पोखरामा कात्तिक १८ देखि राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने
काठमाडौं । पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा देशभरका ४३ जना जुनियर खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा ८ देखि १८ वर्षमुनिका बालक तथा बालिकाले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहमा सिङ्गल्स तथा डबल्स विधाका खेल सञ्चालन हुनेछन् । प्रतियोगिताका विजेतालाई आकर्षक उपहार प्रदान गरिनेछ ।
राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडीको पहिचान गर्नुका साथै टेनिस खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए ।
गण्डकी प्रदेश टेनिस सङ्घले स्थापनाकालदेखि नै जुनियर खेलाडीको प्रशिक्षण र उत्पादनलाई प्राथमिकतामा राख्दै आएको छ । सङ्घका अनुसार तीन वर्षको अवधिमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन् । केही खेलाडीले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
सङ्घले जुनियर टेनिस प्रशिक्षणलाई व्यवस्थित बनाउँदै विभिन्न विद्यालयमा पनि प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्रतिभावान् बालबालिकाको पहिचान, गुणस्तरीय प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसर प्रदान गरी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको सङ्घका अध्यक्ष विनोद कायस्थले बताए ।
पोखरालाई टेनिस खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न प्रतियोगिताले सहयोग पुर्याउने विश्वास आयोजकको छ । यसबाट नयाँ प्रतिभाको पहिचान र खेलाडीको क्षमता विकासमा समेत टेवा पुग्ने अध्यक्ष कायस्थले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजन ट्रयाङक्युलिटी स्पाले गरेको छ । आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रतियोगिताले जुनियर खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्दै राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment