श्रीराधाष्टमी व्रत माहात्म्य
“गौरक्षा हिन्दुत्वको आत्मा हो।”
-ब्रह्मर्षि श्री देवरिया (देवरहा) बाबाजी
“गावो विश्वस्य मातरः” (गाई विश्वकी माता हुन्) भनी वेदमा घोषणा छँदै छ। गौ-माहात्म्य विषयक खोज, अध्ययन र अनुसन्धानको स्वरूप वेददेखि जुनसुकै शास्त्रको शरण पर्दा पनि हरेकले सीमाहीन गौ-महिमा गाउँदा-गाउँदै अझै थाकेका छैनन्!
त्यस्तै श्रीमहाभारत अनुशासन पर्वको अध्याय उनान्सत्तरीमा पनि गाईलाई “मातरः सर्वभूतानां” भन्दै सबै प्राणीकी माता भनिएको छ। त्यसैगरी अध्याय असीमा गाईलाई “विश्वरूपाश्च मातरः” भन्दै सीमाहीन माहात्म्यका साथ नतमस्तक भावको घोषणा गरिएको छ।
एक अध्येताका रूपमा यी तथ्यहरू देख्दा सिङ्गो हृदय अवाक् हुन्छ! यो सिङ्गो अस्तित्व नै गाईरूप हो! वाह! क्या अद्भुत घोषणा! क्या दिव्य रहस्योद्घाटन! सूक्ष्मतम चिन्तनबाट विराटतमको दर्शन! हे राधे! श्री राधे! हाम्रा यी सम्पूर्ण वैज्ञानिक शास्त्रहरू धन्य छन्! यस्तो एकमात्र वैज्ञानिक दर्शन दिने शास्त्रप्रति कोटिकोटि साष्टाङ्ग दण्डवत् नमन!
यस्तो गुह्यतम रहस्योद्घाटन गर्ने शास्त्रगणप्रति कोटिकोटि साष्टाङ्ग दण्डवत् नमन! ईश्वरलाई धन्यवाद! ईश्वर धन्य हुनुहुन्छ! हामी धन्य छौँ! यो मार्ग प्राप्त भएको सिङ्गो मानव जन्म धन्य छ! सिङ्गो मानव जाति धन्य छ! गाईको उपासनाले सांसारिक दुःख मोचन मात्र होइन, मोक्ष नै प्राप्त हुने रहेछ!
गौ-माहात्म्य गान गर्दागर्दै थाकेर शास्त्रहरू यिनै घोषणामा पुगी गाईका चरणकमलमा नतमस्तक भावले शरणागत हुन्छन्… अनि फेरि उठ्छन् र पुनः गौ-माहात्म्य गानमा तल्लीन हुन्छन्… यो चक्र अनवरत चलिरहन्छ… गाईको जय होस्!
हे राधे! अतः यो सबै दृश्य-अदृश्य, ज्ञात-अज्ञात, चराचर जगत् सबै गाईमै निहित रहेछ। सम्पूर्ण देवी-देवतादेखि सिङ्गो अस्तित्वलाई धारण गरेकी गाईको रक्षा होस्! गाईबारे सूक्ष्म चिन्तन गर्दा गाईको रक्षाले नै सबैको रक्षा हुने स्वतः देखिन्छ। गाईको रक्षा होस्! गाईको जय होस्!
श्रीराधा… राधा… राधा… राधा…
“कृष्णेन आराध्यत इति राधा,
कृष्णं समाराधयति सदेति राधिका”
“श्रीकृष्ण श्रीराधारानीको नित्य आराधना गर्नुहुन्छ, त्यसैले उहाँको नाम राधा हो। उहाँ श्रीकृष्णको सधैँ आराधना गर्नुहुन्छ, त्यसैले श्रीराधिका नामले प्रसिद्ध हुनुहुन्छ॥”
– श्रीराधा॥
“नमो देव्यै महादेव्यै सुरभ्यै च नमो नम: ।
गवां बीजस्वरूपायैनमस्ते जगदम्बिके ॥ २४॥”
देवीजीलाई नमस्कार छ, महादेवी श्रीसुरभिजीलाई बारम्बार नमस्कार छ। हे जगदम्बिके! गाईकी बीजस्वरूपिणी हजुरलाई नमस्कार छ॥२४॥
“नमो राधाप्रियायै च पद्मांशायै नमो नम: ।
नम: कृष्णप्रियायै च गवां मात्रे नमो नम: ॥ २५॥”
श्रीराधाप्रियाजीलाई नमस्कार छ, देवी पद्मांशाजीलाई बारम्बार नमस्कार छ, श्रीकृष्णप्रियाजीलाई नमस्कार छ अनि गाईकी जननीलाई बारम्बार नमस्कार छ॥२५॥
“कल्पवृक्षस्वरूपायै सर्वेषां सततं परे ।
श्रीदायै धनदायै बुद्धिदायै नमो नम: ॥२६॥”
हे परादेवि! सबै प्राणीहरूका लागि कल्पवृक्षस्वरूपिणी, दुग्ध प्रदान गर्नुहुने, धन प्रदान गर्नुहुने तथा बुद्धि दिनुहुने हजुरलाई बारम्बार नमस्कार छ॥२६॥
“शुभायै च सुभद्रायै गोप्रदायै नमो नम: ।
यशोदायै कीर्तिदायै धर्मदायै नमो नम: ॥२७॥”
श्रीशुभाजी, श्रीसुभद्राजी तथा श्रीगोप्रदाजीलाई बारम्बार नमस्कार छ। यश, कीर्ति तथा धर्म प्रदान गर्नुहुने भगवती श्रीसुरभिदेवीजीलाई बारम्बार नमस्कार छ॥२७॥
– श्रीमद्देवीभागवतमहापुराण, नवम स्कन्ध, अध्याय ४९, श्लोक २४-२७॥
हार्दिक आभाररूपी दण्डवत् नमन — महान् एवं अति दुर्लभ, परम शिवभक्त, परम आदरणीय श्री दामोदर गौतम गुरुज्यू।
श्रीराधे॥
श्रीपद्ममहापुराण, चतुर्थ ब्रह्मखण्ड, श्रीब्रह्मानारदसंवाद अन्तर्गत ‘श्रीराधाष्टमी माहात्म्य’ नामक सातौँ अध्यायमा गोलोक प्राप्तिको साधनभूत श्रीराधाष्टमी व्रतको माहात्म्य लोकोपकारका खातिर भगवान् श्रीब्रह्माजीद्वारा देवर्षि नारदजीको दिव्य जिज्ञासामा सङ्क्षेपमा वर्णन गरिएको छ।
यहाँ श्री शौनक महर्षि भन्नुहुन्छ -“हे महाप्राज्ञ! मनुष्यले कुन पुण्य कर्म गर्नाले यस दुस्तर संसारबाट गोलोक जान पाउँछन्? तथा हजुर मलाई श्रीराधाष्टमी व्रतको उत्तम महिमा पनि बताउनुहोस्॥”
श्रीसूतजी भन्नुहुन्छ- “हे महामुने! यो कुरा प्राचीन कालमा नारदजीले ब्रह्माजीलाई सोध्नुभएको थियो। नारदजीले जे सोध्नुभएको थियो, त्यसलाई हजुरले सङ्क्षेपमा सुन्नुहोस्॥”
देवर्षि नारदजीले भन्नुभयो- “हे समस्त शास्त्रका ज्ञाताहरूमा श्रेष्ठ पितामह ब्रह्माजी! हजुर मलाई श्रीराधाष्टमीका विषयमा बताउनुहोस्। यसको पालन गर्दा कुन पुण्य फल प्राप्त हुन्छ? जसले श्रीराधाष्टमीको व्रत गर्दैनन्, तिनीहरूबाट हुने पापबारे पनि मलाई बताउनुहोस्। यो व्रत कहिले र कुन विधिबाट गरिनुपर्छ? हजुर मलाई यो पनि बताउनुहोस् कि श्रीराधारानी कसरी उत्पन्न हुनुभएको थियो?”
भगवान् श्रीब्रह्माजीले भन्नुभयो -“हे वत्स! सावधान भएर श्रीराधाष्टमीको माहात्म्य सुन्नुहोस्। यसलाई म सङ्क्षेपमा बताउँदछु। श्रीहरिबाहेक कसैले पनि यस व्रत र यसको पुण्यफललाई पूर्ण रूपले बताउन सक्दैन। हे नारद! भक्तिपूर्वक श्रीराधाष्टमीको व्रत गर्ने मानिसका करोडौँ जन्ममा गरिएका ब्रह्महत्या आदिसमान पाप पनि विनष्ट भएर जान्छन्।
हजार पटक एकादशी व्रत गर्नाले मनुष्यले जुन फल प्राप्त गर्छ, श्रीराधाजन्माष्टमीको व्रत गर्नाले त्योभन्दा सय गुणा बढी फल प्राप्त हुन्छ। सुमेरु पर्वत समान सुवर्ण दान गर्दा जुन फल मिल्छ, त्योभन्दा सय गुणा बढी फल एक पटक श्रीराधाष्टमीको व्रत गर्नाले प्राप्त हुन्छ।
हजारौं कन्यादान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो फल श्रीवृषभानुकी पुत्री श्रीराधाजीको अष्टमीको व्रत गर्नाले मिल्छ। गङ्गा आदि तीर्थहरूमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो फल भगवान् श्रीकृष्णकी प्राणप्रिया श्रीराधाजीको अष्टमीको व्रत गर्नाले प्राप्त हुन्छ। यदि कसैले अनादर वा अश्रद्धापूर्वक नै सही, यो व्रत गर्छ भने पनि ऊ आफ्ना करोडौँ वंशका साथ भगवान् श्रीविष्णुको लोकमा जान्छ।
हे वत्स! पहिले सत्य युगमा एक सुन्दर नारी थिइन्। उनको कम्मर पातलो थियो, नेत्र हरिणीका समान थिए र उनी मनोहर मुस्कान छर्थिन्। उनका केश सुन्दर थिए, नाक मनोहर थियो र उनको नाम लीलावती थियो। उनीबाट अनेक प्रकारका धेरै पापहरू हुन पुगेका थिए।
एक पटक उनी धन प्राप्त गर्ने इच्छाले नगरबाहिर निस्किइन् र अर्को नगरमा गइन्। त्यहाँ धेरै सज्जनहरू सुन्दर मन्दिरमा श्रीराधाष्टमीको व्रत गरिरहेको उनले देखिन्।
ती मानिसहरू चन्दन, पुष्प, धूप, दीप, वस्त्र तथा अनेक प्रकारका फलहरूले श्रीराधाजीको मूर्तिको पूजा भक्तिभावका साथ गरिरहेका थिए। केही मानिसहरू उत्तम स्तोत्र पाठ गर्दै, गाउँदै र नृत्य गर्दै थिए। केही मानिसहरू प्रसन्नतापूर्वक ताल मिलाएर वेणु तथा मृदङ्ग बजाइरहेका थिए।
विभिन्न प्रकारका ती मानिसहरूलाई देखेर उनी नजिकै गइन् र नम्रतापूर्वक सोधिन् – ‘हे पुण्यात्माहरू! हजुरहरू प्रसन्नतापूर्वक के गर्दै हुनुहुन्छ? हे पुण्यवान् जनहरू! हजुरहरू मलाई बताउनुहोस्, म हजुरहरूका समक्ष विनयावनत छु।’ उनको वाणी सुनेर अरूको कल्याण गर्ने, वैष्णव व्रत बस्ने ती जनहरूले भन्न थाले।
श्रीराधा व्रत गर्नेहरूले भने – ‘भाद्रपद मासको शुक्ल पक्षको अष्टमी तिथिका दिन श्रीराधाजीको जन्म भएको हुनाले आजको अष्टमीमा हामी यो व्रत उत्साहपूर्वक गर्दैछौँ। यो व्रत गर्नाले मनुष्यका गोहत्याजन्य पाप, चोरी, ब्रह्महत्या, परस्त्री गमन, भ्रूण हत्याजन्य पाप, गुरुको शय्यामा सुत्दा हुने पाप, विश्वासघात र स्त्री वध गर्दा हुने सम्पूर्ण पापहरू शीघ्र नै विनष्ट हुन्छन्।’
ती पुण्यात्माजनका समस्त पाप विनाशक वाणी सुनेर ती स्त्रीले आफ्नो मनमा बारम्बार विचार गरिन्-‘म पनि यो व्रत गर्छु।’ उनले त्यहीँ व्रत गरिरहेकाहरूसँगै व्रत बसिन्। दैववश उनलाई त्यहीँ सर्पले डस्यो र उनको शरीर छुट्यो। त्यसपछि यमराजको आज्ञाले उनका दूतहरू हातमा पाश र मुद्गर लिएर आए र उनलाई अत्यन्त कष्ट दिएर बाँधे।
जब उनीहरू उनलाई यमलोक लैजान तयार भए, त्यही समयमा शङ्ख, चक्र र गदा धारण गरेका भगवान् विष्णुका दूतहरूको आगमन भयो। ती दूतहरूको विमान सुवर्णमय थियो र त्यसमा राजहंस जोडिएका थिए। ती दूतहरूले चक्रको धाराले यमदूतको पाश काटिदिए र शीघ्रतापूर्वक ती निष्पाप नारीलाई रथमा बसाएर गोलोक नामक भगवान् विष्णुको मनोहर लोकमा लगे।
त्यहाँ श्रीराधा अनि श्रीकृष्ण विराजमान हुनुहुन्थ्यो। यो सब श्रीराधाष्टमी व्रतको प्रभावले नै भइरहेको थियो।
आफ्नो सृष्टिको कल्याणका खातिर भगवान् श्रीब्रह्माजी देवर्षि नारदजीलाई श्रीराधाष्टमी व्रतको अझ गुह्यतम रहस्य बताउनुहुन्छ – “हे तात! श्रीराधाष्टमी व्रतले सबै पापहरू नाश गर्छ तथा श्रीराधाजी र श्रीभगवान्लाई प्रसन्न गराउँछ।
एक पटक पृथ्वीलाई दुष्टहरूले प्रताडित गरे। तब दीन भएकी उनी गाईको रूप धारण गरेर मेरो (ब्रह्माजीको) नजिक आइन्। उनले बारम्बार रोएर आफ्नो दुःखबारे बताइन्। उनको कुरा सुनेर म भगवान् विष्णुको नजिक गएँ र भगवान् श्रीकृष्णलाई पृथ्वीको दुःख समूहबारे बताएँ। भगवान्ले भन्नुभयो- ‘हे ब्रह्मन्! हजुर देवताहरूसँग भूलोकमा जानुहोस्, म पनि त्यहाँ आफ्ना गणहरूसँग आउँछु।’
भगवान्को वाणी सुनेर म देवताहरूसँग पृथ्वीमा आएँ। त्यसपछि भगवान्ले आफ्ना प्राणभन्दा पनि प्यारी श्रीराधारानीजीलाई बोलाएर भन्नुभयो- ‘हे देवि! म पृथ्वीको भार नाश गर्नका लागि जाँदैछु, हजुर पनि पृथ्वीमण्डलमा चल्नुहोस्।’ यो कुरा सुनेर श्रीराधाजी पनि पृथ्वीमा अवतरित हुनुभयो।
भाद्रमासको शुक्ल पक्षको अष्टमी तिथिमा श्रीवृषभानुजीको यज्ञभूमिबाट श्रीराधाजी दिनको समयमा प्रकट हुनुभयो। जब यज्ञका लागि भूमिको शोधन हुँदै थियो, त्यही समयमा दिव्य रूप हुनुभएकी श्रीराधाजी दृष्टिगोचर हुनुभयो।
राजा श्रीवृषभानुजीले प्रसन्न मनले उहाँलाई आफ्नो घरमा ल्याउनुभयो। उहाँले श्रीराधारानीजीलाई आफ्नी पत्नीलाई सुम्पनुभयो र उहाँहरूले श्रीराधारानीजीको वात्सल्यपूर्वक पालनपोषण गर्नुभयो।”
श्रीपद्ममहापुराण, चतुर्थ ब्रह्मखण्ड, श्रीब्रह्मानारदसंवाद अन्तर्गत ‘श्रीराधाष्टमी माहात्म्य’ नामक सातौँ अध्यायमा गोलोक प्राप्तिको साधनभूत श्रीराधाष्टमी व्रतको माहात्म्यको वर्णन पूरा गर्दै भगवान् ब्रह्माजी भन्नुहुन्छ- “हे वत्स! तिमीले मलाई जे सोधेका थियौ, त्यो मैले बताइदिएँ।”
श्रीराधे॥
श्रीराधा राधा राधा राधा…..
“तप्त-काञ्चन गौराङ्गी राधे वृन्दावनेश्वरी !
वृषभानु सुते देवी प्रणमामि हरि-प्रिये !!”
“पग्लिएको सुनझैँ कान्तियुक्त र उज्यालो चहक भएको वर्ण हुनुभएकी हे राधा! श्रीधाम वृन्दावनकी अधिष्ठात्री हे देवी, श्रीवृन्दावनेश्वरी, राजा श्रीवृषभानुकी दिव्य कन्या/सुपुत्री हे देवी! हे कृष्णप्रिया देवी! म हजुरलाई कोटीकोटी साष्टाङ्ग दण्डवत् नमन गर्दछु॥”
श्रीराधे॥
अमृतरूप हाम्रा असङ्ख्य शास्त्रहरूले गौ-महिमा अपरिमित बताउँदै हात उठाएर गाईका श्रीचरणमा शरणागत भएका छन्! यस्तै एक अमृत ग्रन्थ- श्री अग्निमहापुराणको ‘गवायुर्वेद-कथन’ नामक दुई सय बाह्रौँ (२९२ औँ) अध्यायमा “प्राणीहरूका प्रतिष्ठा गाई हुन्। गाई परम स्वस्त्ययन हुन्। सबैको रक्षा र वहन गर्ने गाई हुन्। सबै प्राणीकी शरण गाई हुन्…” आदि मोक्षदायी गौ-माहात्म्य वर्णन गरिएको छ। साथै, देवी श्रीलक्ष्मीजीको नित्य निवास रहने गहुँत र गोबरदेखि दूध, दही, घिउ तथा गाईबाट निरन्तर प्रसारित गौ-सुगन्ध आदि गो-कृपाबाट लोकलाई निरोगी तुल्याउने आयुर्वेदको बडा अद्भुत वर्णन छ…
अतः सिङ्गो अस्तित्वकी आधार शक्ति, चेतना शक्ति र जीवन शक्ति गाईको रक्षा होस्! गाईको जय होस्! हे राधे!
श्रीराधा राधा राधा राधा…..
श्रीभगवत् कृपाबाट प्राप्त सम्पूर्ण ग्रन्थ तथा स्रोतप्रति शब्दातीत आभारयुक्त साष्टाङ्ग दण्डवत् नमन: श्रीराधे!
ग्रन्थ सन्दर्भ: १. श्रीमन्महर्षि वेदव्यासप्रणीत महाभारत (षष्ठ खण्ड), वि.सं. २०७२, गीताप्रेस, गोरखपुर
२. महर्षि वेदव्यासप्रणीत श्रीमद्देवीभागवतमहापुराण (द्वितीय खण्ड), वि.सं. २०६७, प्रथम संस्करण, गीताप्रेस, गोरखपुर
३. शुक्ल यजुर्वेदीय श्री राधिका तापनि उपनिषद्
४. श्रीमन्महर्षिकृष्णद्वैपायनव्यासविरचित श्रीपद्ममहापुराण (तृतीय भाग : स्वर्ग एवं ब्रह्म खण्ड), पुनर्मुद्रित संस्करण : २०२२, चौखम्बा सुरभारती प्रकाशन, वाराणसी
५. ऋग्वेदीय श्रीराधोपनिषद्
श्रीराधे
No ads found for this position



Facebook Comment