पवित्रा अधिकारीको कथाकारिता: विनिर्माण हुँदै पुनर्निर्माणतिर
हालसालै पवित्रा अधिकारीका केही कथा पढ्ने सुअवसर मैले जुटाएँ। साहित्यिक सामर्थ्यको सूक्ष्म उन्मीलन भएका तिनका कथाहरूले मलाई निकै प्रभावित पारे।
संरचनावाद र उत्तरसंरचनावादको उदय हुनुभन्दा पहिला आधुनिक साहित्य चिन्तनमा कलात्मक भाषा बोलचालको, शास्त्रको र विज्ञानको भाषाभन्दा पृथक् हुनुपर्छ भन्ने मान्यता रुसी तथा अमेरिकी रूपवादीहरूले स्थापित गरे। पूर्वका आचार्य भामहले छैटौँ शताब्दीमा नै यही कुरा भनिसकेका थिए।
साहित्यिक भाषालाई अन्य भाषाबाट पृथक् गर्ने उपाय हो- अविदितीकरण (अपरिचितीकरण), जसलाई पूर्वमा अलङ्कृत भाषा भनियो।
पवित्रा अधिकारी आफ्ना कथाहरूमा अविदितीकृत (अलङ्कृत) डिस्कोर्सको सघन उपयोग गर्छिन् र हामीलाई आश्चर्यचकित पार्छिन्। यदि कतै साहित्यिक प्रशिक्षण दिइन्छ भने त्यहाँ पवित्राजीका रचनाको उपेक्षा हुनुहुँदैन।
विषयको छनोट, विषयको सुहाउँदो विस्तार, पात्रहरूको चयन र तिनीहरूका कृत्यको निरूपण पनि आकर्षण जगाउने किसिमले गरिएको हुनुपर्छ।
यस्तो योजनालाई सफलतातिर डोर्याउँछ- अविदितीकरणले, जसलाई अनुप्रास, उपमा, रूपक, मानवीकरण, रस आदिले तीव्रता दिन्छन् भने विरोध, विडम्बना, सुखानुभव र दुःखानुभवहरूले घनीभूत पार्छन्। संक्षेपमा भन्ने हो भने साहित्यको चम्किलो शक्ति रूपक हो।
पवित्राजीद्वारा लिखित शान्त रसको एक कथा छ- ‘घाम भइन्’ भन्ने। यो शीर्षक संघननको प्रविधिमा निर्मित रूपकातिशयोक्ति हो। पश्चिमाहरू उपमालाई रूपककै एक अंग मान्छन्।
यता पूर्वले भने रूपक र रूपकातिशयोक्तिलाई उपमाको संंघनन मान्दछ। लक्षणाको खास रूप यो भन्न सकिन्छ कि उपमा सहसंयोजन हो भने रूपक संघनन हो। ‘घाम भइन्’ कथाका दुई स्थलमा ‘ॐ’ लेखिएको उल्लेख छ। प्राच्य संस्कृतिमा ‘ॐ’ सङ्घननको उत्कृष्ट रूप हो, जहाँ ब्रह्मा, विष्णु र महेश्वर गाँसिएका छन्।
कथामा पापा दिदीका र बालिकाका विरोधी अनुभूतिहरू गाँसिएका छन्। सङ्घनन उम्रँदा, विस्थापन वा विचलन जागृत हुँदा, प्रतीकीकरण प्रस्फुटित हुँदा, नाटकीकरण बिउँझँदा र अलङ्कारले सुशोभित हुँदा भाषा सौन्दर्यको तहमा प्रवेश गर्छ भन्ने बुझेर लेखिकाको कलम चलायमान भएको अनुमान हुन्छ।
मलाई पवित्राजीका तीन कथा निकै राम्रा लागे- ‘ओझेल’, ‘अन्त्यपछि’ र ‘घाम भइन्’। ‘घाम भइन्’ मा पापा दिदीको चरित्र र व्यक्तित्वको निरूपण लेखिकाकै बालअनुभव र बुबाको भनाइका आधारमा गरिएको हो।
बालअनुभव धेरै पछि मात्र रूपायित हुन्छ; यसकारण कथाले कालको लामो अन्तराल ग्रहण गर्छ। जब कि बुबाको भनाइमा कालका साथै स्थानको दूरी रहेको छ। बालअनुभवका साथ बुबाको भनाइ ‘डिप स्ट्रक्चर’ अर्थात् ‘हिस्टायर/हिस्ट्री’ वा ‘फेबुला’ मा पर्दछ भने दोस्रो वा निष्पन्न तह ‘डिस्कोर्स’ वा ‘सुजेट’ मा राखिन्छ।
पहिलो तहको अनुकरण दोस्रो वा निष्पन्न तह हुने भएपछि सत्य कुन तहमा विराजमान हुन्छ भन्न कठिन छ। के हामी नक्कलमा वा असत्यमा बाँचिरहेका छैनौँ? के साहित्यले असत्यलाई सत्यमा परिणत गर्छ?
रूपवादीहरू भेद वा भिन्नताका आधारमा कृतिगत साहित्यिकता र कलात्मकताको निरूपण गर्छन्। गद्य लेखन बोलचालको पनि नजिक हुने भएकाले रूपवादीहरू त्यसको विवेचना गर्दा भेदका अतिरिक्त कार्यको विवेचनालाई पनि समावेश गर्छन्।
कथा वा उपन्यासहरू भौतिक सुविधा प्राप्तिका लागि लेखिँदैनन् र पढिँदैनन्; तिनको काम आत्मिक प्रसन्नताको प्रसारण गर्नु हो। लोकमा रहेर पनि लोकोत्तर जीवन बाँच्ने चेष्टा आध्यात्मिक मनुष्यमा देखिन्छ। त्यस्तै मनुष्यको श्रेणीमा पर्छिन्- पापा दिदी।
तिनको लोकोत्तर जीवन कस्तो छ? तिनको गलामा तुलसीको माला छ, रुद्राक्षको मालाले हातमा खेल्दै जपको गणना गर्छ, ध्यानमा लामो समय बित्दछ। बालविधवा तिनी माइती नजिकै सानो एककोठे घरमा बस्छिन्।
सानो आँगनको सौन्दर्यलाई फूलैफूलले बढाएका छन्। घर सफा, सुग्घर र शुद्ध छ; कोठामा अखण्ड दीप बलिरहन्छ; भरिएको कलशमा टनमन्न फूल छ। सफा तस्वीरका ईश्वर मालाले मुस्काएका छन्। तिनी झोलाको पापा र थालीको प्रसाद बालकहरूलाई दिन्छिन्।
यसैले बालभाषामा तिनी ‘पापा दिदी’ कहलाइन्। तीर्थबाट फर्कँदा तिनी एउटा धार्मिक डाँडाको उकालो लागिन् र माथि पुगेपछि घाममा परिणत भइन्। हाम्रो संस्कृतिले तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोतिर उक्लने शिक्षण दिन्छ। इटालियन कवि दाँतेको ‘दैवी सुखासन्तिका’ मा शोधन पर्वत छ, जसमा चढिसकेपछि प्रकाशपुञ्जका रूपमा भगवान्को साक्षात्कार हुन्छ। उज्यालो पूर्व वा पश्चिम, कुनै एउटाको मात्र पेवा होइन।
कथाभित्रैबाट पनि लोकोत्तर जीवनलाई लौकिक जीवनबाट अलग्याइएको छ। सांसारिक वा लौकिक मानिसहरू असन्तुष्ट, ईर्ष्यालु र साँघुरा हुन्छन्; जसलाई सधैँ अतृप्तिले सताइरहन्छ, जो कहिल्यै पुग्यो भन्दैनन् र पापा दिदीजस्ताको कुरा काटेर रमाउँछन्।
अतृप्त ठूलाबाडा भालेहरू बाटामा तिनलाई धकेल्दै हिँड्छन्। आँखाबाट झरेका आँसुले तिनी आफ्नै रेशमी कपडामा ‘ॐ’ लेख्छिन्, जसलाई बालिकाले दोहोर्याउँछे।
दिदीले दिएका छोडा, मिस्री र नरिवलको भौतिक पापालाई विस्थापनको पद्धतिद्वारा शाश्वत पापामा परिणति दिएर कथा टुङ्ग्याइएको छ।
कथा वा उपन्यासको रचना गर्दा लेखकले केही कुरालाई पन्छाउँछ, दबाउँछ र केही कुरालाई अग्रभूमिमा ल्याएर कलाको टुनाद्वारा मीठो भ्रमको रचना गर्दछ। ‘घाम भइन्’ नामक टेक्स्टले कयौँ कुरालाई अचेतनमा धकेलेर आफ्नो मुहारको प्रदर्शन गर्दछ।
पापा दिदीको भौतिक आयस्रोत के हो, तिनको सानो घरमा चुलो बल्छ कि बल्दैन, तिनको खानपानको व्यवस्था कसरी जुटाइएको छ, शुभकार्यमा तिनलाई अशुभ मान्ने समाजले अरू कार्यमा समावेश गर्छ कि गर्दैन, र सार्वजनिक जीवनमा तिनको संलग्नता के-कति छ जस्ता कुरा अज्ञात छन्।
तिनको अन्तिम जीवनलाई रहस्यमय पारेर चिता, चिन्ता र अन्त्येष्टिबाट मुक्त भएका बुबा आश्चर्य र प्रसन्नतामा कर्तव्यबाट पन्छिएका छन्।
बाबा र महात्माहरूले धर्मलाई यौनतृप्तिको आवरण पनि बनाएका छन्; जस्तै- ‘त्यो कुटीको बाबा’। ऊ खेलौना पुतलीसँग रमेर भौतिक तृप्ति हासिल गर्दछ। कोठी चलाएर बसेकी ‘ओछ्यान’ का सुन्तलीहरूले पनि अन्ततः धर्मको सहारा लिएका छन्।
‘बदलिएको कर्मभाव’ को मजदुरलाई राम/मरा नामले अन्त्यकाल सहज बनाइदिएको छ। मार्क्सवादको आड लिइँदो हो त साहू-मजदुरहरूको घेराबन्दीमा फस्दो हो। अस्तित्ववाद साथमा हुँदो हो त मजदुर मजदुरबाट दार्शनिक बन्दो हो र दुर्नियतिको चिन्तनमा घोरिँदो हो।
जीवनभर शोषण गर्ने ठगको पैसा फिर्ता गरेर एउटा मजदुरले उसको पोल खोलिदिएको छ र यस संसारबाट बिदा लिएको छ। ‘दुलही’ र ‘निम्तो’ मा पनि पुतलीको प्रतीक आएको छ, जो मनोविश्लेषणको औजार हो।
कुटीको जोगीलाई पुतली चाहिँदैनथ्यो; उसलाई आफूसमक्ष समर्पित हुने महिलाहरू नै उपलब्ध हुन्थे। अहिले त यौनसाधनाका वैज्ञानिक उपकरणहरू नै दुर्लभ छैनन्। शैशवमा पुतलीसँग खेलेकी लेखिकालाई मनोविश्लेषणतिर लैजान त्यही प्रतीक सुलभ भयो।
मजदुरलाई परिवारबाट नाङ्गेझार बनाइएको छ अर्थात् एक्ल्याइएको छ। ऊ एक्लो छ, दिनभर मजदुरी गर्छ तर पनि भोको छ। कसरी? उत्तर छैन। सुन्तलीहरूलाई रामनामी ओढ्नेतिर लैजानुभन्दा गृहस्थ जीवनतिर तानिदिएको भए बेश हुँदो हो।
‘सिमेन्टको घर’ ले क्रिश्चियन धर्म र त्यसका प्रचारकहरूको खोक्रोपनालाई त उदङ्ग्यायो, तर विद्रोहको भाव खोजिएन; किनभने त्यस कथाकी आमा साह्रै निरीह छिन्। पवित्रा अधिकारीको कथाकारिता ज्यादाजसो निरीह पात्रहरूमा मौलाएको छ।
तर तिनले ‘विद्रोह’ कथाको रचना गरेर विद्रोहको विषयमा पनि लेखिछाडिन्; जसलाई सही विद्रोह भन्न हामीलाई अप्ठ्यारो लाग्छ। लोग्नेबाट सन्तान नहुने भएपछि स्वास्नीले बाहिर देख्दा अत्यन्त घिनलाग्दो र फोहरी, मनस्तलमा लठेब्रो वा लाटो भरियाबाट बीज तान्छे र सन्तानवती हुन्छे; जसमा न प्रजनन विज्ञान, न त स्वास्थ्य विज्ञानकै समर्थन जुटाउन सकिन्छ।
अर्को मान्छेबाट रगत, आँखा, मिर्गौला आदि अङ्ग लिन मिल्छ भने वीर्य लिन किन नमिल्नु भन्ने तर्कशास्त्र आफैँमा गलत छ। कहाँ वीर्य ग्रहण, कहाँ अरू अङ्ग-उपाङ्गहरूको प्राप्ति! ‘डर्टी रियालिजम’ जो ‘मिनिमलिजम’ कै एक रूप हो, जसले उत्तर-लेखनमा पनि स्थान बनाएको छ; जसका कडा र खरा बिम्बहरूले कोक्याउँदै हामीलाई रन्थन्याउँछन्। त्यसले नयाँ पुस्ताकी लेखिकालाई लोभ्याए जस्तो छ।
पवित्राले कमारी प्रथामा कमारीहरू पुरुषको भोगका साधन मात्र हुन्थे भन्ने प्रष्ट्याउन ‘नचिनेको पुरुष’ लेखिन्। ‘मनुवा तेरो लोभ’ मा दरबारभित्र केटीहरू पाहुनाकहाँ पठाइन्थे र गर्भवती भएमा ज्यामी तथा भरियाहरूलाई जिम्मा लगाइन्थ्यो भन्ने खुलाइन्।
‘ओझेल’ पण्डितको कान्छा छोराको कथा हो। संस्कृत श्लोक कण्ठ पार्न नसक्दा रगताम्य पारेर पशु भन्दै गोठमा लगी बुढाले चुट्नुसम्म चुत्यो। बल्लतल्ल फुत्केपछि ऊ हरायो र कयौँ वर्षपछि साधुको भेसमा फर्क्यो।
त्यहाँ उसले आफ्नो न घर देख्यो, न परिवार। ठाउँ उही हो तर सब परिवर्तित! उस बखत दुलही तरुनी हुँदै थिई, जससँग ऊ खेल्थ्यो; जसले त्यसै क्रममा एउटा वृक्षलाई अञ्जुलीभरि पानी दिएकी थिई; जसका पातहरूले अहिले उसकै कथा भनेझैँ लाग्यो।
सानी दुलही ढुंगाबाट आत्तिएर उठेकी थिई, साधुले रगत पखालिदिएको थियो; जुन रगत खोलाको पानीसँगै बगेर गयो र तिनीहरूको भविष्य पनि त्यसै गरी हरायो।
संस्कृत शिक्षाको अपर्याप्तता, अङ्ग्रेजी शिक्षाप्रति बढ्दो चाख, समयले ल्याएको पृथकता, ऋतु परिवर्तनका साथ वनस्पति र नारीमा मडारिने अवचेतनिक सिर्जनाको उन्माद तथा प्राकृतिक बिम्बहरूको खातैखातले पवित्राका कथा तरङ्गित भएका छन्।
हामीलाई यस्तो लाग्छ कि लेखिकाले साधुको जीवनमाथि खेलबाड गरिन्; उसलाई टाढा पुर्याइन् र जीवनसाथीको अभावले पीडित भएर सानी दुलही मरी। धेरै वर्षपछि फर्काएर नैराश्यमा उसलाई फसाइन्।
सत्य यो हो कि कलालाई स्थूल यथार्थ र कडा बौद्धिकताको दबाब अस्वीकार्य छ। तिनीहरूको हलुका स्पर्श लिएर विकसित गरिएका कथाहरू कलाको जीवन्त छविले समृद्ध छन्। गाउँले वृद्ध अभिज्ञानले बाहिर निस्कन्छन् तर साधु अलप हुन्छ। सूक्ष्म त्रासद अनुभूतिमा पाठकहरूलाई समायोजित गरिएको छ।
धनी जीवनमा भन्दा साधारण गाउँले जीवनका पति-पत्नीमा गाढा प्रेम हुन्छ भन्ने मान्यता लेखिकाका कतिपय कथाले प्रमाणित गरिदिएका छन्। ‘मेटिएको अङ्क’ मा पनि सानी दुलही आएकी छे; जसको आँसु दुलहा हुँदा उसले दौराको फेरले पुछिदिएको थियो। गणितको प्रयोगले कथा नयाँ भएको छ।
‘अन्त्यपछि’ जवानीमा ठूलो सङ्घर्ष गरेर घरव्यवहार मिलाएका एक जोडीको कथा हो। दुई छोरामा उम्रेको सम्पत्तिको कडा लोभले बूढाबूढी पनि भागबन्डामा पर्छन्। कान्छाको भागमा घिच्याउँदै बूढीलाई डाँडाको घरमा लगिन्छ भने बूढा बेँसीकै घरमा राखिन्छन्।
नदीको वारपारका चखेवा-चखेवीझैँ दुवैका बीच हेराहेर हुन्छ, भेटघाट हुँदैन। यो दृश्य साह्रै नाटकीय छ। छोरा-बुहारीको क्रूरताबाट उम्कन बूढा लट्ठी तयार पार्छन् र सुटुक्क बूढीलाई लिएर कतै भाग्ने कल्पना गर्छन्।
घामले भर्खर कलिलो प्रकाश छर्दै थियो, बूढाले मान्छेको एउटा लर्को आफूतिरै आइरहेको देखे; जसले मृत वृद्धाको लास बोकेर ल्याएको थियो र जसको अनुहार दुलहीको जस्तै राताम्य थियो। तिनलाई शोक र करुणाका आँसुद्वारा वृद्धले बिदाइ दिए।
यो एक श्रेष्ठ त्रासद कथा हो। ‘जुठो लाग्दैन’ भन्ने कथा उसै किसिमले त्रासद हुन गएको छ। जेठी स्वास्नीको लासमा टेकेर अर्की स्वास्नी लिन जाने केटाको उल्लासमा हामीलाई घृणाको अनुभूति हुन्छ, न कि उल्लासको। ‘जुठो लाग्दैन’ भन्ने परम्पराप्रति हामीमा कटु व्यङ्ग्यभाव उत्पन्न हुन्छ, न कि श्रद्धाभाव।
धन कमाएपछि महिला कति घमन्डी हुन्छे भन्ने बुझ्न हामी ‘दूधवाली’ कथा पढ्दछौँ।
पवित्राको नजर छेउछाउका र कुनाकाप्चाका नरनारीमा पर्दछ। सीमान्तीकृत, निम्सरा र पिछडिएका मानिसलाई लिएर तिनले राम्रा कथा लेखेकी छन्। आधुनिक जीवनको चित्रणतिर तिनको उस्तो रुचि देखिँदैन। सूचना प्रविधिले निर्देशित समसामयिक जीवनलाई खोतल्ने काम पनि बाँकी नै छ।
धर्मका साथ नैतिकताको कुरा पनि हामी गर्ने गर्छौँ। ‘सेवक’ को पात्र उपकारमा संलग्न नैतिक पात्र हो। उपकृतहरूले उपकारको मर्म नबुझिदिँदा उसको मनमा अर्को चोट छ, तर पनि उपकारबाट कुनै आशा राख्नु हुँदैन भन्ने नैतिक मर्मसँग ऊ अभिज्ञ छ।
धुम्मेलाई तिनले उपकारी व्यक्तिका रूपमा चित्रित गरिन्। कतै-कतै पितृसत्ताको दुष्प्रभाव चित्रित छ भने कतै जातिवादको बन्देजले उत्पन्न परिणाम पनि। मानिस कामेच्छापूर्तिको निम्ति अनेक उपाय खोज्दछ भन्ने तिनको मान्यता छ। पुतलीको प्रतीकलाई तिनले यताउता अग्रभूमिमा ल्याएकी छन्।
पाखामा परेका र किनारीकृतहरूलाई मात्र लिएर आजको जटिल जीवन बोधगम्य हुँदैन। नेपालमा आधुनिकताको अरुणोदय हुँदा लोग्ने-स्वास्नीको झगडा ‘परालको आगो’ सम्म गएको थियो।
पछिल्लो पुँजीवादी युगमा त्यसको विनिर्माण हुन्छ र लोग्ने-स्वास्नीको झगडा परालको आगो नभएर भीषण भुङ्ग्रामा परिणत हुन्छ। जतिसुकै विकसित भए पनि पितृसत्ताको पुरुषमा नारीलाई दबाउने पुरातन मानसिकता सुषुप्त हुन्छ।
