मन्दोदरी- ७

अशोकवाटिकामा मन्दोदरी र सीताको भेट: करुणा, प्रकृति र स्त्रीत्वको साक्ष्यांकन

लक्ष्मण राज सिटौला
२१ कार्तिक २०८३ ८:११

लंका सधैँ सुनौलो देखिन्थ्यो। सुनको कलेवरमा मुस्कुराएको लंका मन्दोदरीको सौन्दर्यमा आएर हराउँथ्यो। सूर्यका किरणहरू समुद्रको नीलो छातीमा झर्दै सुवर्ण प्रसादका गजुरमा ठोक्किँदा लाग्थ्यो, मानौँ स्वर्गका सबै दीपहरू यहीं झरेका हुन्।

महलका आँगनमा पारिजातका फूल झर्थे, अशोकका पातहरू समुद्री हावासँग गुनगुनाउँथे र मयूरहरूले बिहानको आरती गाउँथे। तर, त्यो सौन्दर्यको बीचमा एउटा मन थियो, जो दिनहुँ थोरै-थोरै उज्यालो गुमाउँदै गएको अनुभूति हुन्थ्यो। त्यो मन थियो लंकाकी महारानी ‘मन्दोदरी’को।

उनी राजसिंहासनकी रानी थिइन्, तर आफ्नै हृदयकी बन्दिनी। सम्पूर्ण लंकाले उनलाई ऐश्वर्यकी देवी मान्थ्यो, पुज्थ्यो, तर उनी आफैँलाई भने एक साधारण स्त्री सम्झिन्थिन्- जसलाई प्रेम चाहिएको थियो, सम्मान चाहिएको थियो र सत्यको पक्षमा उभिन सक्ने साहस र हिम्मत चाहिएको थियो।

हरेक बिहान उनी महलको सबैभन्दा अग्लो कौसीमा पुग्थिन्। त्यहाँबाट समुद्रको क्षितिज देखिन्थ्यो। पानीका लहरहरू बारम्बार किनारामा आएर फर्कन्थे। लहराले चट्टानको भित्तामा कोपर्दा कता-कता मन्दोदरी सोच्ने गर्थिन्- किन समुद्रका लहरहरू भित्तालाई छोएर फर्किन जान्दछन्, तर मानिसको अहंकार भने कहिल्यै फर्केर आफ्नै हृदयमा जाँदैन?

उनी प्रकृतिसँग कुरा गर्थिन्। फूलहरूले उनका मौन शब्द बुझ्थे। चराहरूले उनका आँखा पढ्थे। हावाले उनका आँसु बगाइदिन्थ्यो। एक दिन एउटा सेतो परेवा उड्दै आयो र उनको हातमा बस्यो। परेवाको खुट्टामा एउटा हरियो पात अड्किएको थियो। उनले विस्तारै पात निकालिन्। त्यसमा केही पनि लेखिएको थिएन। तर, मन्दोदरीले त्यसलाई सन्देश ठानिन्- सायद प्रकृतिले भनिरहेकी छिन- हरियोपन जोगाऊ, युद्ध होइन।

त्यसैबेला रावण महलमा प्रवेश गरे। उनको तेज अद्भुत थियो। दशवटा मुख नभए पनि एउटा मुखमै दशवटा अभिमान देखिन्थे। उनी जितका कथाहरू सुनाउँथे, देवतामाथिको विजय सम्झाउँथे, आफ्नो शक्तिको चर्चा गर्थे। आफ्नो अहम् र बलशाली कुराहरू गरेर उनी कहिल्यै थाक्दैनथे।

मन्दोदरी शान्त भएर सुन्थिन्। पतिको कुरा सुनिदिनु सायद पत्नीको कर्तव्य पनि होला। बोल्दै गर्दा, गफिँदै गर्दा आफ्ना मृदु स्वरमा भन्ने गर्थिन्, “महाराज, संसार जित्नु ठूलो कुरा होइन। आफ्नो मन जित्नु सबैभन्दा ठूलो विजय हो।”

रावण मुस्कुराए। त्यो मुस्कानमा प्रेम कम, घमण्ड अलिक बढी नै थियो। “मन्दोदरी, शक्तिविना धर्म टिक्दैन,” रावणले भने। “तर धर्मविना शक्ति राक्षस बन्छ नि, महाराज,” मन्दोदरीले भनिन्।

केहीबेरको मौनतापछि समुद्रले पनि आफ्नो गति केही धीमा गर्‍यो। रावण केही नबोली बाहिरिए। मन्दोदरीको मन फेरि प्रकृतितिर फर्कियो। महल पछाडिको अशोकवाटिकामा उनी प्रायः एक्लै जान्थिन्। त्यहाँ एउटा पुरानो अशोकको रुख थियो।

त्यसको छहारीमा बसेर उनी आफ्नो बाल्यकाल सम्झिन्थिन्। उनी मायासुरकी छोरी थिइन्। पिता उनलाई फूल चिनाउन लैजान्थे। मायासुर भन्थे, “छोरी, फूलको शक्ति उसको सुगन्धमा हुन्छ, काँडामा होइन।”

त्यो शिक्षा आज पनि मन्दोदरीको मुटुमा जस्ताको त्यस्तै थियो।

त्यसै रात उनले एउटा विचित्र सपना देखिन्। समुद्र रातो भएको थियो। चन्द्रमा कालो बादलभित्र रोइरहेको थियो। लङ्काका सुवर्ण गजुरहरू एक–एक गरी ढलिरहेका थिए। एउटा सानो बालिका उनको काखमा आएर सोध्छिन्, “आमा, महल किन रोइरहेको छ?”

मन्दोदरीले उत्तर दिन  खोजिन्, तर शब्द निस्केन। त्यही बेला परबाट एउटा स्त्रीको स्वर आयो- “जहाँ अहंकारले शासन गर्छ, त्यहाँ महल पनि रुन्छ।” उनी झसङ्ग ब्युँझिइन्। निधार पसिनाले भिजेको थियो।

बिहानै उनी अशोकवाटिकातिर लागिन्। त्यहाँको हावामा आज अनौठो उदासीपन थियो। फूलहरू सामान्यभन्दा कम फुलेका थिए। चराहरूको गीतमा पनि मधुरता थिएन। मन्दोदरीले एउटा फूल टिपेर छातीमा राखिन्। मनैमनले बोलिन्– प्रकृति! तिमीले सबै कुरा पहिले नै देख्छौ, होइन?

हावाले फूलका पत्रहरू हल्लाइदियो। त्यसै क्षण राजदरबारका एक सेवक दौडिँदै आए। “महारानी, महाराज अत्यन्त प्रसन्न हुनुहुन्छ।” “किन?” “उहाँले मिथिलाकी राजकुमारी सीतासँग आज कुरा गरिरहनुभएको छ।”

तो सुन्नासाथ मन्दोदरीको हातबाट फूल भुइँमा खस्यो।

समुद्र एकाएक अशान्त भयो। आकाशमा उडिरहेको परेवाको समूह एकैचोटि दिशा बदल्दै उत्तरतिर लाग्यो। अशोकका रुखबाट असमयमै पात झर्न थाले। मन्दोदरीले आँखाहरू बन्द गरिन्। उनको अन्तरात्मा बोल्यो– आज लंकामा एउटा स्त्री मात्र आएकी छैन। आज भाग्यले न्यायको परीक्षा लिन प्रवेश गरेको छ।

उनी विस्तारै महलतिर फर्किइन्। सुनौलो लंका उस्तै थियो। तर, उनलाई पहिलोपटक लाग्यो कि सुनको पहेँलो रङले सबै घाउ छोप्न सक्दैन।

समय आफ्नै गतिमा बग्दै गयो। मन्दोदरीभित्रको करुणा पनि द्रवित भएको छ। उनको वेदना उनको थाहा छ कि प्रकृतिलाई मात्र। प्रकृति नै सबैभन्दा ठूलो पात्र हो यो नाट्यशालाको। हामीलाई त पर्दा खोल्न र पर्दा उतार्नसमेत राम्रोसँग आउँदैन।

आज राजभवनभित्र केही हुँदै छ। मन्दोदरी र सीताको आज गोप्य भेट हुँदै छ। दुई महारानीबीचको करुण, वात्सल्य र प्रकृति आफैँ साक्षी बसेको यो समय रोमाञ्चक देखिनेछ।

अशोकवाटिकाको मुहार अन्य दिनभन्दा भिन्न थियो। रातभरि परेको शीतले फूलका पत्रहरू भिजेका थिए। समुद्रबाट आएको शीतल हावाले अशोकका पातहरूलाई विस्तारै हल्लाइरहेको थियो। चराहरूको चिरबिर स्वरमा पनि आज कुनै अदृश्य पीडाको कम्पन मिसिएको जस्तो लाग्थ्यो। मन्दोदरीलाई रातभरि निद्रा परेको थिएन। एउटा प्रश्नले उनको मनलाई निरन्तर चिमोटिरहेको थियो।

“कुनै स्त्रीलाई उसको इच्छाविपरीत दरबार ल्याइयो भने त्यो विजय हो कि पराजय?”

बिहानको पहिलो किरणसँगै उनी अशोकवाटिकातर्फ लागिन्। उनले आज राजर्षी आभूषण लगाइनन्। साधारण रेशमी पहिरन, निधारमा सानो रातो टीका र हातमा सेतो कमलको फूल मात्र थियो। आज उनी महारानी होइन, एउटी स्त्री भएर अर्को स्त्रीलाई भेट्न जाँदैछिन्।

अशोकवाटिकाको मध्यभागमा एउटा विशाल अशोकवृक्ष थियो। त्यसको छहारीमुनि, पहेँलो वस्त्रमा, धर्तीमाथि आसन लगाएर एउटी नारी शान्त मुद्रामा बसिरहेकी थिइन्। उनको अनुहारमा थकान थियो, तर तेज हराएको थिएन। उनै नारी थिइन्- सीता, जनकनन्दिनी।

उनका वरिपरि केही राक्षसले पहरा दिइरहेका थिए। मन्दोदरीलाई देखेपछि उनीहरू सम्मानपूर्वक टाढा हटे। केही क्षण दुवै मौन रहे। दुई स्त्री। दुई राज्य। दुई पीडा। तर, एउटै आकाश। मन्दोदरीले विस्तारै कमलको फूल अगाडि बढाइन्- “जनकनन्दिनी, यो फूल स्वीकार्नुहोस्।”

सीताले फूल आफ्नो हातमा लिइन्। केही क्षण त्यसलाई हेरिन् र मुस्कुराउँदै भनिन्, “फूलले कहिल्यै कसैको पक्ष लिँदैन। त्यसैले यो पवित्र हुन्छ।”

मन्दोदरीको मन भक्कानियो। “म तपाईंलाई भेट्न धेरै अघिदेखि चाहन्थेँ,” उनले भनिन्। सीताले शान्त स्वरमा उत्तर दिइन्, “म पनि लङ्काकी महारानीलाई देख्न चाहन्थेँ।”

दुवैको दृष्टि एकअर्कामा ठोक्कियो। त्यहाँ कुनै शत्रुता थिएन। त्यहाँ केवल स्त्रीत्व थियो। मन्दोदरीले गहिरो सास फेरिन्। “म तपाईंलाई यहाँ ल्याइएको घटनाको समर्थन गर्दिनँ।” सीताले मृदु मुस्कान दिइन्। “तसैले तपाईंको आँखामा अपराधबोध छैन, मात्रै करुणा छ।”

मन्दोदरीको मन हलुका भयो। अचानक एउटा कोइली नजिकैको हाँगामा बसेर गाउन थाली। सीताले आकाशतिर हेर्दै भनिन्, “वनमा हुँदा यो कोइलीको गीत रामसँग बसेर सुन्थेँ। आज पनि उही धुन छ। मानिसहरू बदलिन्छन्, प्रकृति बदलिँदैन।”

मन्दोदरीले सोधिन्, “तपाईंलाई रिस उठ्दैन, जनकनन्दिनी?” सीता केहीबेर मौन रहिन् र बोलिन्, “रिस आगो हो। म आफैँ जलेर कसलाई जलाऊँ?”

तो उत्तर सुनेर मन्दोदरीलाई आफ्नी आमाको सम्झना आयो। आमाले सानैमा भनेकी थिइन्, “क्षमा भनेको कमजोरी होइन, आत्माको सबैभन्दा ठूलो शक्ति हो।”

हावा चल्यो। अशोकका केही फूल झरे। एउटा फूल सीताको काखमा खस्यो। अर्को मन्दोदरीको काँधमा। सीताले मुस्कुराउँदै भनिन्, “हेरौँ, रुखले पनि हामीलाई अलग गर्न सकेन।”

दुवै हल्का हाँसे। त्यो हाँसोमा आँसु मिसिएको थियो।

केही समयपछि मन्दोदरीले सोधिन्, “तपाईंलाई सबैभन्दा धेरै कसको सम्झना आउँछ?” सीताले आँखा बन्द गरिन्। “रामको त आउँछ नै। तर कहिलेकाहीँ अयोध्याको बिहान, जनकपुरको बगैँचा, आमाको काख, र एउटा हरिण पनि सम्झिन्छु।” “हरिण?” “हो। वनमा एउटा सानो हरिण थियो। म उसलाई सधैँ घाँस खुवाउँथेँ। अहिले ऊ मलाई नै खोजिरहेको होला। उसलाई भोक लागेको होला भनेर हृदय दुख्छ, जस्तो काखको दुधे बच्चा भोकले रुँदा आमाका छाती झस्किन्छ।”

मन्दोदरीका आँखाबाट आँसु झर्‍यो। उनले सोचिन्- “जसले हरिणको चिन्ता गर्छे, उसलाई कसैले कैद गर्न सक्छ, तर हराउन सक्दैन।”

उनी उठेर नजिकैको पोखरीमा गइन्। त्यहाँबाट एउटा कलशमा पानी ल्याइन्। “यो पानी समुद्रको होइन,” उनले भनिन्, “पहाडबाट आएको मुहानको हो।” सीताले एक घुट्को पानी पिइन्। “धन्यवाद, दिदी।”

‘दिदी’…! यो शब्दले मन्दोदरीको मन काँप्यो। कति वर्षपछि कसैले उनलाई यस्तो आत्मीय सम्बोधन गरेको थियो। उनी सहजै सीताको नजिक बसिन्। “यदि भाग्यले हामीलाई अर्कै समयमा भेटाएको भए,” मन्दोदरीले भनिन्, “सायद हामी एउटै बगैँचामा फूल रोपिरहेका हुन्थ्यौँ।” सीताले उत्तर दिइन्, “भाग्यले ढिलो भेटाउँछ, तर सही मनलाई चिनाउँछ।”

तसै बेला समुद्रबाट आएको हावाले अशोकका पातहरू एकसाथ हल्लायो।

क्रमशः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *