कोभिड–१९ ले मिडिया क्षेत्रमा पारेको असर : कमजोर मिडिया म्यानेजमेण्ट मुख्य चुनौती

डिसी नेपाल
२३ कार्तिक २०७८ १०:१६
356
Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को बहानामा ५ सय १७ जना पत्रकारलाई नियमित सेवा सुविधा नदिने, बेतलवी बिदामा राख्ने तथा जागिरबाट निष्कासन गरियो। पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा श्रम समस्याका बारेमा परेका ५ सय १७ उजुरी मध्येबाट डेढ वर्षको अवधिमा करिव ४०० जना पत्रकारको समस्या समाधान गरिएको छ।

यसमा कोभिडका कारण निस्काषन भएका पत्रकारलाई पुनःबहाली भन्दा पनि त्यस समयमा उनीहरुले काम गरे बापत्को सेवा सुविधा दिलाउने काममा महासंघले नेतृत्व लिएको थियो।

२०७८ सालमा कोभिडको कारण देखाउँदै खाइपाइ आएको सेवा सुविधा घटाउने, प्रकाशन गृह बन्द गर्ने नाममा राजीनामा गर्न बाध्य गराउने जस्ता समस्यामा २ सय ५० जना पत्रकारको उजुरी महासंघमा परेको थियो। ती मध्य १ सय ७५ जना पत्रकारको समस्या समाधान गरिएको महासंघले जनाएको छ। अझै ७५ जना पत्रकारको समस्या भने समाधान भएको छैन।

२०७६ साल चैत ११ गते कोभिड महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि भन्दै मुलुकभर लकडाउन गर्यो। त्यसो त माघदेखि नै चीनमा तीव्र गतिमा फैलिएको कोरोनाको चर्चा नेपालमा पनि शुरु भइसकेको थियो।

माघ २१ गते नेपालको संसदमा कोरोना संक्रमण फैलिन नदिन नेपालले गर्नुपर्ने पूर्व–शतर्कताका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । माघ २१ गतेसम्म विश्वका २३ मुलुक र चीनका २२ प्रान्तमा फैलिएको संक्रमणबाट चीनमा ३ सय ६१ र चीन बाहिर फिलिपिन्समा गएका बेला १ जना चिनियाँ नागरिकको मृत्यु भइसकेको थियो ।

लकडाउन हुनुपूर्व झण्डै ४ महिनाको समय पाउँदा पनि महामारी, महाबिपत्ति लगायत जस्तो सुकै शंकटको समयमा पनि अग्रपंक्तिमा बसेर सूचना सम्प्रेषण गर्ने जिम्मेवारी बोकेका मिडिया हाउसहरुले सम्भावित जटिल परिस्थिती र स्वास्थ्य शतर्कताबारे पूर्वतयारी गर्न सकेनन् । विश्वले नै गर्न नसकेको हामीले कसरी गर्न सक्ने थियाैं र ? भन्ने ओठे जवाफ सबैसँग थियो ।

फलतः लकडाउन शुरु भएसँगै कतिपय मिडिया हाउसले आफ्ना प्रकाशन बन्द गरे भने कतिपयले घरबाटै काम गर्ने व्यवस्था मिलाए ।
त्यसपछि शुरु भयो मिडिया क्षेत्रको अस्तव्यस्त । पत्रकारले तलव पाएनन् । खर्च कटौतीको बहानामा जागिर गुमाउनुप¥यो । दैनीक जीवन यापन प्रभावित बन्यो ।

उज्यालो रेडियो नेटर्वकका स्थायी पत्रकार लक्ष्मण कार्की मिडिया हाउसको खर्च कटौतीको मारमा परे। लकडाउन शुरु भएसँगै एक महिना घरबाटै काम गरेका कार्की त्यसपछि १५ दिन जेनतेन कार्यालय आए तर सवारी साधन सञ्चालन नगर्ने कार्यालयको नियम अनि ३० प्रतिशत तलव  कटाैती गर्ने व्यवस्थापनको प्रश्ताव अस्वीकार गर्दे जागिर छोडे ।

उनले भने–‘बिहान ६ बजेको समाचारका लागि ५ बजे कार्यालय पुग्नु पर्ने थियो । लकडाउनको समयमा अन्य सवारीसाधन चल्ने कुरा भएन । मेरो बसाई पनि टाढा थियो । व्यवस्थापनले कर्मचारी ओसार्ने सवारीसाधन ग्यारेजमा थन्काउने निर्णय ग¥यो । आधारभूत सेवा सुविधा कटौती गरेपछि बाध्य भएर छोड्नु परेको हो ।’

न्युनतम पारिश्रमीकको समस्या समाधान भएपनि श्रमजीवि पत्रकार ऐन अनुसारको सेवा सुविधाका लागि आफूले अझै पनि कानूनि लडाई लडिरहेको कार्की बताउँछन् ।

अन्नपुर्ण पोष्टमा कार्यरत रामकृष्ण अधिकारी पनि कोभिड–१९ कै कारण जागिर छोड्न बाध्य भए। हाल नेपाल पत्रकार महासंघमा प्रेस स्वतन्त्रता अनुगमन तथा श्रम समस्या समाधान विभागका सह संयोजकको रुपमा भूमिका निर्वाह गरिरहेका अधिकारी कोभिड–१९ को कारणले मात्रै नभई व्यवस्थापक तथा सम्पादकको नियतजन्य परिस्थितीका कारण पनि पत्रकारहरु तलव कटौती, बेतलवी तथा निष्कासनमा पर्ने गरेको बताउँछन्। तलव कटौती गर्ने, पत्रकार निकाल्ने, बेतलवी राख्ने, बिदामा बस्नु भनेर पछि नबोलाउने, स्ट्रेन्जरलाई निकाल्ने ,स्थायी कर्मचारीलाई शंकटको समयमा सरुवा गरिदिने जस्ता समस्या अहिले पनि अन्त्य भइसकेका छैनन् ।

सगरमाथा एफ.एम.की सम्झना महर्जनलाई चित्त बुझ्दो काम नगरेको भन्दै घटुवा गरेपछि महासंघको पहलमा पुरानै पदमा बहाली गरियो । कोभिडको दोश्रो लहरपछि अन्नपूर्ण पोस्ट, नागरिक दैनिक र रेडियो सगरमाथा एफ.एम.मा सबै भन्दा ठूलो समस्या देखिएपछि महासंघले कार्यालयमा धर्ना लगायत कार्यक्रम गर्ने चेतावनी सहितको ३ दिने अल्टिमेटम दिएपछि तीन वटै संस्थाका व्यवस्थापक समस्या समाधान गर्ने तर्फ उन्मुख भएका छन् ।

कार्की र अधिकारी जस्ता झण्डै १ हजार बढी पत्रकारहरु कोभिडका कारण विभिन्न सेवा सुविधाबाट वञ्चित हुनुको साथै निष्कासनमा परेका छन् । तर महासंघसँग जम्मा ६ सय जना पत्रकारले रोजगारी गुमाएको तथ्यांक छ । केहीको मात्रै उजुरी महासंघमा परेको छ । बाहिर खुल्न नचाहने पत्रकारहरुको संख्या अनुमान गरे भन्दा बढी छ । कार्यगत सिलसिलामा १ हजार बढी कोभिड संक्रमित भएका छन् भने २५ जनाको कोभिडका कारण ज्यान गएको छ ।

त्यसो त लकडाउन शुरु भएलगत्तै ठूलादेखि साना केही मिडिया हाउसहरुले आफ्ना प्रकाशन नै बन्द गरे । नेपाल प्रेस काउन्सिलका अनुसार कोभिड–१९ को संक्रमण बढेसँगै चैत ७ मा वक्तव्य निकाली १६ साप्ताहिक पत्रिकाले आफूले पत्रिका ननिकाल्ने जानकारी दिए । कान्तिपुर पब्लिकेसन्सले चैत १४ मा विशेष प्रकाशकीय प्रकाशन गरी केही समयका लागि छापा माध्यम (कान्तिपुर, द काठमाडौँ पोस्ट, साप्ताहिक, नेपाल र नारी म्यागेजिन) बन्द गर्ने निर्णय गर्‍यो ।

अंग्रेजी दैनिक द हिमालय टाइम्सले पनि छापा बन्द गर्‍यो तर ईपेपरलाई यथावत राख्यो । केहीले पत्रिकाको पाना घटाएर प्रकाशन निरन्तर गरे। नागरिक दैनिक चैत १२ देखि नै १२ पानाबाट ८ मा, गोरखापत्र र अन्नपूर्ण पोस्ट दैनिक पनि ८–८ पानामा निरन्तर छापिए।

नयाँ पत्रिका दैनिक पाना नघटाई निरन्तर छापियो । एकहप्ता जति बन्द भएपछि फेरि चैत २२ बाट कान्तिपुर र द काठमाडौँ पोस्ट प्रकाशित भए। नारी अहिले प्रकाशनमा आएको छ ।

नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालयले संयुक्तरुपमा गरेको राष्ट्रिय सर्वेक्षणले नेपालमा कोरोनाका कारण आम सञ्चार तथा पत्रकारिता क्षेत्र गम्भीर रुपमा प्रभावित भएको देखाएको छ ।

२०७७ असार २६ देखि साउन ९ गतेसम्म मुलुकभरका सबै किसिमका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको उक्त सर्वेक्षणले पत्रकारहरुमा मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादन समेत घटेको देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिकरुपमा प्रभावित भएका छन् । तीमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् ।

हिमाल मिडिया प्रालिद्वारा सञ्चालित हिमालखबर डटकमका प्रकाशक कनकमणि दीक्षित कोभिड–१९ बाट अन्य क्षेत्र जस्तै मिडिया बजार पनि प्रभावित भएको बताउँछन् । कोभिडका कारण विज्ञापन बजार खुम्चिएपछि स्वतन्त्र पत्रकारितालाई असर गरेको तर्क गर्छन् ।

उनी भन्छन्, ‘कोभिडका कारण बजार तहसनहस भयो । स्वतन्त्र पत्रकारिताका लागि बजार चाहिन्छ । विज्ञापन चाहिन्छ । विज्ञापन बजार खुम्चियो । यसले स्वतन्त्र पत्रकारितालाई असर गरेको छ । उत्पादित सामाग्रीका लागि बजार चाहिन्छ ।’ कोभिडको बहानामा पत्रकारलाई निष्कासन गरिएका घटनामा भने उनको प्रतिक्रिया यस्तो थियो ‘प्रकाशकले पत्रकारलाई बिदा दिँदा जिम्मेवारी निभाउनु पर्छ ।’

त्यसैगरी उज्यालो रेडियो नेटवर्कको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरकी निर्देशक मण्टेश्वरी राजभण्डारी कोभिडका कारण विज्ञापनको बजार खुम्चनु, दक्ष जनशक्तिको कमी र अस्वस्थ प्रतिष्पर्धा कायमै रहेकाले सञ्चार गृहहरु समस्यामा परेको बताउँछिन् । विज्ञापन बजार खुम्चिएसँगै आफूहरु खर्च कटौतिमा जानु परेको उनको तर्क छ ।

उनले भनिन्–‘खर्च कटौती गर्ने क्रममा कर्मचारीलाई ओसार्न प्रयोग हुँदै आएका सवारी साधन सञ्चालन रोक्ने निर्णय गरियो । त्यसबाट आफ्नो सवारी साधन नभएका र सवारी साधन नचलाउने साथीहरुलाई मर्का परेको हुनसक्छ तर कर्मचारी निष्कासन गर्ने नीति हामीले लिएका होइनौँ, थिएनौँ ।’

सञ्चार माध्यमको प्रमुख आयस्रोत नै विज्ञापन भएको र कोभिडका कारण त्यसमा कमी आउँदा समस्या भएको मिडिया सञ्चालकहरुको भनाई छ। नेपाली मिडिया उद्योगमा विज्ञापनबाट कति आम्दानी हुन्थ्यो र कोरोनाका कारण कति घटेको छ भन्ने आधिकारिक तथ्यांक त छैन तर नेपाल विज्ञापन एजेन्सी संघ (आन) का अनुसार मुलुकभर छापा माध्यममा ८० प्रतिशत, रेडियोमा ७० प्रतिशत, टेलिभिजनमा ६० प्रतिशत र अनलाइनमा ४५ प्रतिशत विज्ञापन घटेको छ ।

राष्ट्रिय टेलिभिजन प्रसारक संघले २०७६ चैत्रदेखि २०७७ असार मसान्त सम्मको ४ महिने अवधिलाई पूर्णक्षति, २०७७ साउनदेखि पुस सम्मको ६ महिने अवधिलाई आंशिक क्षति र २०७७ माघदेखि २०७८ पुससम्म कम्तीमा १ वर्षको अवधिलाई अत्यन्तै प्रभावित समयको रूपमा आँकलन गर्दै सरदर एउटा केवल माध्यमबाट सञ्चालित टेलिभिजनले प्रभावित अवधिमा १ करोड ७० लाखभन्दा बढी क्षति व्यहोर्ने उल्लेख गरेको छ ।

सामुदायिक रेडियो प्रसारक महासंघले २ सय २४ वटा सामुदायिक रेडियोमा गरेको अध्ययनले रेडियोको ७५ प्रतिशत नियमित आम्दानी घटेको देखाएको छ । विज्ञापन, सूचना र कार्यक्रम उत्पादन प्रसारणको आम्दानीसमेत बन्दाबन्दीका कारण उठ्न सकेको छैन (अको¥याब, २०२०) । यस्तै ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान) का अनुसार रेडियोको आम्दानी करिव ८० प्रतिशत घटेको छ । (प्रेस काउन्सिल नेपाल, २०७७)

सञ्चार माध्यममा परेको आर्थिक शंकटको प्रत्यक्ष असर समग्र पत्रकारिता क्षेत्रमा प¥यो र त्यो मुख्य गरी पत्रकारको पेशागत सुरक्षामा गएर प्रकट भएको देखिन्छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)का अनुसार विश्वभर करिव ७ प्रतिशत पत्रकारहरुको रोजगारी खोसिएको छ। ३७ प्रतिशतभन्दा बढीको पारिश्रमिक कटौती भएको छ । स्वतन्त्र पत्रकारहरुको आम्दानीमा पनि कमी आएको छ ।

कमजोर मिडिया व्यवस्थापन
कोभिड–१९ महामारीले नेपाली मिडिया व्यवस्थापनको कमजोरीलाई उजागर गरेको छ । पत्रकारहरुको रोजगारी गुम्नु र २/४ महिना बजार ठप्प हुने बित्तिकै मिडिया सञ्चालकले कामको निरन्तरताका लागि आत्मविश्वास गुमाउनुको मुख्य कारक नै मिडिया व्यवस्थापन हो। मिडिया क्षेत्रमा देखिएका आम समस्याले अन्ततः मिडिया म्यानेजमेण्ट अत्यन्तै कमजोर रहेको प्रमाणित गरेको छ ।

सरकारी बाहेक निजी क्षेत्रका मिडियामा २० अर्बको हाराहारीमा लगानी भएको अनुमान गरिन्छ । तर यसलाई परिचालन गर्ने ढंगले नीति बनाएर काम गर्ने सवालमा सरकार उदासिन रहेका कारण पनि समस्या सतहमा आएको हो । पत्रकार महासंघका सभापति विपुल पोख्रेल पत्रकारहरुको रोजगारी खोसिने लगायत मिडिया क्षेत्रमा देखिएका समस्या कमजोर मिडिया व्यवस्थापनका कारण उत्पन्न भएको बताउँछन् ।

उनले भने ‘निजी क्षेत्रको लगानीलाई परिचालन गर्ने ढंगले नीति बनाएर काम गर्ने सवालमा सरकार उदासिन देखियो । पूँजी डुब्न नदिने सवालमा राज्य अगाडि आउनुपर्ने देखियो । परम्परागत मिडियालाई चुनौती आएको छ । सरभाईवको लागि फरक ढंगले सोच्नु जरुरी छ ।’

सम्पादकहरु स्वयम् नै श्रमजीवि पत्रकारको पक्षमा व्यवस्थापनसँग प्रभावकारी ढंगले कुरा गर्न नसक्नु, ठूला, वरिष्ठ र नाफा कमाएको भनेर आफूलाई चिनाउँदै आएका सञ्चार संस्थाहरु शंकटमा जिम्मेवार र कर्तव्यवोध गर्नुको सट्टा नाफामुखी बन्दै कोभिडको बहानामा प्रकाशन नै बन्द गरेर पत्रकारहरुलाई निष्कासन गर्न लागि पर्नु नै मुख्य चुनौती रुपमा देखिएको महासंघको बुझाइ छ ।

बर्षौंदेखि नाफा कमाएका सञ्चारमाध्यमले प्रत्येक वर्ष नाफाको केही प्रतिशत आपत्कालीन कोष(कर्मचारीको हीतमा खर्च हुने गरी) मा जम्मा गर्ने गरेको भए शंकटमा सोही कोष सहयोगी बन्न सक्ने थियो । त्यसतर्फ न त राज्यले पहल ग¥यो न त तात्कालीन समयमा पत्रकार महासंघको भूमिका नै सक्रिय देखियो ।

विज्ञापन बेच्ने कि समाचार ?

कोभिड–१९ ले नेपाली मिडियाहरुलाई समाचार सामाग्रीमा आफूलाई टिकाईराख्ने कि विज्ञापनले बचाईराख्ने भन्ने मुख्य चुनौती दिएको छ । निश्चय पनि कोभिडले विज्ञापनको बजारलाई अलमल पारेको छ । यतिखेर कतिपयमा विज्ञापन विद्युतीय माध्यममा मात्रै दिनुपर्छ भन्ने बुझाई देखिन्छ भने पत्रिका मात्रै हुँदा बनेका सरकारी नियम कानूनमा पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने भन्ने बाध्यकारी व्यवस्थाहरु पनि छन् ।

महासंघका सभापति पोख्रेल भन्छन् ‘सबै मिडियाको विज्ञापन माथि अधिकार स्थापित गर्नु जरुरी छ । त्यसैले बदलिँदो परिस्थितिमा सरकारी विज्ञापन नीतिमा समग्र पुनरावलोकन गर्नुपर्छ ।’

उनी विज्ञापन बेच्ने कि समाचार बेच्ने भन्ने विषयमा सञ्चारमाध्यम स्पष्ट हुनुपर्ने र समाचार बेचेर टिक्नका ‘कन्टेन मार्केटिङ स्किल्ड’ बढाउनुपर्ने बताउँछन् ।

वरिष्ठ पत्रकार हरिबहादुर थापा कोभिड महामारीले पत्रकारिता क्षेत्रलाई अस्थिर बनाउनुको साथै ज्ञानको सामाग्री कमजोर भएको तर्क गर्छन् । ‘कोभिडले पत्रकारिता क्षेत्रलाई अस्थिर बनायो । सूचनाकारिता बढी भयो । खोजमुलक कम भएको छ । ज्ञानका सामाग्री कमजोर अनि सतही टिप्पणी हावी भयो ।’ उनले भने ।

जब खोजमुलक समाचार पस्कने क्रममा कमी आउँछ त्यहाँ सतही टिप्पणी बढी हुन्छन् र अन्ततः त्यस्ता सामाग्रीका आधारमा बन्ने विचारधाराले राज्यलाई नै अफ्ठ्यारोमा पार्न सक्ने खतरा बढेको तर्क पत्रकार थापाको छ । प्रिन्ट मिडिया यही रुपमा टिकिरहन गाह्रो हुने तथा राष्ट्रिय स्तरका पत्रिकाहरुको फैलावट रोकिएर राजधानी केन्द्रीत हुनुको साथै अनलाइनमा सिफ्ट भएकाहरु पनि सशक्त कन्टेनको अभावमा धरासायी बन्ने खतरा बढ्दै गएको उनको तर्क छ । मिडियामा स्थापित हुनका लागि खोजमुलक सामाग्री निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उनी बताउँछन् ।

पत्रकारिताको बजार खुम्चिएको कि फैलिएको ?

कोभिडका कारण स्थापित सञ्चारगृहहरुले समेत आ–आफ्ना प्रकाशन बन्द गर्ने तथा उत्पादन घटाउने, जनशक्ति कटौती लगायतका काम गरिरहेका बेला नयाँ मिडिया लगानीकर्ताहरुको संख्या भने त्यत्तिकै बढेको छ ।

सूचना तथा प्रशारण विभागबाट प्रेस पास लिने पत्रकारहरुको संख्या पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो ४ महिनासहित अघिल्ला ३ आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने अनलाई दर्ताको साथै प्रेस पास लिने पत्रकारहरुको संख्या पनि बढेको देखिन्छ ।

विभागका अनुसार, २०७८/७९ को कात्तिक १६ गते सम्म १ हजार २ सय ५० जनाले नयाँ , २ हजार ३ सय १३ जनाले नविकरण र अध्यक्ष तथा प्रकाशक, प्रबन्धक ७६ जना गरी जम्मा ३ हजार ६ सय ३९ जनाले प्रेस पास लिएका छन् ।

२०७८/७९ कात्तिक १६ गते सम्म ५ सय ६३ वटा अनलाइन दर्ता भएका छन् । विभाग पुगेर ३ सय ५२ नयाँ अनलाइन दर्ता भएका छन् भने श्रावण २० गते देखि अनलाइन मार्फत् २ सय ११ वटा अनलाइनले दर्ता गराएका छन् । त्यसैगरी १ सय ७३ वटा अनलाइनले नविकरण गरेका छन् ।

त्यसैगरी २०७७/७८ मा १८ सय ३४ जनाले नयाँ, २ हजार ८ सय ३४ जनाले नविकरण, १४ स्वतन्त्र, १४ विदेशी, अध्यक्ष, प्रकाशक, प्रबन्धक १ सय गरी जम्मा ४ हजार ७ सय ९६ जनाले प्रेस पास लिएका छन् । ७ सय १६ नयाँ अनलाईन दर्ता भएका छन् ।

२०७६/७७ मा ८ सय ९ जनाले नयाँ , २ हजार २ सय २० जनाले नविकरण, स्वतन्त्र ७, विदेशी १८, अन्य ९, अध्यक्ष, प्रकाशक, निर्देशक, व्यवस्थापक २५ गरि जम्मा ३ हजार ८७ जनाले प्रेस पास लिएका छन् ।

यस अवधिमा ५ सय ६१ नयाँ अनलाइन दर्ता भएका छन् भने २ सय ७२ वटा अनलाइन नविकरण भएका छन् । लकडाउनको समयमा आवातजावतमा सहज हुने भएकाले पनि कतिपयले अनलाइन दर्ता गराएर प्रेस पास लिने गरेको पाइन्छ । तर विभाग भने आवश्यक कागजपत्र पुगेपछि आफूहरुले दर्ता र प्रेस पास दिनका लागि रोक्न नमिल्ने तर्क गर्छ ।

महासंघका सभापति पोख्रेल अनलाइन दर्ताको संख्या बढ्नुले प्रविधिको विकास सँगै सूचना सम्प्रेषणको सवालमा परम्परागत मिडियालाई चुनौती आएको र आफूलाई स्थापित गर्नको लागि फरक ढंगले सोच्नु आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘प्रविधिको विकासलाई प्रयोग गरिएको हो । अन्यथा भन्न मिल्दैन । पत्रकारिताको आचारसंहिता कसरी पालना गराउने भन्ने विषय मुलभूत हो ।’

व्यवसायीक सुरक्षा र प्रविधि

कोभिड–१९ ले पत्रकारलाई प्रविधिसँग खेल्न सिकायो । प्रविधिको ज्ञान अत्यावश्यक रहेछ भन्ने बोध गरायो । फोटो र भिडियोका साथीहरु बाहेक अन्यले घरमै बसेर पनि समाचार बनाउन, संकलन गर्न सकिँदोरहेछ भन्ने विश्वास दिलायो ।

टेलिभिजनमा समाचार पढ्नुपर्ने, भिडियो संकलन गर्न जानुपर्ने र स्टुडियो भित्रका केही प्राविधिक काम गर्ने बाहेक अन्यले घरमै बसेर समाचार लेख्न सकिँदो रहेछ भन्ने सिकायो । केही बद्नियतका घटना बाहेक प्रविधिमैत्री नभएका कारण पनि कतिपयले रोजगारी गुमाएका छन् ।

राजनीतिक रुपमा अस्थिर हुने हाम्रो मुलुक सानातिना घटनाले पनि तत्काल आर्थिक अवस्थामा असर पार्ने गरेको छ । बेला बेलामा कुनै न कुनै प्राकृतिक विपद् अर्थात् शंकटको सामना गर्नुपर्ने हुँदा मिडिया लगानीकर्ता अथवा व्यवस्थापनमा लागेकाहरुले नियमित काम गर्ने तौर तरिकासँगै अफ्ठ्यारो समयमा काम गर्ने योजना र व्यवस्थालाई सधैँ तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।

२०७२ सालमा भोग्नु परेको महाभूकम्प, त्यसपछि लोडसेडिङ,नाकाबन्दी अनि अहिले कोरोना कहरमा पनि मिडिया व्यवसायी, पेशाकर्मी र पत्रकार अफ्ठ्यारोमा परेका छन् । यसअर्थ सम्भावित जोखिम विश्लेषण र विपद्अघिको पूर्व तयारी गर्नुपर्ने पाठ कोरोनाले सिकाएको छ ।

यसको अर्को पक्ष भनेको सबै संगठित संस्थाभित्र तत्काल जोखिम वहन गर्न सक्ने कोष सञ्चितिको व्यवस्था, आधारभूत कामका लागि जनशक्ति, स्रोत र स्थान समेत छुट्याएर काम गर्नुपर्ने रहेछ भन्ने पनि सिकाएको छ ।

हरेक नकारात्मक घटनाले केही सकारात्मक सन्देश पनि सँगै लिएर आएका हुन्छन् । कोभिड–१९ ले प्रविधि, कार्यशैली, लगानी सुरक्षा, व्यवसायीक सुरक्षालगायत सबै क्षेत्रमा निक्कै सकारात्मक सन्देश दिएको छ पत्रकारिता क्षेत्रलाई । यसबाट सबैले पाठ सिक्नुपर्छ ।

मिडियामा लगानीको सुरक्षाको सम्बन्धमा राज्यको नीतिगत व्यवस्था दरिलो बनाउनुपर्ने पाठ कोभिडले सिकाएको छ । त्यसैगरी मिडियालाई ऋण दिने व्यवस्था, प्रविधिलाई जस्तै व्यवस्थापन पक्षलाई प्राथमिकता दिने,पत्रकार प्रशिक्षण तालिममा व्यवस्थापनको कुरा पनि समावेश गर्नुको साथै सञ्चार गृहभित्र तालिम तथा दक्ष जनशक्तिमा लगानी गर्ने संस्कृति विकास गर्नुपर्ने आवश्यक्ता खट्किएको छ ।

कोभिड महामारीको दोश्रो लहरपछि अन्य व्यवसाय जस्तै मिडिया अर्थतन्त्रमा पनि ‘स्लो डाउन’ शुरु भएको छ । यस्तो अवस्थामा व्यवसायिक आचरणसहित गुणस्तरीय समाचार पस्कने ठूलो चुनौती मिडियाले भोगिरहेको छ। जोखिमका बेला जसरी पनि टिक्नुपर्छ भन्ने अभिप्रायले पत्रकारितामा विकृति बढाउँछ। यसतर्फ मिडिया क्षेत्र थप सचेत हुन जरुरी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.