कथाः रगतले भिजेको आकाश

तोमनाथ उप्रेती
९ साउन २०८३ ७:१६

रात अझै सकिएको थिएन। पूर्वी आकाशमा उज्यालोको कुनै सङ्केत थिएन। तर सहर निदाएको पनि थिएन। निद्राभन्दा ठूलो भयले त्यसलाई धेरै वर्षअघि नै ब्युँझाइदिएको थियो।

हावामा बारुदको गन्ध यति बाक्लो थियो कि सास फेर्नु पनि आगो निल्नुजस्तै लाग्थ्यो। टाढाबाट साइरनहरू एकपछि अर्को चिच्याइरहेका थिए। ती आवाज केवल चेतावनी मात्र थिएनन्, मृत्यु आउँदैछ भन्ने सार्वजनिक घोषणा थिए।

केही क्षणमै आकाश चिरिँदै एउटा क्षेप्यास्त्र गर्जियो। त्यसपछि अर्को, अनि फेरि अर्को। विस्फोटको कम्पनले पृथ्वी काँप्यो। झ्यालका बाँकी रहेका सिसा हजारौँ धारिला टुक्रामा फुटे। भवनहरू धुलोको बादलमा हराए। धुवाँले बिहानलाई जन्मिनै दिएन।

गल्लीहरूमा मानिसहरू अत्तालिँदै दौडिरहेका थिए। कसैले आफ्ना बालबालिकालाई काखमा च्यापेका थिए, कसैले वृद्ध आमाबुबालाई तानेर बंकरतर्फ लैजाँदै थिए।

रुवाइ, चिच्याहट, प्रार्थना र विस्फोटका आवाज मिसिएर यस्तो भयावह सङ्गीत बनेको थियो, जसमा मानव सभ्यताको सम्पूर्ण पीडा गुञ्जिरहेको महसुस हुन्थ्यो। जलेको रबर, पग्लिएको फलाम, ध्वस्त घर र जिउँदै जलेका शरीरको गन्धले हावा नै मृत्युसँग सङ्क्रमित भएको थियो।

सडकभरि फुटेका खेलौना, च्यातिएका पुस्तक, रगतले भिजेका जुत्ता र भत्किएका कोखिया (पालना) छरिएका थिए। युद्धले भवन मात्र भत्काएको थिएन; त्यसले बाल्यकाल, परिवार, सपना र भविष्यलाई पनि भग्नावशेषमा परिणत गरिसकेको थियो।

यही धुवाँ, आगो र अन्तहीन आतङ्कको बीच उसले आफू जन्मिएको संसार चिनेको थियो। ऊ जन्मिँदा संसारले फूल देखेको थियो होला, तर अठार वर्ष पुग्दासम्म उसले फूलभन्दा धेरै शव देखिसकेको थियो। उसको बाल्यकाल भग्नावशेषकै बीच हुर्कियो।

कखरा सिक्नुअघि उसले साइरनको आवाज चिन्न सिकेको थियो। विद्यालयको घण्टीभन्दा क्षेप्यास्त्रको गर्जन उसको स्मृतिमा गहिरोसँग बसेको थियो। उसले कहिल्यै शान्तिको अर्थ शब्दकोशबाट पढेर बुझेन; बरु बम विस्फोटपछि केही क्षणका लागि फैलिने बहिरो बनाउने सन्नाटामा शान्ति खोज्न बाध्य भयो।

एक समय त्यो सहर बिहानको घामसँगै ब्युँझन्थ्यो। गल्लीहरूमा बालबालिकाको हाँसो गुञ्जन्थ्यो। रोटी पाक्ने सुगन्ध हावामा घुल्थ्यो। झ्यालबाट आमा गीत गुनगुनाउँथिन्।

साँझ बुबाले पसिनाको गन्धसँगै माया बोकेर घर फर्किन्थे। तर युद्धले सबैभन्दा पहिले घरहरू जलाएन, त्यसले मानिसभित्रको भरोसा जलायो। त्यसपछि मात्र इँटा ढले, छाना भत्किए, सडकहरू चिरिए र आकाश धुवाँले ढाकियो। सहर बिस्तारै नक्साबाट होइन, मानिसहरूको स्मृतिबाट हराउन थाल्यो।

ऊ बाह्र वर्षको थियो, जब एउटा क्षेप्यास्त्रले उसको विद्यालयलाई धुलोमा बदलिदियो। गणितका सूत्रहरू हावामा उड्ने खरानी बने। शिक्षकको आवाज एउटा अधुरो प्रतिध्वनि मात्र रह्यो।

