अर्थमन्त्रीलाई गगनको प्रश्न-कुन तथ्यांकमा आधारित रहेर बजेटको आकार बढाउनुभयो ?
काठमाडौं। कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले आगामी आर्थिक वर्षको बजेट निर्माणसहितका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग प्रश्न गरेका छन्। गत आइतबार अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए।
गत मंगलबारबाट संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ। सोही छलफलमा बिहीबार सहभागी हुँदै थापाले बजेटको आकार तथा स्रोत व्यवस्थापनसहितका विषयमा अर्थमन्त्री शर्मासँग प्रश्न गरेका हुन्।
उनले २० प्रतिशत बजेटको आकार वृद्धि गर्दा कुन तथ्य र तथ्यांकमा आधारित रहेर बढाइएको भन्दै प्रश्न गरेका छन्। साथै राजश्व २० प्रतिशत बढाउने लक्ष्यप्रति प्रश्न गर्दै उनले भने, ‘अर्थतन्त्र सात प्रतिशत बढ्दै गर्दा राजश्व वृद्धि २० प्रतिशतभन्दा बढी कसरी बढ्छ?’
स्रोत व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने विषयमा जिज्ञासा राख्दै उनले २० प्रतिशत राजश्व वृद्धि गर्नेगरी कुन तथ्य, तथ्यांक, प्रमाणमा आधारित रहेर बजेटको आकार बढाइएको हो, यसबारे आफूलाई जानकारी गराउन अर्थमन्त्री शर्मासँग माग गरे।
साथै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याएको अर्थमन्त्री शर्मालाई धन्यवाद पनि दिएका थापाले प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन गर्दा सम्बन्धित् पक्षसँग संवाद नगरेको पनि असन्तुष्टि व्यक्त गरे।







डिसी नेपाल








Facebook Comment