मानव जीवनको मूल लक्ष्य: भगवद् भक्ति र परमात्माको अनुभूति

शंकरप्रसाद रिजाल
९ साउन २०८३ ७:३५

मानिसको मूल लक्ष्य केवल खाने, पिउने र भोगविलास गर्ने मात्र होइन। यसको वास्तविक लक्ष्य त भगवद् भक्ति गर्दै परमेश्वरको अनुभूति गर्नु हो, जो सधैँ परमानन्दमा लीन रहनुहुन्छ।

मानिसको सामु दुईवटा मार्गहरू छन्- एउटा मुक्ति र अर्को बन्धन। बन्धन भन्नाले मायाको जालो हो। मायाबाट ‘म’ (अहङ्कार) उत्पन्न हुन्छ र त्यसैबाट घमण्ड, लोभ, डाह अनि ईर्ष्या पैदा हुन्छन्, जसका कारण मानिसले कहिल्यै पनि मुक्ति पाउन सक्दैन।

अर्कोतर्फ मुक्ति मार्ग हो, जसले ‘म’ लाई त्यागेर ‘नमः’ लाई अङ्गाल्छ। हरेक भगवान्‌को प्रार्थनामा ‘नमः’ शब्दलाई ठूलो मान्यता दिइएको पाइन्छ; जस्तै— ‘रामाय नमः’, ‘कृष्णाय नमः’, ‘ब्रह्मणे नमः’ र ‘शिवाय नमः’। यी सबै मन्त्र जपमा ‘म’ को सट्टा ‘नमः’ शब्दले पुकारिएको हुन्छ। घमण्डले ‘म’ भन्ने शब्दको मात्र बोली फुटाउँछ, तर ‘नमः’ शब्दले ‘म’ भन्ने अहङ्कारलाई त्यागेर आफूलाई विनम्र र सानो बनाउँछ।

घमण्डसहित गरिएको कुनै पनि पूजा र अर्चना सफल हुन सक्दैन। जडभरतको जस्तो भगवान्‌प्रतिको निष्ठा र आस्थाबाट मात्र ईश्वरको अनुकम्पा प्राप्त गर्न सकिन्छ। घमण्डयुक्त बोली र व्यवहारले गरिने पूजा-अर्चनाको खासै महत्त्व हुँदैन। भगवान् नारायणको नाम मात्र स्मरण गर्दा पनि कुसङ्गतिमा परेका अजामिललाई लिन यमराजका दूतको सट्टा स्वयं भगवान्‌का दूतहरू आएको कुरा पुराणहरूमा स्पष्ट उल्लेख छ।

मन्त्र उच्चारण स्पष्ट भएमा मात्र त्यसले शुभ फल दिन्छ, नत्र जस्तो जप गर्यो त्यस्तै फल पाइन्छ। उदाहरणका लागि, “भार्यां रक्षतु भैरवी” (भैरवीले मेरो पत्नीको रक्षा गरून्) भन्नुपर्ने ठाउँमा अशोधित भई “भार्यां भक्षतु भैरवी” (भैरवीले मेरो पत्नीको भक्षण गरून्) भनियो भने त्यस्तो जप गर्ने मानिसको श्रीमतीको निधनसम्म हुन सक्छ। तर परमेश्वरको भक्ति र स्मरण भने उल्टो-सुल्टो जसरी गरे पनि त्यसको परिणाम राम्रै प्राप्त हुन्छ।

भगवान्‌को स्तुति दैनिक नगर्नेहरूलाई अप्रत्यक्ष रूपमा धोका नै धोका हुन्छ र उसले जीवनमा कहिल्यै शान्ति पाउँदैन। जबसम्म हाम्रो यो सृष्टिको बिन्दु भगवान्‌रूपी सिन्धु (समुद्र) मा मिल्न सक्दैन, तबसम्म परमात्माप्रतिको प्रेम, प्रीति र भक्ति पूर्ण हुन सक्दैन।

मानिसमा दुई प्रकारका गुण हुन्छन्- एक सद्गुण र अर्को दुर्गुण। सद्गुण भनेको मानिसले परमात्माको भक्ति, ज्ञान, कथा र पुराण सुनेर आफ्नो जीवनलाई धन्य बनाउनु हो। भने तिनै मानिस पुनः काम, क्रोध, लोभ, मोह र घमण्डका कारण मनलाई नियन्त्रणमा राख्न नसकी, कुसङ्गत र गलत व्यवहारले गर्दा आफ्नो जीवनलाई निरर्थक वा अर्थहीन पनि बनाउन सक्छन्। यो सब आफ्नै मनको स्वभाव र अभावको खेल मात्र हो।

अभ्यासद्वारा मनलाई बिस्तारै नियन्त्रणमा ल्याउन सकिएन भने मनले आखिर मानिसलाई उन्मत्त घोडाझैँ कुदाएर भीरबाट खसाली जीवन नै अन्त्य गरिदिन सक्छ। तसर्थ, भगवान्‌को विराट स्वरूपको भक्ति र आराधना गर्नाले मानिसभित्रका सबै दुर्गुणहरू बिस्तारै लोप हुँदै जान्छन्।

मानिसलाई आफ्नो कर्तव्य (कर्म) गर्न र भगवान्‌को नाम स्मरण गर्न कुनै पनि कुराले छेक्दैन। हरेक काम गर्दा परमात्माको नाम स्मरण गरियो भने, गरिएको काम सफल हुनुका साथै लगाउने, खाने र सुत्ने जस्ता सामान्य कुराहरूमा पनि मधुमय स्वादको अनुभूति हुन्छ।

जुन भोजन भगवान्‌लाई पहिले भोग लगाएर प्रसादका रूपमा ग्रहण गरिन्छ, त्यो अमृतमय हुन्छ। तर भगवान्‌लाई अर्पण नगरी उपभोग गरिएका समस्त वस्तुहरू स्वादहीन हुन्छन् र त्यस्ता बेस्वादे खानाका परमाणुहरूले जीवनलाई विषाक्त र बेचैन बनाइदिन्छन्।

यदि मानिस जीवनको बन्धनबाट मुक्त हुन चाहन्छ भने उसले श्रीमद्भगवद्गीता र श्रीमद्भागवत महापुराणको स्मरण गरी त्यसलाई जीवनमा अनुसरण गर्नुपर्छ, जसले गर्दा उसको जीवन अवश्य धन्य हुन्छ। जसले आफ्नो आत्मालाई बुझ्न सक्दैन, उसले परमात्माको अनुभूति कहिल्यै गर्न सक्दैन।

गायन र शारीरिक बलले मानिसमा घमण्ड पैदा गराउन सक्छ, तर भक्तिभावले अहङ्कार र दम्भलाई क्षीण बनाइदिन्छ। यो संसारमा भगवान्‌को तप गर्नु नै मुक्तिको एकमात्र मार्ग हो। यहाँ ‘तप’ भन्नाले कठोर तपस्या मात्र नभई केवल ध्यान हो। ध्यानमा अन्तर्ध्यान हुन सक्नु नै परमात्माको अनुभूतिको मार्ग प्रशस्त गर्नु हो।

परमात्माको भक्ति गरी उहाँको सामिप्य पाउनका लागि उपयुक्त साधन वा औजारको प्रयोग गर्नुपर्छ। जसरी टाढा रहेका मानिसहरूसँग सम्पर्क गर्न इन्टरनेट वा सञ्जालको प्रयोग नगरी कुरा गर्न सकिँदैन, त्यसरी नै मोह, लालसा र घमण्डको त्याग गरी भक्ति, ज्ञान र वैराग्यलाई नअङ्गालीसम्म भगवान् प्राप्ति वा अनुभूतिको सम्भव हुँदैन।

परमात्मा प्राप्तिको लक्ष्यमा पुग्न परमात्मा जति व्यापक हुनुहुन्छ, आफूलाई पनि विचार र भावनामा त्यति नै व्यापक बनाएर अघि बढ्नुपर्छ। संसारका नश्वर वस्तुहरू प्राप्त गर्न साधारण प्रयासले पुग्छ, तर भगवान् प्राप्त गर्नका लागि अथाह भक्तिको नितान्त आवश्यकता पर्छ; जसरी मीराले श्रीकृष्णलाई र शबरीले भगवान् रामचन्द्रलाई प्राप्त गरेका थिए।

यति भन्दै गर्दा, मानिसले आफ्नो कर्म र धर्मलाई पछाडि पारेर भक्तिलाई मात्र सर्वोपरी ठानी लाग्दा, कर्म र धर्म ओझेलमा परी पुनः भक्ति नै अलपत्र पर्ने ठूलो सम्भावना रहन्छ। त्यसैले भक्ति, ज्ञान, कर्म र धर्मलाई समानुपातिक रूपमा जीवनमा उतार्दा मात्रै सबै क्षेत्रमा पूर्ण सफलता मिल्छ। जुनसुकै काम गर्दा पनि “जपो राम नाम” भन्ने कुरालाई हृदयङ्गम गरी कर्म गरेमा भगवान्‌ले अवश्य पनि राम्रो फल दिनुहुने निश्चित छ।

विशेष गरी नेपाल र भारतमा अनेकौँ ऋषिमुनि, सन्त, महन्त र सज्जनहरूले महान् भक्ति, ध्यान र तपस्या गरी परमात्माको नजिक पुगेका सयौँ उदाहरणहरू पाइन्छन्।

मानिसले जीवनभर प्रभुको भक्ति गरेपछि, जीवनको अन्त्य भएपछि उसको लेखाजोखा भई पुनः भगवान्‌कै भजन-लीला सुरु हुन्छ। हाम्रो भौतिक जीवनको अन्त्यपछि नै भगवान्‌को हामीप्रतिको लीला सुरु हुन्छ। यही नै मुक्ति मार्गको वास्तविक रूप र प्रक्रिया हो।

संसारमा जति पनि सृष्टि भएका छन्, ती सबै नश्वर छन्। ऋतु, काल र समय परिवर्तनसँगै सबै कुरा क्षीण भएर जान्छन्। यो जन्मिनु र मर्नुसँगै हुने एक अकाट्य प्रक्रिया हो। तर परमात्मा सधैँ एकैनास हुनुहुन्छ; सधैँ चिन्मय मुद्रामा स्थिर रहनुहुन्छ र आदि अनि अन्त्यको साक्षी बनेर बसिरहनुभएको हुन्छ।

तसर्थ, ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक’ भनेझैँ मानव जीवनको मुख्य उद्देश्य र लक्ष्य भनेको परमात्माकै खोज, चिन्तन र आराधना गर्नु हो। यसैलाई अध्यात्म चिन्तन र मनन भनिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *