तिहार लगत्तै विदेशिन थाले युवा

फुर्पा शेर्पा
२२ कार्तिक २०७८ ११:२२
84
Shares

काठमाडौं। नेपालीहरुको महान चाड बडा दसैँ र तिहार सकिएसँगै नेपालीहरु विदेशिन बाध्य भएका छन् । वर्ष दिनमा एक पटक पारिवारिक मिलनसमेत हुने यि चाडमा देश विदेशमा भएका आफन्त टीका लगाउनका लागि घरमा जम्मा हुने र रमाइलो गर्ने गर्दछन् ।

त्यसो त केही नेपाली युवाहरु यि महान चाड नजिकिदै गर्दा समेत मुलुकभित्र रोजगारी नपाएर खाडीलगायतका मुलुकमा रोजगारीका लागि बाहिरिनेक्रम बाक्लिएको थियो। यतिबेला मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थोरै खुसी र भारी मन लिइ युवा विदेशिन विवश छन्।

बंगलादेशमा भेट्नरी मेडिसन अध्ययन गर्न विदेशिन लागेका हिमान्सु कुमार तिवारीले आफूहरुलाई जान मन नभएपनि युनिभर्सिटीले बोलाएपछि जान लागेको बताए। उनले भने, ‘म बंगलादेशमा भेट्नरी मेडिसन अध्ययन गर्न जान लागेको हो ।’

लकडाउन अघि आएका उनले नेपालबाटै अनलाइनमार्फत युनिभर्सिटीको पढाइ गरिराखेको बताए । उनले भने, ‘दसैँ र तिहार सकेर बाँकी पढाइ सकाउन विदेश जान लागेको हो।’

त्यसैगरी, एयरपोर्टमा भेटिएका जनकपुरका राहुल शाह एग्रिकल्चर अध्ययनका लागि बंगलादेश जान लागेका रहेछन्। लकडाउनका कारण नेपाल फर्किएका शाहले पनि दसैँ र तिहार मनाइसकेर बाँकी अध्ययन पूरा गर्न आफ्नो देश छोडेर जान लागेको बताए।

उता, वैदेशिक रोजगारीको लागि विदेशिन लागेकी नुवाकोटकी ३१ वर्षीया गोमा मुडवरीले दसैँ र तिहार मनाएर दुबई जान लागेको बताइन् । सात वर्षअघिदेखि दुबईमा काम गर्दै आएकी उनले यसअघि पनि नेपाल आउने जाने गरेको सुनाइन् ।

उनले भनिन्, ‘यसपाली पनि नेपाल आइ चाडपर्व परिवारसँग मनाइ दुबई जान लागेको हो । दुबईमा मेरो काम राम्रो छ, तर चाडपर्व सक्ने बित्तिकै परिवारबाट टाडा जानु पर्दा चाहीँ अलि नरमाइलो लाग्छ ।’

अबको केही वर्षमा नेपाल आएर व्यापार व्यवसाय गर्ने सोच रहेको बताउने उनले दुखेसो पोख्दै भनिन्, ‘हामी बाहिर धेरै दुःख गर्छौ त्यही दुख नेपालमै गर्यो भने राम्रो हुन्छ, म अब १, २ वर्ष जति बाहिर बसेर नेपाल फर्किन्छु र यहि केही न केही व्यवसाय गर्छु ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *