जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

डिसी नेपाल
२४ असार २०७९ १४:५१
5.4k
Shares

बीबीसी। जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ। गोली लागेपछि  बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको हाे। नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो। गोली लागेपछि उनी भुइँमा ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो।

आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।

आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो। बीबीसीका जापान संवाददाता रुपर्ट विङ्फील्ड-हेयसका अनुसार प्रत्यक्षदर्शीहरूले आफूले एउटा ठूलो बन्दुक बोकेको मान्छे देखेका बताएका छन्।

पहिलो पटक प्रहार गरिएको गोली आबेलाई लागेको थिएन। तर दोस्रो गोली उनको ढाडमा लाग्यो। गोली लागेपछि उनको शरीरबाट रगत बग्न थालेको थियो र उनी भुइँमा ढलेका थिए।

आक्रमणकारीले भाग्न प्रयास गरेनन्। सुरक्षाकर्मीले तत्काल समाते। स्थानीय समाचार प्रसारक एनएचकेका अनुसार प्रहरीले उक्त हतियार बरामद गरेको छ तथा आक्रमणकारीको पहिचान गरेको छ।

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए। पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताए। योशिहिदे सुगा उनको उत्तराधिकारी बने। त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बने।

जापानमा गोलीकाण्ड दुर्लभ मानिन्छ। जापानमा सन् २०१४ मा देशभरि केवल छवटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए। अमेरिकामा सो वर्ष ३३,५९९ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो। जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ। उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *