कविता : श्रापित भोटेकोशी

प्रकाशचन्द्र खतिवडा
३ असोज २०८३ ७:३७

त्रिशूली बगर बिलौना गाउँछ

लासहरूको सनाखत नभएपछि

(भाद्र १०, २०८३)

पाठशालाका ढोका खुल्न नपाउँदै

भोटेकोशी अबोध नानीहरूको सपना लुट्छ

शहरहरू बगर बनाएर

भवनका भग्नावशेष मात्रै छाडी

सडकहरू टुक्राएर

मान्छेको भविष्य कुल्चँदै

भोटेकोशी उग्रता देखाउँछ।

बगाएर लग्यो हजारौँ सपनाहरू

निभाएर गयो चेतनाका दीपहरु

ढालीदियो भरोसाका पर्खालहरू

क्षणभरमै बगे खुसीका आवाजहरू

मानवता रोइरह्यो

क्षणभरमै लुटिए भविष्यका गीतहरू।

पहाडको छाती चिथोर्दै

सुरुङहरू ध्वस्त पारी

मान्छेहरूलाई सुरुङभित्रै बन्धक बनाई

बस्तीभित्र ब्युँझँदै गरेका सपनाहरू लुटेर

भात पकाउँदै गरेका गृहिणीहरूको

कार्यालयको पोसाक मिलाउँदै गरेका कर्मचारीहरूको

घण्टी बजाउन ठिक्क परेका विद्यालयका पालेहरूको

सौदा गर्न पसलमा भेला भएका ग्राहकहरूको

बस हाँकिरहेका चालकहरूको

जिन्दगी माटोमा मिलाएपछि,

भोटेकोशी!

तेरो शान्त रूप हेर्नु छैन

इतिहास बगाइस्

सभ्यता बगाइस्

सिमाना बगाइस्

बगाइस् पुल-पुलेसा

बगाइस् खेत-खलिहान

तेरो उदण्डता सह्य छैन

बेत्रावतीको प्रश्न छ—

भोटेकोशी, लासको खेती कहिलेसम्म?

भग्नावशेषभित्रको आर्तनाद

बाढीमा हेलिँदै गरेका जिउँदा लास

आफ्नै आँखाअगाडि खोसिएका बालक

सपना हो या बिपना

मुर्छित समय बोकेर

आमाहरू एकतमासले चिच्याइरहेछन्।

दुःखेको मन छ

रोएर आँसु बगेको छ

तिम्रो दुःखमा साथ दिन आउन नसक्दा

बेचैनी बढेको छ

श्रद्धाञ्जली, समवेदना र सहानुभूति प्रकट गरेकै छु

प्रिय मान्छे,

दुःखमा लाउने मलहम पठाएको छु

चर्किएको घाउ अलि बिसेक होला

मन बुझाउनुको विकल्प छैन

समय मिलाएर दुःखेसो सुन्न आउँला

मझेरीमा बसेर जिन्दगीको सुख-दुःख साट्नलाई।

कालान्तरमा

बस्तीको हिलो सुक्ला

ढलेका घर पुनः उठ्लान्

बैँस वा बगैँचामा पुनः फूल फुल्लान्

सडक र पुल पुनः बन्लान्

यद्यपि, भोटेकोशीले चिरा-चिरा बनाएको मान्छेको मनमा

हाँसोको फूल कहिले फुल्ला?

ओ भगवान्! (यदि छौ भने)

भोटेकोशीलाई मृत्युको श्राप देऊ

पुनः ताण्डव नमच्चाउने गरी।

सुन्दरहरैँचा-६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *