श्रीलंकामा भयावह अवस्था, औषधिको लागि देहव्यापार गर्न बाध्य
काठमाडौं । श्रीलंकाको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । मानिसहरूलाई आफ्नो घर चलाउन गाह्रो भइरहेको छ। खाद्यान्न र औषधिको समेत अभाव भएको छ । जसका कारण केही दिनयता यहाँ वेश्यावृत्ति तिव्र गतिमा बढेको छ ।
यहाँका धेरै महिलाहरु आफ्नो पेट पाल्न यौनकर्मी बन्न बाध्य छन् । आयुर्वेदिक स्पा सेन्टरको आडमा यहाँ देह व्यापार चलिरहेको छ । ग्राहकका लागि पर्दा र ओछ्यान लगाएर यी स्पा सेन्टरलाई अस्थायी वेश्यालयमा परिणत गरिएको छ । रिपोर्टका अनुसार यौन व्यवसायमा संलग्न अधिकांश महिला कपडा उद्योगबाट आएका छन् । जनवरीसम्म यहाँ काम थियो, तर त्यसपछि देशको अर्थतन्त्र खस्किँदा उनीहरू यो व्यवसायमा आउनुपर्यो ।
श्रीलंकाको दैनिक पत्रिका द मर्निङका अनुसार कपडा उद्योगमा कार्यरत महिलाहरू रोजगारी गुम्ने डर र देशको कमजोर अर्थतन्त्रका कारण वैकल्पिक रोजगारीको रूपमा वेश्यावृत्तितर्फ लागेका छन्। जसका कारण कपडा क्षेत्र दयनीय बन्दै गएको छ । एक यौनकर्मीले पत्रिकालाई भनिन्, ‘हामीले सुनेका छौं कि देशमा आर्थिक संकटका कारण हामीले आफ्नो जागिर गुमाउन सक्छौं र अहिले हामीले देखिरहेको उत्तम विकल्प भनेको यौनकार्य हो।’
महिलाले भनिन्, ‘पहिलेको काममा हाम्रो मासिक तलब रु २८ हजार थियो र ओभर टाइममा बढीमा रु ३५ हजार आम्दानी हुन्थ्यो तर यौनकार्यमा लागेर दैनिक १५ हजारभन्दा बढी आम्दानी गर्छौं । मेरो कुरामा सबै सहमत हुनेछैनन्, तर यो सत्य हो। बेलायतको द टेलिग्राफले पनि यस वर्षको जनवरीदेखि कोलम्बोमा यौन कार्यमा संलग्न महिलाको संख्यामा ३० प्रतिशतले वृद्धि भएको दाबी गरेको छ ।’
रिपोर्टका अनुसार यी महिलाहरू कोलम्बोको भित्री इलाकाबाट आएका हुन् जसले पहिले कपडा उद्योगमा काम गर्थे। यी रिपोर्टहरूले श्रीलंकामा यौनकर्मीहरूको वकालत गर्ने समूह, स्ट्यान्ड अप मुभमेन्ट लंका (एसयुएमएल) लाई उद्धृत गरेको छ। यी महिलाले आफ्ना छोराछोरी, आमाबुवा र दाजुभाइको भार बेहोर्नुपर्ने एसयूएमएलका कार्यकारी निर्देशक आशिला डन्डेनियालाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख छ । यौन कार्य ‘श्रीलंकामा बाँकी रहेका थोरै व्यवसायहरू मध्ये एक हो जसले छिट्टै धेरै पैसा कमाउँछ।’
वेश्यावृत्ति बढ्नुमा धेरै कारणहरू छन्, जसमध्ये सबैभन्दा प्रमुख कारण महंगी हो। यो समस्याग्रस्त मुलुकमा इन्धन, खाद्यान्न र औषधिको अभावले महिलाको अवस्था झनै निराशाजनक बनेको छ । धेरै रिपोर्टहरूले यो पनि सुझाव दिन्छन् कि महिलाहरूलाई खाद्यान्न र औषधि जस्ता अत्यावश्यक चीजहरूको बदलामा स्थानीय पसलहरूसँग यौन व्यवसाय गर्न बाध्य पारिएको छ।
कोलम्बोको बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको औद्योगिक क्षेत्रमा वेश्यावृत्तिको व्यापारलाई बढावा दिइरहेको बताइएको छ । यस संरक्षणको सट्टामा वेश्यालय मालिकहरूले महिलाहरूलाई प्रहरीसँग सुत्न बाध्य पार्छन्। यी असहाय महिलाहरूलाई ग्राहकको आग्रहमा असुरक्षित यौनसम्पर्क गर्न बाध्य पारिएको दाबी पनि गरिएको छ । यति मात्र होइन, यी महिलाले ग्राहकको दुर्व्यवहार र कुटपिटको सामना पनि गर्नुपर्ने हुन्छ ।







डिसी नेपाल







Facebook Comment