बाल्टिमोरमा बानाको रक्तदानमा लोगो हटाउन एनआरएनएको दबाब

डिसी नेपाल
१६ माघ २०७८ २१:१०

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरस्थित नेपालीहरुको साझा संस्था बाल्टिमोर एशोसियशन अफ नेप्लिज ईन अमेरिका (बाना) आयोजनामा गैरआवासीय नेपाली संघसमेतको संलग्नतामा आयोजित रक्तदान कार्यक्रम चल्दा चल्दै संघको अमेरिकाका महासचिवले आफ्नो लोगो हटाउन दबाब दिएका छन् ।

बानाले अमेरिकन रेडक्रस र विभिन्न २० वटा संस्थाहरूसंगको सहकार्यमा जनवरी २९ शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा आफ्नो संस्थाको लोगो तुरून्त हटाउन एनआरएनए, अमेरिकाका महासचिव अन्जनकुमार चौलागाईले दबाब दिएपछि रक्तदान नै एकछिनसमेत अन्यौल भएको थियो ।

अमेरिकन रेडक्रसको प्राविधिक सहयोगमा एनआरएन मेरिल्याण्ड शाखा सहित २० वटा संस्थाहरूको सहकार्यमा रक्तदान कार्यक्रममा लोगो हटाउन बानाका महासचिव किरण ढकाललाई फोन गरी दबाब दिएका थिए । एनआरएनएको सहभागिता हुँदा लोगो किन हटाउनु परेको हो भन्नेबारे भने उनले स्पष्ट कुरा नगरेको वानाका महासचिव ढकालले बताए ।

एनआरएनए मेरिल्याण्ड शाखा अध्यक्षसँग समन्वय गरेर राखिएको हो, कुनै अपराध गरेका होईनौ, भन्नुस के गरौ भनेर प्रश्न गर्दा “मलाई अरू कुरामा जानु छैन, लोगो हटाउदा राम्रो हुन्छ” भन्ने जवाफ दिएको ढकालले बताए ।

कार्यक्रम शुरु भइसकेको अवस्थामा सहआयोजकमध्येको एक संस्थाको लोगो कसरी हटाउने भन्ने समस्या आयोजकहरुलाई परेको थियो । तर, एनआरएनए अमेरिकाका महासचिव चौलागाईंले भने संस्थाको लोगो अनाधिकृतरुपमा प्रयोग हुनु राम्रो नभएकोले आफूले लोगो हटाउन भनेको बताए ।

डिसी नेपालसँग कुरा गर्दै उनले रक्तदान राम्रो कार्यक्रम हो तर संस्थाको लोगो प्रयोग गर्दा जानकारीसमेत नदिनु राम्रो होइन, सोधेर राख्नुपर्छ भनेको हुँ, च्याप्टरसँग कुरा भएको भए च्याप्टरको लोगो राख्नुपर्यो, केन्द्रको होइन ।

एनआरएनए मेरिल्याण्डका अध्यक्ष राजु पराजुलीले आफूले अनुमति दिएको बताए । च्याप्टरको भए पनि एनसीसीको भए पनि एनआरएन हो । हटाउने कुरा हुँदैन नहटाउनु भनेर मैँले भनेको हुँ । सामाजिक काममा सहभागी हुन पाउंदा खुसी लागेको पनि उनले बताए ।

रक्तदान कार्यक्रममा ३८ जना दाताले रक्तदान गरेका थिए । अब हरेक त्रैमासिक रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने बानाका अध्यक्ष सुबोध विलास पन्तले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *