गाउँ फर्किएर बाँझो जमिनमा तितेपाती खेती

डिसी नेपाल
३१ असोज २०७८ १४:५०
1.0k
Shares

ताप्लेजुङ । काठमाडाैं । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका सनम गुरुङको परिवार २०६८ सालमा झापा बसाइ सरे। बसाइ सर्नुको मुख्य कारण थियो, बाँदरले अचाक्ली दुःख दिनु। लगाएको बालीनाली सबै बाँदरले नष्ट गरिदिन थालेपछि बसाइ सरेका हुन्।

गाउँमा भएको ७५ रोपनी जग्गा अर्कालाई दिएर झापा झरेका उनीहरू अहिले गाउँ फर्किएर व्यावसायिक तितेपाती खेतीतर्फ लागेका छन्। ‘बसाइ सरेर मधेस गयौँ, त्यहाँको उखरमाउलो गर्मी र धुवाँ धुलोमा बस्न सकिएन,’ सनमले भने, ‘पहाडमै सुन फल्दो रहेछ।’

अहिले उनले २४ रोपनीमा व्यावसायिक तितेपाती खेती सुरु गरेका छन्। सनमले नै ताप्लेजुङमा पहिलो पटक भुवादार जापानी तितेपातीको व्यावसायिक खेती सुरु गरेका हुन्। बाँझो जमिनको सदुपयोग हुने साथै थोरै लगानीमा आम्दानी लिन सकिने भएकाले पनि खेती सुरुवात गरेको उनी बताउँछन्। उनी मात्रै होइन फुङ्लिङ नगरपालिका–८ का किरण तामाङले पनि १० रोपनी बाँझो जमिनमा खेती थालेका छन्। धार्मिक कार्य र औषधीका रूपमा प्रयोग हुने तितेपाती राम्रो मूल्यमा विक्री हुने गरेको छ।

‘झापा झरेपछि बाँझो जमिनको माया लाग्यो, अनि जंगली जनवारले पनि क्षति नगर्ने र आम्दानी पनि चाँडै लिन सकिने खेती के हुनसक्छ भनेर खोज्दै जाँदा युट्यूबमा तितेपाती खेतीका बारेमा जानकारी पाएँ,’ सनमले भने, ‘त्यसपछि गाउँ फर्किएर तितेपाती खेती थालेको हुँ।’
उब्जनी नहुने खेतबारी र पाखा भित्ताबाट थोरै परिश्रम र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि ताप्लेजुङका किसान तितेपाती खेतीमा लागेका छन्।

औषधि बनाउन प्रयोग हुने तितेपातीको पात र डाँठसँगै बिरुवा बिक्रीबाट आम्दानी हुन थालेको छ। तितेपातीलाई प्रत्येक १५ देखि २० दिनमा संकलन गर्न सकिने गुरुङले बताए। यसको सुकेको पात तथा डाँठ प्रतिकेजी ५० रुपैयाँमा विक्री हुने उनको भनाइ छ।

ढाड र नसाका समस्या भएका बिरामीको शरीर दुखाइ निको पार्न प्रयोग गरिने औषधि निर्माणका लागि प्रयोग हुने मोग्जा स्टिक बनाउन तितेपाती काठमाडौंको यामासो प्रालि नामक कम्पनीले लैजान्छ।

यस्तै, बिरुवा भने एक रुपैंयाँ प्रतिगोटामा बिक्री हुने गरेका छन्। यामासो प्रालिले खरिद गरेर लैजाने गरेपनि अझै माग धान्न नसकेको किसानहरूको भनाई छ।

किसानले उत्पादन गरेको तितेपाती कम्पनीले घरैमा आएर खरिद गर्ने भएपछि व्यक्तिगत जग्गाका तितेपाती रोप्ने अभियान थालिएको छ। जिल्लाको आठराई त्रिवेणी, मिक्वाखोला लगायतका स्थानका किसानले पनि विरुवा खरिद गरेर व्यावसायिक खेती सुरु गरिसकेका छन्।

विरुवाको माग अहिले देशैभरबाट आएको सनमले बताए। तितेपातीबाट तयार हुने मोग्जा स्टिक जापान निर्यात हुने गरेको छ। मोग्जा स्टिक नसा र ढाड दुःखाइसँगै शरीरका विभिन्न रोगको उपचार अर्थात् मोग्जाथेरापीका रूपमा पनि प्रयोग हुने गरेको छ। तितेपाती खेती र प्रशोधनसँगै तयार गरिएको मोग्जा स्टिक नेपालबाट जापान निर्यात हुँदै आएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *