लघुकथा: उत्साह

प्रकाशचन्द्र खतिवडा
२७ भदौ २०८३ ८:१०

“शिखा कमरेड! नारी मुक्तिका कुरा गर्न जति सहज छ, नारीहरूलाई आन्दोलनमा समेट्न भने फलामको चिउरा चपाए जस्तै भइरहेको छ। उनीहरूलाई पारिवारिक बन्धनबाट मुक्त गराउनु त आकाशको तारा खसाउनु जस्तै रहेछ। सामाजिक बन्धन क्रान्तिको बाधक बन्ने नै भयो। पितृसत्तात्मक सोचलाई चिहानमा नहालेसम्म नारी मुक्तिको कुरा नारामा मात्रै सीमित हुने रहेछ,” आस्थाले आफ्नो दृष्टिकोण प्रस्तुत गरी।

“आस्था कमरेड! वर्गीय आन्दोलनको उत्कृष्ट बिन्दु टेक्नका लागि नारी मुक्ति आन्दोलन अपरिहार्य हुन्छ। लैङ्गिक हिंसाले थलिएको कमजोर मानसिकताबाट माथि उठाउन साक्षरता अभियान चलाउँदै राजनैतिक प्रशिक्षण दिनुपर्ने हुन्छ। नारी आफैँमा कमजोर वस्तु होइनन्। उनीहरूलाई अवसर नै नदिई क्षमताबाट वञ्चित गर्ने प्रतिक्रियावादी सत्ता नै नारी आन्दोलनको बाधक तत्त्व हो। अतः प्रतिक्रियावादी सत्ताविरुद्धको आन्दोलनमा नारी र पुरुषको समान सहभागिता हुन जरुरी छ,” शिखाले आफ्नो तर्क राखी।

शिखा र आस्था पार्टीको महिला फाँट इन्चार्ज र सह-इन्चार्ज हुन्। अनेमसंघमा संगठित हुन उत्प्रेरित गर्दै नारीका समस्या हल गर्ने विधि र पद्धति निर्माण गरी सैद्धान्तिक रूपमा उनीहरूको मनोबल उँचो बनाउने दिशामा शिखा र आस्था केन्द्रित छन्।

शिखा र आस्था पूर्णकालीन महिला नेतृ हुन्। उनीहरूले आफ्नो जीवनशैलीलाई सर्वहाराकृत दिशामा रूपान्तरण गर्दै तल्लो तहसम्मका महिलाहरूलाई सर्वहाराकृत हुन प्रशिक्षित गरिरहेका छन्।

क्रान्तिप्रतिको वफादारिता र संलग्नतालाई अनिवार्य शर्तका रूपमा अवलम्बन गर्न उनीहरू उत्प्रेरकको भूमिका निर्वाह गरिरहेका छन्। अनेमसंघ गठन तथा पुनर्गठन भई क्रान्तिको आधार निर्माण हुनु शिखा र आस्थाको संयोजनकारी भूमिकाकै यथार्थ उपज हो।

क्रान्तिमा समर्पित शिखा र आस्थामा हीनताबोध अलिकति पनि देखिँदैन।

सुन्दरहरैँचा – ६, दुलारी, मोरङ

इमेल: [email protected]


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *