डिजेल र पेट्रोलमा प्रतिलिटर १०-१० रुपैयाँ मूल्य घटाउने सरकारको तयारी
काठमाडौं। सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा १०-१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको छ। इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै विरोध भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाएर इन्धनको मूल्य घटाउने तयारी गरेको हो।
इन्धनमा लाग्दै आएको पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयले सहमति जनाएसँगै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले त्यसका लागि अध्ययन सुरु गरेको छ। सरकारले डिजेल र पेट्रोलमा सडक मर्मत, प्रदूषण शूल्क र पूर्वाधार कर लगाउँदै आएको छ।
अन्तराष्ट्रिय बजारलाइ आधार मानेर इन्धनको मूल्य तोक्दै आएको सरकारले अन्तराष्ट्रिय बजारमा मूल्य लगातार बढेपछि उपभोक्तालाई राहत दिन कर घटाएर भएपनि मूल्य घटाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा प्रति लिटरमा १०-१० रुपैयाँका दरले पूर्वाधार कर घटाउन सहमति जनाएको हो। नेपाल टेलिभिजनसँग कुरा गर्दै बाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडुले नेपाल आयल निगमसँग छलफल गरेर इन्धनको मुल्य चाँडै घटाइने जानकारी दिए।
पछिल्लो पटकको मूल्य वृद्धिपछि सरकारले प्रतिलिटर पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा, डिजेलमा ४५ रुपैयाँ ९१ पैसा, मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लिँदै आएको छ।
सरकारले हवाइ इन्धनमा आन्तरिक तर्फ २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर लिने गरेको छ । खाना पकाउने ग्याँसमा सरकारले प्रति सिलिण्डर ३२७ रुपैयाँ ३७ पैसा राजश्व लिने गरेको छ।







डिसी नेपाल








Facebook Comment