चलचित्र ‘गौंथली’ साउन १ मा प्रदर्शन हुँदै: बालविवाह, सङ्घर्ष र अटिजमको मार्मिक कथा
काठमाडाैं। पोस्टर सार्वजनिक भएदेखि नै चौतर्फी चर्चा बटुल्न सफल नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको छ । झन्डै २५ वर्षअघि वरिष्ठ चिकित्सक तथा साहित्यकार डा. भोला रिजालले तयार पारेको गीतिकथानक कथालाई उनका छोरा निर्देशक डा. कपिल रिजालले यसपटक नयाँ प्रस्तुतीकरण र संवादसहित आधुनिक स्वरूपमा पर्दामा उतारेका हुन् ।
चलचित्रको सार्वजनिक पहिलो पोस्टरमा अभिनेता अरुण क्षेत्री केही असामान्य रूपमा प्रस्तुत भएका थिए भने अभिनेत्री सिम्रन खड्काको अनुहारमा दुःखको भाव झल्किएको थियो । उनीहरूको विवाहको तस्बिर अंकित सो पोस्टरले नै फिल्मप्रति कौतुहलता जगाएको थियो । हालै सार्वजनिक गीत र ट्रेलरले फिल्मको मूल कथासारलाई अझ प्रस्ट पारेको छ ।
यो चलचित्र एसएलसी पढ्ने सपना बुनेकी एक बालिकाको उमेर नपुग्दै एक असामान्य युवासँग विवाह भएपछि उनको जीवनमा आउने उतारचढाव र सङ्घर्षमा केन्द्रित छ । डा. भोला रिजालले आफ्नी श्रीमती सरला रिजालको वास्तविक जीवन यात्राबाट प्रभावित भई यो कथा तयार पारेका हुन् । पिता बाल्यकालमै विवाह गरेर अध्ययनका लागि लामो समय बाहिर रहँदा आमाले नयाँ परिवेशमा बालबच्चा हुर्काउन गरेको सङ्घर्षलाई नजिकबाट नियालेका निर्देशक रिजालले यसपटक कथाको मर्मलाई पर्दामा जीवन्त रूप दिएका छन् ।
ट्रेलरले नै दर्शकलाई भावुक बनाएको उल्लेख गर्दै निर्देशक डा. कपिल रिजालले यो चलचित्र हेरेपछि आँसु नझार्ने दर्शक कमै हुने दाबी गरे । ‘गौँथली’ आफ्नै समाजको मौलिक कथा भएको र यसले मानवीय भावनालाई छुनुका साथै अचेतन रूपमा बलियो सन्देश प्रवाह गर्ने उनको भनाइ छ ।
यसअघि निर्देशित चलचित्र ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेशन’ जस्तो स्वास्थ्य सम्बन्धी विषय उठाएका डा. रिजालले यसपटक ‘गौँथली’ मार्फत ‘अटिजम’ (Autism) भएको व्यक्तिको जीवनशैली र भोगाइलाई पर्दामा ल्याएका छन् ।
चलचित्रलाई प्राविधिक रूपमा अन्तर्राष्ट्रिय स्तरको बनाइएको भए तापनि यसको आत्मा ग्रामीण परिवेश र नेपाली समाजको मौलिक सोचमै आधारित रहेको निर्माण पक्षले जनाएको छ । यसले मनोरञ्जनका साथै समाजमा थोरै भए पनि सकारात्मक परिवर्तन ल्याउने विश्वास निर्देशकको छ ।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काका साथमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायतको सशक्त अभिनय रहेको छ । डा. भोला रिजालको कथामा बनेको यस चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन् । घर, परिवार र आपसी सामिप्यताको प्रतीकात्मक अर्थ बोकेको यो चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।






डिसी नेपाल





Facebook Comment