बेमौसमी वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध

डिसी नेपाल
६ कार्तिक २०७८ ८:५८
64
Shares

खोटाङ । बेमौसममा परेको वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध बनेका छन्। ३१ असोजदेखि २ कात्तिकसम्म परेको अविरल वर्षाका कारण जिल्लाको महुरे–रसुवाघाट, दिक्तेल हाटडाँडा–खानीडाँडा–पञ्चमी, दिक्तेल अस्पतालचोक–मात्तिम लगायतका कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।

वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण यातायात सेवा प्रभावित भएको हो। कतिपय ठाउँमा पहिरो खसेका कारण कच्ची सडक अवरुद्ध बनेको हो। दिक्तेल–पाथेका र दिक्तेल–खार्मी सडकमा गत वर्षादेखि नै सवारी साधन चलेका छैनन्।

बेमौसममा परेको वर्षाका कारण जिल्लाका १० स्थानीय तहका कच्ची सडकको अवस्था पनि उस्तै नाजुक छ । सवारी साधन सञ्चालन नहुँदा आकस्मिक काम तथा चाडवाडका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । कच्ची सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बूलेन्स सेवा सबैभन्दा बढी प्रभावित भएको छ । एम्बूलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्ने गरिएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम र दिक्तेल–निर्मलीडाँडा सडक खण्डमा भने नियमित सवारी साधन सञ्चालन भइरहेको छ । कालोपत्रे भइसकेका दिक्तेल–जयराम सडकले नै हालसम्म जिल्लालाई हिउँद वर्षा राष्ट्रिय सडक सञ्जालमा जोडिरहेको छ ।

साविकको सदरमुकाकै सडकमा हिलो

वर्षाका कारण साविकको सदरमुकाम दिक्तेलबजारकै सडक हिलाम्मे बन्ने गरेको छ । दिक्तेलबजारको हाटडाँडादेखि सिँचाईगेटसम्मको सडक खण्ड ढलानमा ढिलाइ हुँदा र वर्षाको पानीले हिलाम्मे हुँदा पैदल यात्रा गर्न समेत असहज भइरहेको छ । वर्षामा दिक्तेलबजारका कतिपय ठाउँमा आहालजस्तै धमिलो पानी जम्ने गरेको छ । हिलो जमेको सडकको किनाराबाट हिँडडुल गर्दा समेत यात्रुको जुत्ता चप्पल हिलोमा भासिने गरेको छ । सडकमा जमेको हिलो सवारी साधनले उछिट्याउँदा पैदल यात्रीलाई भिजाउने गरेको गुनासो छ ।

हालसम्म दिक्तेलबजारको रत्नपार्कदेखि पुरानो बेस क्याम्पसम्म, त्रिबेणीचोकदेखि मालपोत कार्यालय र भवनगैरादेखि कृषि ज्ञानकेन्द्रसम्म ढलान भइसकेको छ। हाटडाँडादेखि त्रिबेणीचोक हुँदै पुरानो बेस क्याम्पसम्मको खण्ड ढलान गर्न बाँकी छ । त्यसमध्ये टेलिकमको कार्यालयदेखि हाटडाँडा क्षेत्रमा दिक्तेल–खानीडाँडा आहाले सडक कालोपत्रे गर्ने क्रममा स्वःत ढलान हुने छन्। टेलीकमदेखि सिँचाईगेटसम्मको खण्डको ढलानका लागि ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सुर्य विकास जेभी लाहानको ढिलासुस्ती देखिएको छ । भएका काममा पनि गुणस्तर कायम नभएको नेपाल तरुण दल खोटाङका उपाध्यक्ष सञ्जयकुमार राईले बताए।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाखमा आगामी २० मंसिर सम्ममा सम्पन्न गर्नेगरी सूर्य विकास जेभीले गत १० असारमा ठेक्का सम्झौता गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.