भाइको लाश काखमा राखेर बसेका ८ वर्षीय बालकको हृदयविदारक भिडियोको वास्तविकता के हो ?
काठमाडौं । मध्य प्रदेशको मोरेनामा एक आठ वर्षीय बालक आफ्नो भाइको शव काखमा बोकेर बसेका छन् र उनका बुबा आफ्नो बच्चालाई घर लैजान सस्तो गाडीको खोजीमा भौंतारिरहेका छन् ।
यो घटनाको भिडियो भाइरल भएपछि राज्यको विपक्षी दल कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीको आलोचना गरेको छ । यसै क्रममा पत्रकारले मुख्यमन्त्री शिवराज सिंह चौहानलाई यस विषयमा प्रश्न गर्न खोज्दा उनी केही नबोली अगाडि बढेका थिए ।
तर राज्यका गृहमन्त्री नरोत्तम मिश्रले अब यस विषयमा छानबिन गर्न आदेश दिएका छन् । यो हृदयविदारक घटनाले धेरैलाई हल्लाएको छ ।
आठ वर्षीय बालक गुलशन भाइको शव काखमा लिएर बसिरहेका थिए । भाइको उमेर मात्र दुई वर्ष थियो र सेतो कपडाले ढाकेको छ । छोराको शव गाउँ फर्काउनका लागि बाबु गाडीको खोजीमा निस्किएका थिए ।
मृत्युपछि पूजाराम जाटवले छोरालाई अस्पतालबाट गाउँ लैजान गाडीको लागि कुरा गर्दा अस्पतालका कर्मचारीले मानेनन् । पूजारामका अनुसार कुनै पनि सवारी साधन नभएको भन्दै बाहिरबाटै मिलाउन भनिएको थियो ।
त्यही क्रममा पूजारामले बाहिर उभिरहेको एम्बुलेन्ससँग कुरा गर्दा उनीहरुसँग १५ सय रुपैयाँसम्म मागेका थिए । त्यसपछि उनी छोराको शव लिएर उनी बाहिर निस्किए । तर बाहिर पनि गाडी नभेटिएपछि कान्छो छोराको शव अर्का छोराको नजिकै नेहरु पार्कमा छाडेर उनी गाडी खोज्न गए ।
गुलशनले भाइलाई काखमा बोकेको भिडियो सार्वजनिक भएपछि मामिला चर्चामा आयो । बीबीसीका अनुसार सोमबार राज्यका गृहमन्त्री नरोत्तम मिश्रले छानबिनका लागि निर्देशन दिइएको बताए ।
सरकारको पक्ष लिँदै उनले भने, ‘गाउँबाट आउँदा बच्चाको अवस्था गम्भीर थियो, डाक्टरले बालकलाई मृत घोषणा गरेपछि उनले बालकको शव ठूलो छोरालाई दिएर आफन्तको घर गए । सरकारले यो विषयलाई गम्भीर मानेर जिल्ला पञ्चायतका प्रमुख कार्यकारी अधिकृतलाई छानबिन गर्न आदेश दिएको छ, साँझसम्म छानबिन गर्न भनिएको छ ।”
सोही क्रममा उनले सिभिल सर्जनलाई कारण देखाउ नोटिस समेत दिइएको बताए । यसका साथै ती परिवारलाई सरकारले धेरै किसिमको सहयोग गरेको पनि उनले दावी गरे ।
त्यही क्रममा बुबा पूजाराम जाटवले भने, ‘बजारमा पञ्चर बनाएर जीविकोपार्जन गर्छु, बच्चाको अवस्था कसरी बिग्रियो थाहा छैन, पहिले नजिकैको डाक्टरलाई देखाएँ तर पनि फाइदा भएन, त्यसपछि यहाँ लिएर आएको थीएँ ।
जुन एम्बुलेन्सबाट यो परिवार जिल्ला अस्पताल आएको थियो, त्यो एम्बुलेन्स उनीहरुलाई छोडेर फर्किएको थियो ।
पूजाराम जाटवका तीन छोरा र एक छोरी छन् । उनी बाहेक एक श्रीमती पनि छिन् जो उनलाई छोडेर लामो समयदेखि माइतीमा बस्दै आएकी छन् । उनले यी बालबालिकाको हेरचाह गर्दै आएका थिए । उचित खानेकुरा नपाउँदा बच्चाको अवस्था बिग्रिएर मृत्युको कारण बनेको मानिसहरुको विश्वास छ ।
गुलशन आफ्नो भाइको शव काखमा लिएर बसेको देखेपछि यो खबर सहरको कोतवाली थानाका टाउन इन्स्पेक्टर योगेन्द्र सिंह जदौनकहाँ पुगेपछि उनी त्यहाँ पुगे र दुवैलाई उठाएर जिल्ला अस्पताल लगे । त्यसपछि उनले एम्बुलेन्सको सहयोगमा परिवारलाई मिलाएर गाउँ पठाए ।
सोही क्रममा प्रमुख चिकित्सा तथा स्वास्थ्य अधिकृत (सीएमएचओ) डा राकेश शर्माले भने, ‘हामीले यो कुरा थाहा पाएपछि एम्बुलेन्सको व्यवस्था गरी उनको गाउँ पठाएका छौँ ।
तर, यो घटनाले राज्यमा कांग्रेस र भाजपालाई फेरि एकपटक आमनेसामने बनाएको छ । यस मामिलामा पूर्व मुख्यमन्त्री कमलनाथले सरकारको आलोचना गरे र ग्रामीण क्षेत्रमा स्वास्थ्य र एम्बुलेन्सको समस्यालाई लिएर धेरै ट्वीट गरे।
यस विषयमा मुख्यमन्त्री शिवराज सिंह चौहानले पत्रकारको प्रश्नको जवाफ दिएनन् ।
कमलनाथले शिवराज सिंह चौहानलाई लिएर भने, “मिडियाबाट भाग्नुभयो, पत्रकारले मुरैना प्रकरणमा प्रश्न सोधेका थिए। शिवराज जी, तपाईं कति भाग्नुहुन्छ, कहाँ भाग्नुहुन्छ, अहिले जताततै जनता उभिरहेका छन्।”
उनले ट्विटमा थप लेखेका छन्, ‘चुनौतीबाट भाग्ने र सत्यलाई अस्वीकार गर्ने तपाईं र सरकारको यो प्रवृत्तिले राज्यको सम्पूर्ण चिकित्सा प्रणालीलाई खोक्रो र असंवेदनशील बनाएको छ ।’ त्यसपछि मात्रै सरकारले पीडित परिवारलाई सहयोग र पहलकदमी गरेको थियो ।
राज्यमा यस्तो घटना सार्वजनिक भएको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्ता धेरै घटना भएका छन् जसले मानवतालाई लज्जित तुल्याएको छ । एमपी मेडिकल कलेज काउन्सिलको प्रतिवेदन अनुसार प्रदेशको स्वास्थ्य विभागको अवस्थाको कुरा गर्ने हो भने प्रदेशमा ७७ हजार चिकित्सकको आवश्यकता भए पनि २२ हजार मात्रै उपलब्ध छन् । प्रत्येक ३४ सय जनामा एक डाक्टर छन्।
प्रदेशमा कति डाक्टर छन् भन्ने यकिन गर्न काउन्सिलले यसै वर्ष पुनः दर्ताका लागि निर्देशन दिएको थियो । पछिल्लो मितिसम्म २२ हजार चिकित्सकले मात्रै दर्ता गरेका छन् । तर, यसअघि काउन्सिलको कागजातमा ५९ हजार डाक्टरको नाम दर्ता भएको थियो ।
यसैबीच स्वास्थ्य विभागको तथ्याङ्कले ३ हजार २ सय ७८ पदमध्ये १ हजार २९ विशेषज्ञ पद मात्र भरिएको देखाएको छ । त्यसैगरी मेडिकल अफिसरको एक हजार ६७७ पद पनि रिक्त छन् । यो तथ्यांकले राज्यको स्वास्थ्य विभागको चित्र देखाउँछ।







डिसी नेपाल







Facebook Comment