उसको सबैभन्दा मिल्ने साथीको शरीर कहिल्यै भेटिएन; केवल उसको झोला एउटा भत्किएको भित्तामा झुन्डिएको अवस्थामा भेटियो। त्यस दिन उसले पहिलोपटक बुझेको थियो- युद्धमा मृत्यु पनि पूर्ण हुँदैन। कतिपय मानिसहरू मर्दैनन्, उनीहरू केवल हराउँछन्। अनि हराइरहन्छन्- आफ्ना प्रियजनको अनन्त प्रतीक्षाभित्र।

समय बित्यो, तर युद्ध रोकिएन। बरु युद्ध नै समय बन्यो। बिहान बमको आवाजले खुल्थ्यो, दिउँसो धुवाँले सूर्य निल्थ्यो र रातभर ड्रोनको गुञ्जन निद्राभन्दा ठूलो हुन्थ्यो।

मानिसहरूले विस्फोटको आवाज सुनेर कति टाढा बम खस्यो भनेर अनुमान गर्न सिकिसकेका थिए। बालबालिकाले वर्णमालाभन्दा पहिले बंकरको बाटो कण्ठ पारे। सामान्य जीवन एउटा पुरानो किंवदन्तीजस्तो लाग्न थालेको थियो।

अठार वर्ष पुग्दा ऊ स्थानीय अस्पतालमा स्वयंसेवक बनेको थियो। अस्पताल भन्नु पनि नाम मात्रको थियो। झ्यालहरू वर्षौँअघि उडिसकेका थिए, औषधि सकिएका थिए र शल्यकक्षमा बेहोस पार्ने सुईसम्म थिएन।

चिकित्सकहरू मृत्युसँग प्रतिस्पर्धा गरिरहेका थिए। प्रत्येक स्ट्रेचरमा एउटा सिङ्गो संसार आउँथ्यो, प्रत्येक घाउसँगै एउटा परिवार रुँदै आइपुग्थ्यो र प्रत्येक मृत्युले अस्पतालको भित्तामा अर्को अदृश्य चिरा थपिदिन्थ्यो।

रगतको गन्ध उसको नाकमा यति गहिरोसँग बसिसकेको थियो कि रोटीको सुगन्धमा पनि उसलाई रगतकै बास आउँथ्यो। धुवाँ, जलेको छाला, बारुद, पग्लिएको प्लास्टिक र आँसु मिसिएको हावाले उसको फोक्सो भरिएको थियो।

राति ऊ हात धुन्थ्यो, फेरि धुन्थ्यो, फेरि-फेरि धुन्थ्यो। औँलामा टाँसिएको रगत त पखालिन्थ्यो, तर मनमा गडेको अपराधबोध कहिल्यै धुँदैनथ्यो। उसले धेरैलाई बचाउन खोज्यो, तर धेरैलाई बचाउन सकेन। बाँचेकाहरूको आँखा पनि उसलाई मृतकहरूकै जत्तिकै पीडादायी लाग्थ्यो।

त्यो दिन बजार असामान्य रूपमा व्यस्त थियो। मानिसहरू भोकसँग मोलमोलाइ गरिरहेका थिए। आमाहरू आधा रोटीका लागि लाममा उभिएका थिए। बालबालिकाहरू फोहोरको थुप्राभित्र जीवन खोजिरहेका थिए।

आकाश भने अस्वाभाविक रूपमा निलो र सफा थियो। कहिलेकाहीँ प्रकृति सबैभन्दा ठूलो विडम्बना बनिदिन्छ; सुन्दर आकाशले सबैभन्दा क्रूर मृत्यु लुकाइरहेको हुन्छ।

अचानक एउटा लामो सिठी सुनियो। त्यो आवाज यति मधुरो थियो कि क्षणभर कसैले खतरा ठानेनन्। तर अर्को सेकेन्डमै आकाश च्यातियो, पृथ्वी काँप्यो। आगोले सहर निल्यो। भवनहरू कागजझैँ भत्किए। सिसा वर्षाजस्तै झरे। मानिसहरू अत्तालिएर चिच्याए। धुवाँले सूर्यलाई कैद गर्‍यो। प्रकाशभन्दा छिटो मृत्यु आइपुग्यो।

जब उसले आँखा खोल्यो, ऊ भग्नावशेषमुनि च्यापिएको थियो। पेट छेडेर फलामको डन्डी निस्किएको थियो। दाहिने खुट्टा भारी ढुङ्गामुनि थिचिएको थियो। रगतले उसको कपडालाई रातो नदीमा बदलिसकेको थियो। सास फेर्दा फलामको स्वाद आउँथ्यो।

प्रत्येक श्वासले मृत्युलाई अलिकति नजिक ल्याइरहेको थियो। उसले वरिपरि हेर्यो- एउटी आमा आफ्नो अनुहार गुमाएको बच्चालाई काखमा च्यापेर चिच्याइरहेकी थिइन्। एउटा बालक दुवै खुट्टा गुमाएर कुहिनाको भरमा घिस्रिँदै “आमा!” भनेर बोलाइरहेको थियो।

एउटा घोडा जिउँदै जलिरहेको थियो। उसका चिच्याहटले मानिस र जनावरबीचको भिन्नता नै मेटिदिएको थियो। जलेको मासु, धुवाँ, बारुद र मृत्युको गन्धले सारा वातावरण भरिएको थियो। त्यो सहर अब सहर रहेन; एउटा जीवित नरक बनेको थियो।

उसले बिस्तारै आँखा माथि उठायो। धुवाँको कालो पर्दापछाडि एउटा तारा झिलिमिली गरिरहेको थियो। उसलाई लाग्यो— युद्धले पृथ्वी जिते पनि आकाश अझै बाँकी छ।

तर त्यसै क्षण उसले बुझ्यो कि सबैभन्दा ठूलो युद्ध बन्दुकले होइन, स्मृतिले लड्छ। शरीरका घाउ कुनै दिन निको हुन सक्छन्, तर बाल्यकालमा देखिएको एउटा विस्फोटले आत्मामा बनाएको घाउले पुस्तौँसम्म रगत बगाइरहन्छ।

उसको सास क्रमशः हलुका हुँदै गयो। वरिपरिका आवाजहरू धुवाँभित्र हराउन थाले। आगोको गर्जन, मानिसहरूको चिच्याहट र एम्बुलेन्सको साइरन एक-एक गर्दै टाढा छुट्टिए। त्यसपछि एकाएक सबै कुरा अस्वाभाविक रूपमा शान्त भयो- यति शान्त कि आफ्नै मुटुको धड्कन पनि उसलाई अपरिचित लाग्न थाल्यो।

धुवाँ बिस्तारै पातलिँदै गयो। भग्नावशेषका बीच कतैबाट सानो बालकको हाँसो सुनियो। उसले वरिपरि हेर्यो, त्यहाँ कोही थिएन। केवल खरानीमाथि हल्का पाइतालाका छाप थिए, जुन केही पर पुगेर अचानक बिलाएका थिए।

उसले हात फैलायो। औँलामा केही नरम चीज परेर अडियो। त्यो एउटा सेतो प्वाँख थियो कि जलेको कागजको टुक्रा, उसले छुट्याउन सकेन। हावाको एउटा झोक्काले त्यसलाई फेरि उडायो।

त्यसैसँग उसको दृष्टि पनि आकाशतिर सोझियो। ताराहरू एकाएक धेरै भएजस्तो लाग्यो। वा सायद ती तारा थिएनन्; धुवाँभित्र टल्किरहेका अनगिन्ती आँखाहरू थिए, जसले कुनै शब्द नबोली उसलाई हेरिरहेका थिए।

भोलिपल्ट उद्धारकर्मीहरूले त्यहाँ रगतका डामहरू भेट्टाए, च्यातिएको एउटा कपडा भेट्टाए, अनि एउटा पुरानो बालकको जुत्ता भेट्टाए। तर अठार वर्षको त्यो किशोर कहिल्यै भेटिएन। कसैले भने, ऊ मरेको थियो; कसैले भने, ऊ बाँचेको थियो।

वर्षौँपछि पनि प्रत्येक पूर्णिमाको रात त्यही भग्न सहरमाथि एउटा तारा असामान्य रूपमा झिलमिलाउँछ भन्ने किंवदन्ती बाँकी रह्यो। त्यहाँ पुग्नेहरू भन्छन्— यदि त्यो तारालाई धेरै बेर हेरिरह्यौ भने टाढाबाट एउटै प्रश्न गुञ्जिएको सुनिन्छ, “युद्ध सकियो… कि केवल मानिसहरू हराए?”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *