ललितपुरमा गठबन्धन टुट्यो, एकीकृत समाजवादी एक्लै निर्वाचन लड्ने
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले जिल्लामै प्रतिनिधित्व शून्य हुनेगरी गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) अघि बढेको भन्दै ललितपुरको सबै स्थानीय तहको सबै पदमा मनोनयन दर्ता गराउने तयारी गरेको छ।
पार्टीको सहइन्चार्जसमेत रहेका केन्द्रीय सदस्य अमृत तिमल्सिनाले आज १० बजेसम्ममा उम्मेदवारहरूको टुङ्गो लगाइसक्ने बताए। बेलुकी ५ बजेसम्ममा ललितपुर महानगरपालिकासहित अन्य नगरपालिका र गाउँपालिकामा मनोनयन दर्ता गर्ने जानकारी दिए।
‘हाम्रो प्रतिनिधित्व नै शून्य हुनेगरी कांग्रेस-माओवादी अघि बढे’, उनले भने, ‘हामी पनि एक्लै निर्वाचनमा जाने तयारीमा छौं। सबै स्थानीय तहको सबै पदमा हाम्रो उम्मेदवारी रहन्छ।’
ललितपुर महानगरपालिकाको प्रमुखमा हरिकृष्ण थापा र उपप्रमुखमा उषा बज्राचार्यलाई एकीकृत समाजवादीले आइतबार नै उम्मेदवार चयन गरिसकेको छ।
तर, गठबन्धन दलको केन्द्रीय तहमा नेताहरूबीच समझदारी भएको अवस्थामा भने एक्लै अघि बढ्ने निर्णयबाट पछि हट्ने तिमल्सिनाले बताए।
कांग्रेसका बाग्मती सभापति इन्द्र बानियाँ र माओवादी बाग्मती अध्यक्ष सरल सहयात्रीले आइतबार एकीकृत समाजवादीलाई अलग्याउँदै दुई दलबीच मात्र तालमेल हुनेगरी समझदारी गरेका थिए। त्यसपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो।







डिसी नेपाल








Facebook Comment