विदेशी पर्यटकसहित १२ जना हिमपातले तुम्लिङमै फसे, हेलिकाेप्टरमार्फत उद्धारकाे तयारी
सिमकोट। हुम्लाकाे नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा राेकिएका छन्।
लिमीको ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसके पछि स्लोभेनियाका चार नागरिक, तीन जना गाइड र पाँच जना स्थानीय गरी १२ जना तुम्लिङमा रोकिएकाे प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
ट्रेकिङमा आएका स्लोभेनियाका नागरिकको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेकाे प्रजिअ आचार्यले जानकारी दिए । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन।
उद्धारका लागि हेलिकोप्टर मगाइएको र बिहीबार उद्धार गरिने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । हिमपातको कारण नाम्खा गाउँपालिका-६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरुले बाटो छिचोल्न सकेका छैनन्।
२२ असोजमा सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएकाे टोली र ट्रेकिङपछि न्यालु लेक हुँदै सिमकोट आउने कार्यक्रम थियाे ।
तर न्यालु लेकमा बाक्लो हिमपात भएपछि फर्कन नसकेकाे रिऋा टुरका हुम्ला प्रतिनिधि पेमा लामा बताए । न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात छ । बाटाे अवरुद्ध बनेकाे नाम्खा गाउँपालिका-६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment