ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पूँजीगत खर्च ७५ प्रतिशत

डिसी नेपाल
२७ असार २०८३ १७:५९

ओखलढुंगा। ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा अनुमानित ५४ करोड ८० लाख रुपैयाँमध्ये ९४.६४ प्रतिशत आम्दानी संकलन भएको छ भने ८४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५४ करोड ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा ५१ करोड ८६ लाख ४१ हजार मात्र वास्तविक आम्दानी भएको छ।

गाउँपालिकामा संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फ ९७.९६ प्रतिशत, समानीकरण अनुदानतर्फ ९१.४५ प्रतिशत तथा सशर्त, समपूरक र विशेष अनुदानतर्फ शतप्रतिशत रकम प्राप्त भएको गाउँपालिकाले जनाएको छ। प्रदेश सरकारबाट प्राप्त समानीकरण, सशर्त र समपूरक अनुदान पनि पूर्ण रूपमा प्राप्त भएको विवरणमा उल्लेख छ।

यस्तै, स्थानीय राजस्व बाँडफाँटतर्फ ८०.५५ प्रतिशत र आन्तरिक स्रोतबाट ६७.६२ प्रतिशत मात्र राजस्व संकलन भएको देखिएको छ, जसले स्थानीय आम्दानीको लक्ष्य भने पूर्ण रूपमा हासिल हुन नसकेको संकेत गरेको छ।

खर्चतर्फ गाउँपालिकाले कुल विनियोजित ५४ करोड ८० लाख रुपैयाँमध्ये ४६ करोड १७ लाख १३ हजार ५ सय ९५ रुपैयाँ ५६ पैसा खर्च गरेको छ, जुन ८४.२५ प्रतिशत हो।

त्यसमध्ये चालु खर्च ८८.८३ प्रतिशत रहेको छ भने पुँजीगत खर्च ७५.९५ प्रतिशत रहेको विवरणले देखाएको छ। पुँजीगत खर्च चालु खर्चको तुलनामा कम रहे पनि समग्रमा बजेट कार्यान्वयन सन्तोषजनक रहेको गाउँपालिकाको दाबी छ।

गाउँपालिकाले सार्वजनिक गरेको यो विवरणले स्थानीय तहको वित्तीय पारदर्शिता, बजेट कार्यान्वयनको अवस्था तथा राजस्व संकलनको वास्तविक चित्र सार्वजनिक गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *