निजामती अस्पतालमा अब अनलाइनबाट भुक्तानी

डिसी नेपाल
१९ साउन २०७९ १८:४२
272
Shares

काठमाडौं । निजामती कर्मचारी अस्पतालले अनलाइन (विद्युतीय) माध्यमबाट भुक्तानी सेवाको सुरुआत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले अनलाइन माध्यमबाट भुक्तानी सेवाको आज सुरुआत गरेका छन्। अनलाइनबाट भुक्तानी सेवाको सुरुआत गरेपछि अब सेवाग्राहीले मोबाइल बैंकिङबाट अस्पतालको स्वास्थ्य सेवाबापतको पैसा तिर्न सक्नेछन् ।

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले सूचना प्रविधिलाई प्रयोग गरेर छिटोछरितोका लागि भुक्तानी सेवा सुरुआत गरिएको जानकारी दिए । “अब बिरामीले कुनै पनि स्वास्थ्य परीक्षणका लागि लाइन लागेर पैसा तिर्नु पदैन”, उनले भने, “परीक्षणको शुल्क कति लाग्छ भन्ने हामीले जानकारी दिन्छाँै । सोही आधारमा क्युआर कोडका माध्यमबाट अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ ।”

पूरै शरीर (होलबडी)को स्वास्थ्य परीक्षणका लागि घरबाट पैसा तिरी अस्पतलामा आएर परीक्षण गराउन सकिनेछ । अनलाइन सेवा अस्पतालको वेभसाइट वा एपबाट सेवाग्राहीले पाउने छन् ।

यस्तै अस्पतालले ५० प्रतिशत टिकट पनि अनलाइनबाट नै काट्ने व्यवस्था मिलाएको अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए । उनका अनुसार अनलाइनबाट काटिने ५० प्रतिशतमा पनि आधा निजामती कर्मचारी र आधा सर्वसाधारणका लागि छुट्याइएको छ । ५० प्रतिशत टिकट भनेर लाइन लागेर काट्ने व्यवस्था गरिएको छ । यसअघि २५ प्रतिशत टिकट अस्पतालले अनलाइनबाट काट्ने व्यवस्था गरेको थियो ।

“अनलाइनबाट टिकट काटेर बिरामीले सिधै चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउन सक्छन्”, उनले भने, “हाम्रो प्राविधिक काम सकेपछि शतप्रतिशत बिरामीले अनलाइनबाट टिकट काटेर उपचार सेवा लिन सक्नेछन् ।”

यस्तै अस्पतालले टिकट काटिसकेका बिरामीको चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउने पालो पनि अब ‘डिस्प्ले’मार्फत हेर्न सकिने व्यवस्थासमेत गरिएको छ । बिरामीको पालो डिस्प्लेमा देखाएअनुसार चिकित्सकलाई आफ्नो स्वास्थ्य परीक्षण गराउनेछन् ।

डिस्प्लेमा अस्पतालमा कुन चिकित्सक कति नम्बर कोठामा, शय्या कति खाली र कति भरिएका छन् भन्ने कुराको जानकारीसमेत दिइएको उनले जानकारी दिए । उनले विस्तारै अस्पताललाई ‘डिजिटलाइज्ड’ गराइने बताए । चीन सरकारको सहयोगमा निर्माण भएको अस्पतालमा अहिले दैनिक औसत ८०० बिरामी उपचार गर्न आउने गर्दछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.