आधुनिकता वा पराआधुनिकतामा पुगेर जीवनका महत्त्वाकांक्षाहरूले सुसज्जित भएकी पत्नी त्यस्तो पुरुषसँग सम्झौता गर्न सक्तिन। अनपढ, मैलो र गरिबी झल्कने एक जोडीको खँदिलो प्रेमलाई देख्दा सम्बन्धविच्छेदमा पुगेका दम्पतीको अहम् चकनाचुर हुन्छ।
अनि त्यसबाट कथाले हामीलाई विनिर्माण हुँदै पुनर्निर्माणको सम्भावना खोज्न आह्वान गर्छ र आजको उत्तर-युगमा दाम्पत्य जीवनका शक्ति र सीमा केलाउन प्रबल घच्घच्याइदिन्छ।
ती अनपढजस्ता दम्पती कस्ता छन्, रूपकको भाषा बोल्छ- “मानौँ एक फूल भए अर्को रस, एक सुन्दरता थियो भने अर्को सुगन्ध। उनीहरू एउटै जीवनयात्राको एउटै वृक्षमा बेरिएका थिए।”
दुर्घटनामा पर्दा पनि केटो स्वास्नीको हात बेसरी समाउँछ, छाड्दैन। कति गाढा प्रेम!
‘छिमेकी बा’ रूपकमा उसै गरी बोल्छ- “उनको गृहस्थीको वृक्षमा पनि सम्बन्धका धेरै हाँगाहरू पलाए, फले-फुले र कयौँ पातहरू सुकेर झरे…।” उही कथा उपमामा बोल्छ- “निष्ठुरी सन्तानहरू पखेटा पलाएको पन्छीझैँ कता उडे कता?”
ज्यादाजसो अलङ्कारहरू सङ्घनन हुन्, जो भिन्न अवयवलाई एकै ठाउँमा ल्याएर जोड्छन्। अलङ्कारहरू बौद्धिक मात्र हुँदैनन्, अचेतनको स्रोतबाट पनि निस्कन्छन् र अतृप्त इच्छाको पूर्तिमा सहायक हुन्छन्।
जुलिया क्रिस्टेवाले सेमियोटिकको अवधारणा ल्याएकी थिइन्, जो सिम्बोलिकको विपरीतमा मातृगत ऊर्जालाई रूपायित गर्दछ। मलार्मेहरूको जटिल कवितालाई लक्षित गर्दै निर्मित तिनको मान्यताले नेपालीका पवित्रा अधिकारीजस्ताका गद्यलेखनहरू समेतलाई छुन खोज्दछ।
‘आमाको मन सन्तानमाथि, सन्तानको मन ढुंगामुढामाथि’ भनेझैँ ‘ओथारो’ कथाले बच्चा र आमाको मनको अन्तर खोल्दछ। भूल, स्थितिविपर्यय र अभिज्ञानको त्रासद प्रविधि अपनाएर लेखिएको ‘छिमेकी बा’ एक प्रकारको कथा हो भने ‘मेटिएको अंक’ अर्को प्रकारको।
विरोध र विडम्बना यत्रतत्र उपलब्ध हुन्छन्। अप्रसिद्ध वर्गका लाटा, लठेब्रा, भट्टिनी, कमारी, मूर्ख पण्डित, कामुक जोगी, परित्यक्ता केटी, ढोङ्गी, अत्याचारी, ठग, सज्जन, साधु, दाजु-भाउजूले हेला गरिएकी केटी आदि पवित्राका कथाका पात्र हुन्।
तिनका कथा यस कारण जीवन्त छन् कि ती अविदितीकृत माध्यममा बोल्दछन् र हामीलाई स्तब्ध पार्छन्। पवित्राका कृति पढ्दा यस्तो प्रतीत हुन्छ कि साहित्यिकता, कलात्मकता तथा सौन्दर्य उमार्ने शक्ति अब नारी लेखकहरूले आफ्नो हातमा लिए।
सम्पर्क: ५-३७३९७८, ९८४३६२७६११
छाउनी, काठमाडौँ
No ads found for this position



Facebook Comment