पार्टीमा भागबण्डा मिलाउन ‘६ महिने’ मन्त्री, नतिजा आउनेमा शंका

डिसी नेपाल
२४ असोज २०७८ १२:४४
132
Shares

काठमाडौं। ८७ औं दिनसम्म ५ जना मन्त्रीको भरमा सरकार चलाएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले समयमै मन्त्रिपरिषद बिस्तार गर्न नसकेर चर्को आलोचना खेप्नुपर्‍याे।

तर शुक्रबार ८८ औँ दिनमा पूर्णमन्त्रिपरिषद बिस्तार गरेका देउवाले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाललाई उद्योग बाणिज्य तथा अपूर्ती मन्त्रीको जिम्मेवारी दिएर शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा हमाललाई मन्त्री बनाएको भन्दै राणा र देउवा थप आलोचनाको शिकार भए।

यद्यपि हमालले सर्वत्र आलोचना भएको र विवादमा पर्न नचाहेको भन्दै आइतबार नै राजीनामा दिइसकेका छन्। प्रधानमन्त्री देउवाको मन्त्रिपरिषदमा हमालको विषयसँगै अर्को विषयले पनि चर्चा पायो। मन्त्री बन्न नपाएकोमा गठबन्धनका नेताहरुको आक्रोश छरपस्ट भएको छ।

कांग्रेसबाट नेतृ सुजता कोइरालाको असन्तुष्टि छलाछुल्ल भएको छ। उनी रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्ने लाईनमा थिइन्। तर उक्त समूहबाट दिलेन्द्रप्रसाद बडू र मीनेन्द्र रिजाल मन्त्री बनेपछि नेतृ कोइराला रामचन्द्र पौडेल र शशांक कोइरालासँग असन्तुष्ट पोखेकी छिन्।

उनको असन्तुष्टी यति भयानक बन्यो कि उनले पौडेल समूह छोडेको घोषणा गर्दै रामचन्द्र, शशांक दुबै आगामी महाधिवेशनमा सभापति बन्न अयोग्य पात्र भन्दै दावी गरेकी छिन्।

नेकपा (एकीकृत समाजवादी) मा पनि असन्तुष्टिका स्वरहरु बाहिरियो। नेता मेटमणि चौधरी पनि मन्त्री बन्ने विषयमा विभिन्न सञ्चार माध्यमहरुको समाचारले स्थान पायो।

तर उनले पनि मन्त्री पद पाएनन्। मन्त्री नपाएपछि उनको त्यति ठूलो आक्रोश र असन्तुष्टि त पोखिएको छैन, तर मन्त्री चयन गर्दा बरियता मिचिएको भन्दै केही आंशिक असन्तुष्टि डिसी नेपालसँग जनाएका छन्।

माधव नेपालको हरेक कुराहरुको रक्षा गर्ने पहिलो पंक्तीको नेताको सूचीमा पर्ने नेतामा चौधरी पर्छन्। तर उनको ठाउँ स्थानन्तरण गर्दै प्रेम आले, किसान श्रेष्ठहरु मन्त्री बनेपछि उनी असन्तुष्टि बनेका छन्।

अर्को ठूलो असन्तुष्ट जनता समाजवादी (जसपा) मा देखिएको छ। यति सम्मकी सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै प्रदीप यादवको समर्थकले वीरगञ्जमा उपेन्द्र यादवको पुत्ला समेत जलायो। सांसद यादवपनि जसपामा महन्थ ठाकुर समूह र उपेन्द्र यादव समूहको शक्तिसंघर्ष चलेको बेला यादवको पक्षमा बचाउ गर्दै बोल्ने पहिलो पंत्तीका नेताका रुपमा चिनिन्छन्।

पर्सा क्षेत्र नम्वर १ बाट संघीय सांसदको प्रतिनिधित्व गर्ने यादव यो पटक पनि मन्त्री बन्न नसकेपछि जनाधार र योगदानको कदर गर्न नसकेको भन्दै नेतृत्व प्रति असन्तुष्ट व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘मधेस आन्दोलनको बिगुल फुक्ने र आन्दोलनको आँधिवेरी आउने स्थानलाई नजरअन्दाज र किनारा लगाइएको छ। यसले गर्दा पर्साको जनता दुखित त आक्रोसित भएका छन्। वीरगञ्ज ठगिएको छ।’

यसरी सत्तारुढ गठबन्धनको नेताहरुको असन्तुष्ट सार्वजानिक रुपमै पोखिएपछि गठबन्धन भित्र शक्ति संतुलन मिलाउन र सांसद फकाउन आलोपालो मन्त्री चलाउने गरी छ महिना पछि मन्त्री फर्ने भित्री सहमति बनेको छ।

आलोपालोको सहमति जसपा र नेकपा एसमा चलेको स्रोतले बताएको छ। स्रोतका अनुसार जसपा र नेकपा (एस) दुबै पार्टी आन्तरिक शक्ति संघर्षको कारण सिथिल बनेको छ।

‘अहिलेको मन्त्रिपरिषद बिस्तारमा समायोजन गर्न नसकेका नेता सांसदहरु भोलिको दिनमा पूर्ववत् पार्टी एमाले र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादीमा जाने चिन्ता दुबै दलको नेतृत्वकर्तालाई रहेको छ,’ स्रोतले भन्यो, ‘त्यसकारण छ महिनापछि दुबै दलमा मन्त्री फेरिने सहमति बनेको छ।’

‘सबैभन्दा समस्या गठबन्धन दलमध्ये जसपालाई परेको छ। मन्त्री पाउने आशा र सांसद पद जोगाउनकै लागि भएपनि ठाकुर समूहका केही नेताहरुपनि यादवसँगै रहेका छन्। तर उनीहरु सबैलाई समायोजन गर्न नसक्दा भोलिको दिनमा पूर्ववत ठाकुर समूहका नेताहरुपनि र यादव समूहका नेताहरुले पनि अर्को बिद्रोह गर्न सक्ने भयले छ महिना पछि मन्त्री फेरिन सक्छ,’ एक नेताले भने।

६/६ महिनामा मन्त्री परिवर्तन हुँदा कर्मचारीले मन्त्रीलाई नटेर्ने र त्यसका कारण विभागीय काम राम्रोसँग गर्न नसक्ने एक पूर्व प्रशासक बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.