बागलुङ किसानका व्यथा : सुन्तलाले पाएन मूल्य, सस्तोमा बेच्न बाध्य
बागलुङ। बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् ।
बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । सहरी क्षेत्रमा प्रतिकिलो १२० रुपैयाँ भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट ४०/५० रुपैयाँ मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए । व्यापारीका कारण किसान र उपभोक्ता मारमा परेको उनको भनाइ छ ।
किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताए । आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उनले बताए । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खडका बताए ।
उनले भने ‘सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादनअनुसारको मूल्य पाउन सकिन्थ्यो भने यस क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शंका छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो ४०÷५० रुपैयाँ भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।’
अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताए । किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको उनको भनाइ छ ।
किसानबाट प्रतिकिलो सुन्तला ८० रुपैयाँमा खरिद गरेर बजारमा १०० रुपैयाँमा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उनले बताए । कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१.६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्यांक आउन बाँकी छ । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment