बेलायतको प्रधानमन्त्रीका लागि भएको दोस्रो चरणको निर्वाचनमा पनि ऋषि विजयी
काठमाडौं । बेलायतमा प्रधानमन्त्री पदको दौडमा भारतीय मूलका पूर्व अर्थमन्त्री ऋषि सुनक दोस्रो राउण्डमा पनि अगाडि छन् । दोस्रो चरणको मतदानमा सुनकले १ सय १ सांसदको समर्थन जितेका थिए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी पेनी मोर्डुएन्टभन्दा १८ मत बढी प्राप्त गरे।
कन्जरभेटिभ पार्टीको नेता बोरिस जोनसनले राजीनामा दिएपछि पार्टीले देशको प्रधानमन्त्री हुने नयाँ नेता चयन गरिरहेको छ । यसका लागि अब पाँच उम्मेदवार दौडमा बाँकी छन्, जसमा ऋषि सुनक अग्रस्थानमा छन् ।
दोस्रो चरणको मतदानमा पेनी मोर्डुएन्टले ८३ मत, लिज ट्रोसले ६४ मत, केमी बाडेनोकले ४९ मत र टम टुगेन्डाटले ३२ मत पाएका थिए । दोस्रो चरणको मतदानमा महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले सबैभन्दा कम २७ मत प्राप्त गरिन् । त्यसपछि उनी यो दौडबाट बाहिरिएकी छिन् ।
अब अर्को हप्ताको सोमबार अर्को चरणको मतदान हुँदैछ । यसअघि यी पाँच उम्मेदवार शुक्रबार च्यानल–४ मा हुने बहसमा सहभागी हुनेछन् ।
अन्तिम दुई उम्मेदवार सांसदको मतदानबाट छनोट हुनेछ। यसपछि पार्टीका सदस्यहरूले यीमध्ये एकजना दावेदार छनोट गर्नेछन्, जसको नाम सेप्टेम्बर ५ मा घोषणा हुनेछ ।
बोरिस जोनसनको मन्त्रिपरिषद्मा अर्थमन्त्री रहेका ऋषि सुनक राजीनामाको घोषणा गर्ने पहिलो व्यक्ति थिए। त्यसपछि धेरै अन्य नेता र सांसदहरूले पनि राजीनामा दिए र अन्ततः बोरिस जोनसनले पनि पार्टीको नेताबाट राजीनामा दिनुपर्यो। नयाँ नेता चयन नभएसम्म उनी बेलायतको प्रधानमन्त्री रहनेछन् ।
सुनकले बोरिस जोनसनको नेतृत्वमा प्रश्न उठाएका थिए । त्यसपछि बोरिस जोनसन सरकारबाट राजीनामाको लहर सुरु भयो।







डिसी नेपाल







Facebook Comment