कला–संस्कृति देश चिनाउने गहना होः माधव नेपाल

डिसी नेपाल
१५ साउन २०७९ २२:१९
40
Shares

डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कला–संस्कृति देश चिनाउने गहना भएको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालशाक्य बौद्ध गुम्बा आज उद्घाटन गर्दै उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनले भने, “नेपाल शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृति र धर्मको संरक्षण तथा संवद्र्धन गर्न जरुरी छ ।” अध्यक्ष नेपालले नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा जोड दिए । उनले कला, संस्कृति विना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले हाम्रा मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अब युवा पुस्ताहरू सक्रिय हुनुपर्ने बताए ।

आज उद्घाटन गरिएको पालशाक्य बौद्व गुम्बाको संरक्षण तथा संवद्र्धनका लागि सबैको योगदान अपरिहार्य रहेकोसमेत उनले आग्रह गरे । डोटीको बुडरमा रहेको प्रसिद्ध छहरा झर्नासमेत अध्यक्ष नेपालले आजै अवलोकन गरेका थिए ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीको विकासका लागि आफू हरहमेसा लागिपर्ने बताए । उनले भने, “डोटीको विकासका लागि म हरहमेसा खटिने छु, विगतका भन्दा धेरै विकास गरेको छु, अझै अधुरा रहेका विकासका काम पूर्ण गर्ने छु ।”

पूर्वमन्त्री आलेले पछिल्लो समय देशमा रहेका विभिन्न मठमन्दिर, धर्मशालालगायत क्षेत्रमा केही निजी स्वार्थका व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गरी कमाई खाने बाटो बनाएकाले त्यस्ता व्यक्ति र समूहलाई नङ्ग्याउनुपर्ने धारणा राखे । उनले भने, “कला, संस्कृति लोप गर्न धार्मिक क्षेत्र, मठमन्दिर र धर्मशालालाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *