जसपाले पठाएका मन्त्रीमा यादव समुदायकाे बाहुल्यता भएपछि अरूकाे असन्तुष्टी
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पठाएका चार मन्त्रीहरूमा यादव समुदायको मात्रै बाहुल्यता भएपछि पार्टीमा असन्तुष्टी देखिएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएका चारमध्ये तीन जना यादव परेपछि जसपाभित्र असन्तुष्टी देखापरेको हो।
महन्थ ठाकुर नेतृृत्व छाडेर अध्यक्ष यादवतिर लागेका प्रमोद साहले त सामाजिक सञ्जालबाट नै विरोध गरेका छन्। अध्यक्ष यादवले देउवा सरकारमा रेणु यादव, रामसहाय यादव र महेन्द्रराय यादवलाई मन्त्री बनाएका छन् भने गैर यादव समुदायबाट राजेन्द्र श्रेष्ठ मात्रै मन्त्री छन्।
सोही घटनालाई लिएर सांसद साहले लेखेका छन, ‘आज पनि हाम्रो पार्टी नेतृत्वले गरेको निर्णय एकल जातीय अहंकार र दमन शोषणको नमुना रहेको ठहर गर्दछु, हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रिमण्डलमा समावेश हुनेहरूका नाम समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने थियो तर टुंगो लगाउँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो।’
उनका अनुसार सो प्रवृत्ति र कार्यशैलीले पार्टीका लागि क्षति पुगेको छ। त्यसो त पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएपछि वीरगञ्जमा जसपाका कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला दहन गरेका छन् भने अध्यक्ष यादवका पुत्र अमरेन्द्र यादवले पनि श्रेष्ठ र रामसहायको नियुक्तीबाहेक अन्यको विरोध गरेका छन्।
जसपाका शीर्ष नेताहरूले शुक्रबा बिहानसम्म प्रमोद साहको नाम मन्त्रीमा चयन गरेपनि दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तीको सूचना आउँदा उनको नाम काटिएको थियो।







डिसी नेपाल







Facebook Comment