा, जुनसुकै जात र कर्मको भए पनि सबैबाट पैसा असुल गरी लाखौँ-करोडौँ रुपैयाँ संकलन गरेर एकैदिन पितृ तार्ने काम भइरहेको छ। यो पनि धर्मको व्यापार हो भन्नुमा कुनै अतिशयोक्ति नहोला।
भनिन्छ, भगवानलाई केही चाहिँदैन, सब उनकै सृष्टि हो। मुख्य कुरा भगवानले चाहने भनेको समर्पण, सच्चा प्रेम, सच्चा आदर र सच्चा भक्ति मात्र हो। यसैबाट त्यो शक्ति प्रफुल्ल हुन्छ, यसमा कुनै सन्देह छैन।
ईश्वर प्रचार र प्रवचन चाहँदैनन्, केवल भक्तिभाव र समर्पण चाहन्छन्। तर सम्पूर्ण धार्मिक मानिसहरू यसलाई सकेसम्म प्रचार-प्रसार गरेर जनतालाई भुलाई आफ्नो पकडमा ल्याउन र आफ्ना संस्था बलियो बनाउनमै व्यस्त देखिन्छन्।
निष्कर्ष
आजका मानिसहरूले जीवनमा धेरै सङ्घर्ष गर्नुपरिरहेको छ। हरेक समयमा अनेकौँ आपत्-विपत्को सामना गर्नुपरिरहेको छ। संसारका ८ अरब मानिसहरूमा खान, लाउन र राम्रोसँग बस्न नपाउने करिब ६ अरब मानिसहरू छन् भने तिनलाई कसरी माथि उठाउने भन्ने जिज्ञासा सबैमा हुनुपर्छ।
मानिसहरूले खान, लाउन र बस्नै नपाउने हो भने सारा धर्म र धर्म-दर्शनको के औचित्य रहन्छ र? कोही दिनको चार छाक खाने, महलमा बस्ने, रेशमी लुगा लगाउने अनि कोही भने भोक, रोग र बासका लागि छटपटाइरहने- यो युगौँदेखिको अभ्यासलाई कसरी परिवर्तन गर्ने, मानवताको जोस र जाँगर कसरी जगाउने र संसारका सबै मानिसको गाँस, बास र कपास कसरी सुनिश्चित गर्ने भन्ने कुरामा सबै लाग्नुपर्छ। यही हो धर्म-दर्शनको मूल कर्म र काम।
धर्म-दर्शनको प्रचारबाजी गर्दैमा मानिस सोझै स्वर्ग जाने होइन। गर्न सके स्वर्ग यहीँ छ र ईश्वर यहीँ कतै छमछम नाचेर रमाउने गर्छन्।
नभए प्रकृतिमा आउने भयंकर आपत्-विपत् र संसारमा भइरहेका युद्ध तथा कलहले थरथर काँपिरहेका बालबालिका, युवा, वयस्क र वृद्ध मानिसहरूको मनमा कसरी शान्ति ल्याउने भन्ने कुरामा सम्पूर्ण धर्मावलम्बीहरू लाग्नुपर्ने बेला आएको छ।
जे गर्नुछ, आजै र अहिले गरौँ। भोलि मरेर गएपछि के धर्म, के पाप? कसले के देखेको छ र भोगेको छ र? धर्मका नाममा दिनहुँ ढोल पिट्नुभन्दा यो कर्ममा सबै लागे के धर्मको आफैँ रक्षा हुँदैन र? अवश्य हुन्छ। संसारमा सबैभन्दा उच्च कोटिको धर्म भनेकै मानवता र परोपकार हो, अरू सब बेकार र ढोंग मात्र हुन्।
दर्शन र ईश्वर भक्तिले खान, लाउन र बस्न दिँदैन। अहिलेका लागि कर्म नगरी खाली ‘ईश्वर, ईश्वर’ भन्दै नाम रट्दैमा र भजन-कीर्तन गर्दैमा दैनिक आवश्यकता कदापि पूरा हुन सक्दैन। अकर्मण्य बनिरहे पाप र दुख यही जन्ममा आइपर्छ। पाप र धर्म भोग्ने यही धर्ती नै हो, अन्त्य कतै छैन।
छ भने त्यो आध्यात्मिक दर्शनको कपोलकल्पित कुरा मात्र हो। अतः परलोकको चिन्ता नगरी यही लोकलाई कसरी स्वर्गलोक बनाउने र यही लोकका मानिसहरूलाई देवी-देवता कसरी बनाउने, त्यतातर्फ लागौँ। यसैबाट हामी स्वर्ग र देवता वा भगवान्, जे भने पनि भेट्टाउनेछौँ।
No ads found for this position



Facebook Comment