विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह
काठमाडौं । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन आग्रह गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्कमा वृद्धि गरिएको भन्दै नाडाले कर घटाउन आग्रह गरेको हो ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा नाडाका अध्यक्ष धुव्रबहादुर थापाले विद्युतीय सवारीसाधनमा पुरानै कर लागु हुनुपर्नेमा जोड दिए । ‘सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने भन्दै आएको छ, तर आगामी आर्थिक वर्षको बजेटमा भन्सार र अन्तशुल्क कर बढाइएको छ, सरकारको भनाइ र गराइ फरक भयो’, उनले भने ।
उनले १०० किलोवाट क्षमताभन्दा तलका विद्युतीय सवारीसाधनमा पुरानै कर लागू गरिएकामा स्वागत गर्दै २०० किलोवाट क्षमताका विद्युतीय सवारीसाधनमा पुरानै व्यवस्था अनुसार भन्सार र अन्तशुल्क कायम गर्न आग्रह गरे।
यस्तै, नाडाले विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै असार मसान्तसम्म सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउनसमेत आग्रह गरेको छ । विदेशी मुद्राको सञ्चिति र शोधनान्तर स्थितिमा सवारी आयातले खासै असर पार्ने नदेखिएको भन्दै नाडाले आयातप्रतिबन्धको सहज समाधानका लागि सरकारसँग अपिल गरेको छ ।
अध्यक्ष थापाले नयाँ सवारी साधनमा मात्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेमा जोड दिए । सवारीसाधन खरिदपछि सामान्य नम्बर राखेर पुनःइम्बोस्ड नम्बर प्लेट जडान गर्दा उपभोक्तामा दोहोरो खर्च हुने भन्दै उनले नयाँ सवारीसाधनलाई अनिवार्य गर्न आग्रह गरे ।
यस्तै अभिक ज्योतिले सरकारको नीतिका कारण दुई पाङ्ग्रे सवारीसाधनको बिक्रीवितरण नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले २०० सिसी माथिका दुईपाङ्ग्रे सवारीसाधनलाई सरकारले विलासिताको वस्तुमा राखेर आयात रोक्दा तथा भन्सार र अन्तशुल्क दर बढाउँदा बिक्रीवितरण बन्द गर्नुपर्ने अवस्था आएको बताए । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा २०० सिसी माथिका सवारीसाधनमा बढाइएको कर तत्काल फिर्ता हुनुपर्नेमा ज्योतिले जोड दिए।







डिसी नेपाल








Facebook Comment