२९६३ मत गणनाः शेखर ६३७ मतले पछाडि परे, देउवाले पाए १७८८ मत
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणना तीन हजार नजिक पुगेको छ । राति साढे १ बजेसम्म २९६३ मत गणना सम्पन्न भएको छ ।
२४ मत बदर भएको गणनामा शेरबहादुर देउवाले १७८८ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले ११५१ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको यो नतिजामा शेखर देउवाभन्दा ६३७ मतले पछाडि परेका छन् ।
दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासीमध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच पुनः मतदान भएको हो ।
सोमबार भएको मतदानमा सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।







डिसी नेपाल







Facebook Comment