बैदेशिक रोजगार: ८ महिनामा १९ हजार बढीले लिए श्रम स्वीकृति

रेखा श्रेष्ठ
११ चैत २०७८ १४:१४

काठमाडौँ। कोरोनाले सुस्ताएको बैदेशिक रोजगारको क्षेत्र विस्तारै उठ्दै गइरहेको छ। कोही उज्ज्वल भविष्यका लागि त कोही पढ्न, कोही चाहिँ धन कमाउन बिदेशिएका छन्।  जो जसरी गए पनि पछिल्लो समय नेपालबाट विदेशिनेको संख्या बढ्दो छ।

जनगणनाले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले २१ लाख नेपाली विदेशमा रहेका छन्। यता, वैदेशिक रोजगार विभागका अनुसार ५० सालपछिको तथ्यांक हेर्दा ५८ लाख मानिस बिदेशिएको देखिन्छ। बिदेशिएका मानिसमध्ये कति जना भित्रिएका छन् त्यसको तथ्यांक भने नभएको वैदेशिक रोजगार विभागका सूचना अधिकृत कृष्ण प्रसाद भुसालले बताए।

चालु ८ महिनामा बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेहरुमा पुरुषको संख्या १५ हजार ७ सय ६२ जना रहेको छ भने महिलाको संख्या ३ हजार ६ सय ४९ जना रहेको छ। यसरी हेर्दा ८ महिनामा बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेहरुको कुल संख्या १९ हजार ४ सय २ जना रहेको पाइन्छ।

गत वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेमा पुरुषले ५ हजार ४ सय ९२ जना र महिलामा १ हजार ४३ जना गरि कुल ६ हजार ८ सय ७२ जना रहेका छन्। अघिल्लो वर्षको तुलनामा यो बर्षको ८ महिना मै तेब्बर नै बढेको देखिन्छ।

चालु आर्थिक वर्षको साउन महिनामा १ हजार २५२ जना पुरुष र २ सय ७६ जना महिला गरी कुल १ हजार ५ सय २८ जनाले श्रम स्वीकृति लिएका छन्।  त्यस्तै, भदौ महिनामा १ हजार ७ सय ३४ जना पुरुष र ३५० जना महिला गरी कुल २ हजार ८४ जना र असोज महिनामा १ हजार ४५६ जना पुरुष र २७७ जना महिला गरि कुल १ हजार ७३३ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै, कार्तिक महिनामा १ हजार ८ सय ६० जना पुरुष र ४ सय ४९ जना महिला गरि कुल २ हजार ३०९ जनाले श्रम स्वीकृति लिएका छन् भने मंसिर महिनामा २ हजार ८ सय १३ जना पुरुष र ६ सय ५३ जना महिला गरि कुल ३ हजार ४ सय ६६ जनाले बैदेशिक रोजगारका लागि अनुमति पाएका थिए ।

यस्तै गरि पुस महिनामा २ हजार २ सय ७८ जना पुरुष र ५ सय ३१ जना महिलाले श्रम स्वीकृति लिएका छन्।  माघ महिनामा १ हजार ६ सय ७७ जना पुरुष र ३ सय ८३ जना महिला गरि कुल २ हजार ६० जना र फाल्गुण महिनामा २ हजार ६९२ जना पुरुष र ७ सय ३० जना महिला गरी ३ हजार ४ सय २२ जनाले श्रम स्वीकृति लिएका छन्।

यो चालु वर्षमा नेपालको मधेश प्रदेशबाट सबैभन्दा बढी विदेश जानेको संख्या पाइएको छ। यस्तै सुदुरपश्चिम प्रदेशबाट सबै भन्दा काम मानिस विदेश जाने गरेको संख्या रहेको विभागका सूचना अधिकृत भुसालले बताए ।

उनी भन्छन्, ‘यो वर्ष धेरै मनिसहरु साउदी अरब गए।’ मानिसहरु आफ्नो सिप र शिक्षाअनुसार देश रोज्ने गरेको उनले बताए। राम्रो सिप र शिक्षा भएकाहरु युरोप र अमेरिका जाने गरेको उनले बताए।

अघिल्लो वर्ष नेपालबाट सबैभन्दा धेरै नेपालीहरु मलेसिया गएका थिए । वैदेशिक रोजगारमा जाने मानिसमा ९० प्रतिशत महिला भन्दाबढी पुरुष हुने गर्दछन् । नेपाल बाहिर श्रम स्वीकृती लिएर लगभग ३० देखि ३५ लाख नेपालीहरु रहेको एक अध्ययनले देखाएको छ।  बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर जानेको संख्या दिनदिनै बढ्दै गएको छ।

नेपालबाट श्रम स्वीकृति लिएर विदेशमा जानेले त्यही अनुसारको राम्रो काम पाउने गरेको पनि अधिकृत भूसालले बताए।  उनले भने, ‘विदेशमा जुन कम्पनीमा काम गर्न गएका हुन्छन् त्यो कम्पनीमा घाटा अधिक भएमा वा अन्य समस्या भएर कम्पनी बन्द गर्नु परेमा कम्पनी आफैंले त्यहाँ काम गरेका नेपालीलाई टिकट काटेर स्वदेश पठाउने वा त्यहि कम्पनीले अन्य त्यहीँ अनुसारको कम्पनीमा पठाउने गर्दछ।’

विदेश जाने बेला आफुले गर्ने काम र कम्पनीको बारेमा बुझेर गए कोहि पनि नफस्ने उनले बताए। नेपालमा अहिले कुल ८५९ वटा म्यानपावर रहेको छ। त्यसमध्ये ८३२ बाट म्यानपावर सक्रिय रहेका छन्।

कतिपय म्यानपावरहरुले बैदेशिक रोजगारमा जानेहरुलाई विचल्ली बनाउने गरेको पनि पाउँछन्। नेपालमा यसरी ठगिनेहरुले वर्षेनी एक हजार देखि १२ सय सम्म रहेको विभागको तथ्याङकले देखाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *