कविता : नागरिक विद्रोह

प्रकाशचन्द्र खतिवडा
२१ कार्तिक २०८३ ९:०५
बादल मडारिनु
मेघ गर्जनु
र चट्याङ पर्नु
मौसमी विद्रोह हुन सक्छ
राता मान्छेहरु
टुक्रिएको सपना जोड्नलाई
जीवन बलिदान गर्दै
मुक्ति युद्धमा सामेल छन
थात बास गुमाएकाहरु
रोजी रोटी खोसिएकाहरु
एउटै झण्डामा गोलबद्ध हुनु
भुइँ मान्छेको विद्रोह हुन सक्छ।
म आफै सुकुम्बासी हुँ
मेरो नाममा एक टुक्रो जमिन छैन
घर छैन
नागरिकता छैन
म नागरिक हुँ या अनागरिक ?
मेरो आफ्नै देश छैन।
अनुहार भएर पनि
अनुहार हराइएको
नाम लिङ्ग र वतन
खुल्ने कुनै कागजात नभएको
मर्दा सनाखत हुनै नसक्ने
शरणार्थी हुँ म।
शासकहरु मेरो नाम भजाएर
 अनुदान थाप्छन भन्ने सुनेको छु
कागजातमा लालपुर्जा दिएको अभिलेख बनाएर
यू.एन.ओमा
फर्जी कागजात पेस गर्दै
नागरिक अधिकारको
नाटक मञ्चज गर्छन भन्ने सुनेको छु।
विरालाहरु साधु हुन सक्तैनन्
मुसाको शिकार गरि रहन्छन्
शासकहरु दयावान छैनन्
मलाई मुसो झै खेलाउन खोज्छन्
म जवाफी हमला गर्छु
तिनीहरु मलाई गिरफ्तार गर्छन्।
म हिरासतमै आमरण अनशन बस्छु
तिनीहरु मलाई कोर्रा हान्छन्
मलाई आत्मसमर्पण गराउने भनी
खाली कागजमा ल्याप्चे लगाउन भन्छन्
म इन्कार गर्छु
अनि च्याति दिन्छु खाली कागज
र घोषणा गर्छु
नागरिक विद्रोहको।
सुन्दरहरैंचा-०६, दुलारी, मोरङ

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *